+
+
Shares

बालेनको पुर्ख्यौली गाउँमा उत्सव, पाँच क्वीन्टल लड्डु बाँडिदै

बालेन प्रधानमन्त्री बनेपछि मिठाइ बाँड्ने स्वस्फूर्त निर्णय स्थानीयहरूले गत सोमबार गरेका थिए । त्यो निर्णय अनुसार पाँच क्विन्टल मिठाइ बनाउने प्रबन्ध छ । उक्त प्रबन्ध अनुसार करिब आधा मिठाइ बाँडिसकिएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ चैत १३ गते २२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेनको पुर्ख्यौली गाउँ एकडारामा स्थानीयहरूले मिठाइ बाँडेर उहाँको प्रधानमन्त्री बन्ने अवसरमा खुसीयाली मनाएका छन्।
  • एकडारा गाउँपालिकामा बालेनको पुर्ख्यौली घरमा कार्यालय सञ्चालनमा छ र स्थानीयले उहाँको सम्पत्तिबाट लाभ लिइरहेका छन्।

जनकपुरधाम, चैत १३ गते । शुक्रबार दिउँसो साढे २ बजे जलेश्वर–सम्सी सडकखण्डको एकडारामा गाउँलेहरू हात-हातमा मिठाइ लिएर भेला भएका थिए ।

सडक भएर आवतजावत गर्ने पैदल यात्री, साइकल, मोटरसाइकल, बस, र्ट्याक्टर लगायत सवारीसाधन रोकेर सबै यात्रुलाई एक-एक वटा लड्डु (मुङ्गवा मिठाइ) वितरण गर्न गाउँलेहरू व्यस्त थिए ।

मुख गुलियो पार्ने काम भइरहेको थियो । गाउँलेहरू हर्षित र उत्साहित देखिन्थे । यो खुसीयाली रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ प्रधानमन्त्री बनेको अवसरमा थियो ।

किन भने यो बालेनको पुर्ख्यौली गाउँ हो । बालेनले शुक्रबार मध्यान्ह १२ : ३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताका सपथ लिएर पदभार समेत ग्रहण गरेका छन् ।

मिठाइ बाँडिरहेका युवा दिनेश भण्डारीले भने, ‘यो हाम्रो गाउँले बालेन प्रधानमन्त्री बनेको उत्सव हो । दिउँसो साढे १२ बजेदेखि यसरी नै लड्डु बाँडिरहेका छौँ । यात्रुहरूको मुख गुलियो बनाउँदै छौँ,’  उनने सुनाए ।

बालेन बाल्यकाल अवस्थमा पुर्ख्यौली घरमा आउने जाने गर्थे । त्यस बेला गाउँलेले खेलाउँथे, अलि खेल्ने उमेरका भएपछि गाउँले केटाकेटीसँग खेल्थे पनि ।

मिठाइ बाँड्ने भीडमा थिए ७५ वर्षीय स्थानीय नुर मोहम्मद नदाफ । उनले भने, ‘बालेनको यहाँ जन्म भएको हो । उनी प्रधानमन्त्री बन्नु हाम्रो लागि गर्वको कुरा हो । त्यसैले मिठाई बाँडेर खुशीयाली मनाइँदै छ । हामी अत्यन्तै खुसी छौँ ।’ बालेनले अब किसानका समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

मिठाइ बाँडिरहेका मनोहर महतोले बालेन प्रधानमन्त्री बनेसँगै अब समस्याहरू विस्तारै समाधान हुने विश्वास व्यक्त गरे । ‘गाउँकै युवा प्रधानमन्त्री बन्नुभएको छ । गर्ने कुरा उहाँलाई थाहा छ,’ उनले भने ।

स्थानीय महेश्वर भण्डारीले बालेन प्रधानमन्त्री बन्ने कुरा कहिल्यै सोचेका थिएनन् । तर, बनेपछि उनी उत्साहित छन् । अब किसानका समस्या केही हदसम्म समाधान हुने र खेतीपातीबाटै जीवनयापन सहज हुने उनको अपेक्षा छ ।

‘बालेन प्रधानमन्त्री बन्ने कुरा त कहिल्यै सोचेका थिएनौँ,’ उनले भने, ‘हामीलाई एउटा श्मशानघाट हुनुपर्छ । सिँचाइका लागि कुलो–पैनी हुनुपर्छ । हामी अरू कुनै काम गर्न सक्दैनौँ, सिँचाइ चाहिन्छ । त्यसले हामीलाई उत्पादन गर्न सहयोग गर्छ ।’

बालेन प्रधानमन्त्री बनेपछि यहाँ यसरी मिठाइ बाँड्ने निर्णय गत सोमबार गरिएको थियो । स्थानीय विनोद साहका अनुसार त्यस दिन १० जना गाउँलेहरू भेला भएका थिए ।

‘बालेन प्रधानमन्त्री बन्दैछन्, अब के गर्ने भन्ने कुरा आयो । त्यसै क्रममा मिठाइ बाँड्नु पर्छ, दीपावली मनाउनु पर्छ भन्ने छलफल भयो,’ उनले भने, ‘दस जनाले मिलेर मिठाइ बाँड्ने निर्णय गर्‍यौं । सबैको सहयोगले पाँच क्विन्टल मिठाइ बनाउने व्यवस्था भयो र आज वितरण गरिरहेका छौँ ।’

मिठाई बाँड्नले बालेन जिन्दावाद , जय घन्टी पनि भन्ने गर्थे । एक युवकले ब्यानर झुण्ड्याएका थिए । त्यसमा उनकै गाउँ एकडाराका रास्वपाबाट जितेका उज्जवल झाको पनि तस्वीर थियो ।

आज मिठाइ उनकै घरमा राखिएको थियो । दिउँसो अढाई बजेसम्म आधाभन्दा बढी मिठाइ वितरण भइसकेको थियो ।

उनले अब बालेन सरकारले देशमा रोजगारी, शिक्षा, स्वास्थ्य र सिँचाइका क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने अपेक्षा व्यक्त गरे ।

अर्को टोलमा सत्यनारायण साहले पनि मिठाइ बाँडेका छन् । गाउँमा रंग–अबिर दलेर खुशीयाली मनाइएको छ ।

गाउँलेहरू उत्सव मनाइरहँदा त्यहाँभन्दा सय मिटर उत्तरमा रहेको बालेनको पुर्ख्यौली घरमा भने दिउँसो सुनसानजस्तै थियो । उनको घरमा एकडारा गाउँपालिका कार्यालय सञ्चालनमा छ । रामनवमीको दिन भएकाले सार्वजनिक बिदा थियो, तर केही कार्यक्रमका कारण कार्यालय खुल्ला नै थियो । कार्यालयमा भेटिएका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले साँझ कार्यालयमा दीपप्रज्वलन गर्ने बताए ।

‘बालेनजीको यो पुर्ख्यौली घर हो । उहाँ प्रधानमन्त्री बन्नु र यो कार्यालय यहाँ हुनु गर्वको कुरा हो । केही कर्मचारीहरू आज पनि कार्यालयमा छौँ । हामी साँझ दीपावली गरेर उत्सव मनाउँछौं,’ उनले सुनाए ।

उनीहरुले दीपप्रज्वलन गरी दिपावली मनाएका छन् । बालेनको घरमा दशकदेखि उनका परिवार खासै बस्दैनन् । हजुरबुबा मुनिलाल घरमै बस्थे, तर दश वर्षअघि उनको निधन भयो । उनका जेठा छोरा अर्थात् बालेनका बुबा डा. रामनारायण साहको पनि गत मंसिरमा देहान्त भइसकेको छ ।

रामनारायणका चार दाजुभाइ छन्- माहिला इन्जिनियर सत्यनारायण साह, साहिला जीतनारायण साह र कान्छा लालबाबु साह । उनीहरू बाहिर पढ्न गएदेखि बाहिरै घर बनाएर बस्न थाले । घरमा आउजाउ भने गरि रहन्छन् ।

संघीयता आएपछि उनको घरमा एकडारा गाउँपालिका कार्यालय स्थापना गरियो । अहिलेसम्म यहीँ सञ्चालनमा छ । अत्यन्त न्यून शुल्कमा सहयोगस्वरूप नै यहाँ कार्यालय राखिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

अझै पनि सगोल सम्पत्तिको ५० बिघाभन्दा बढी जग्गा बालेनको गाउँमा छ । धेरैजसो जग्गा स्थानीयहरूले नै उपभोग गर्दै आएका छन् । उनको सम्पत्तिबाट स्थानीयले पनि लाभ लिँदै आएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?