१३ चैत, काठमाडौ । ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले राजनीति गर्ने होइन, विकास गर्ने हो,’ २०७९ मा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित हुनुअघि बालेन शाहले भनेका थिए ।
उनी निकटस्थहरूका अनुसार बालेनको प्रधानमन्त्री बन्ने र पार्टीमा आवद्ध हुने सोच पहिले थिएन । स्वतन्त्र भएर काठमाडौं महानगरको विकास गर्ने योजना थियो ।
तर, परिस्थितिले ३६ वर्षीय बालेनलाई नेता बनायो, पार्टीमा आवद्ध गरायो र प्रधानमन्त्रीको कुर्सीसम्म पुर्यायो । शुक्रबार प्रधानमन्त्री नियुक्त भएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथसमेत खुवाइसकेका छन् ।
बालेन २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा निर्वाचित भएका थिए ।
रास्वपाका वरिष्ठ नेता बालेनले एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरे । प्रधानमन्त्री बन्न प्रधानमन्त्रीकै उम्मेदवार हराउनुपर्ने भन्दै उनले झापा–५ रोजेका थिए ।

६८ हजार ३४८ मतसहित उनी विजयी हुँदा एमालेका अध्यक्ष केपी ओली आफ्नै गृहक्षेत्रमा १८ हजार ७३४ मतमा खुम्चिए । ६ पटक झापाबाट निर्वाचित भएर चार पटक प्रधानमन्त्री बनेका ओलीको किल्ला भत्काएर बालेन सिंहदरबार छिरेका हुन् ।
उनी काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा होमिएका थिए । पुराना दल र नेताहरूलाई किनारा लगाउँदै नेपाली राजनीतिमा बालेन युगको उदय भयो । छोटो समयमा उनी कसरी शक्तिशाली भए ? को हुन् बालेन ? चर्चा गर्ने छौँ ।
र्यापर, कवि र इन्जिनियर
राजनीतिमा प्रवेश गर्नुअघि बालेन कवि, र्यापर र स्ट्रक्चरल इन्जिनियर थिए । उनी सामाजिक न्यायका विषयमा कविता लेख्थे । र्याप गीतबाट सामाजिक मुद्दा उठाउँथे । कविता र र्यापबाट समाजमा केही गरौं भन्ने सन्देश दिन्थे । र्यापमा समाज र सडक बालबालिकाका पक्षमा आवाज उठाउँथे । उनको र्यापमा परिवर्तन, आक्रोश र देशको चित्र हुन्थ्यो ।
र्यापरबाट युवापुस्ता माझ लोकप्रिय थिए उनी । बेथिति र दलहरूका गलत कामको गीतबाटै प्रतिवाद गर्थे । ‘युवाले राजनीति बुझ्नुपर्छ । संविधान पढ्नुपर्छ । कानुन जान्नुपर्छ,’ बालेन भन्थे । उनी आमा-बुबाबाट असल बन्ने प्रेरणा पाएको बताउँदै आएका छन् ।
पहिलेदेखि नै बालेनमा राजनीतिक चेत थियो तर राजनीति गर्छु भनेर सोचेका थिएनन् ।
‘राजनीतिमा ऊ पहिलेदेखि थिएन । हामीसँग कुरा गरेको पनि थिएन । तर सानैदेखि ज्ञानी थियो,’ बालेनकी दिदी सुजाता शाहले बीबीसी हिन्दीसँगको अन्तर्वार्तामा भनेकी छिन्, ‘मनको दुःख बाँड्न चाहँदैनथ्यो । ऊ समस्याको समाधान लिएर आउँथ्यो ।’ बालेनले राजनीतिबारे परिवारमा पनि कहिल्यै कुरा गरेनन् ।
संविधान निर्माणताकाको कुरा हो । बालेन सडकमा प्ले कार्ड बोकेर निस्कन्थे । बसन्तपुर दरबार स्क्वायर, पुतलीसडक र बानेश्वरमा उनी संविधान जारी गर्न माग राख्दै सडकमा आएका थिए ।

काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेन आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
२०७२ मा भूकम्पपछि उनले स्ट्रकचरल इन्जिनियरिङ अध्ययन गरेका हुन् । यसअघि उनी सिभिल इन्जियनियरका रूपमा काम गर्थे । भूकम्प गएको समयमा उनी दिदीलाई छोड्न भारत गएका थिए । त्यही बेला उतैबाट स्नातकोत्तर तहको स्ट्रक्चरल इन्जिनियरिङको अध्ययन गर्ने निर्णय लिए ।
नेपाल फर्किएर भूकम्पपछिको पुनर्निर्माणमा खटिए । यही दौरान नेपालका ६५ जिल्लामा पुगे । स्वास्थ्य चौकी, विद्यालय भवनलगायत अन्य संरचना बनाउन योगदान दिए । गाउँगाउँ, बस्तीबस्ती पुग्दा देशमा विकास कसरी भइरहेको छ भन्नेबारे नजिकबाट बुझ्ने अवसर पाए ।
यहीबीचमा उनले भक्तपुर बनेको देखे । ललितपुर राम्रो भएको देखे । तर काठमाडौं किन बनेन ? बालेनले काठमाडौं नबन्नुको अध्ययन गरे । पुनर्निर्माणको दौडानमा उनले धेरै काम स्थानीय सरकारले गर्नसक्ने मेसो पाए ।
इन्जिनियर भएर उनी संरचना बनाउँथे । सामाजिक विषयमा र्यापबाट प्रस्तुत हुन्थे । यी सबैलाई जोडेर काठमाडौं महानगरको मेयर भएर काम गर्ने हो भने शहरको विकास गर्न सकिने निचोड बालेनले निकाले ।
अनि काठमाडौं महानगरको मेयर बने ३०-४० वर्षको ऊर्जाशील समयमा नै केही गर्नुपर्छ भन्ने मनस्थितिमा थिए, बालेन । भूकम्पपछि ६५ जिल्ला पुगेपछि उनको मन र मस्तिष्कले मेयरको सपना देख्यो । सातै प्रदेश घुमेपछि विकास गर्न उपयुक्त पद मेयर नै लाग्यो । ‘विकासोन्मुख देशमा चाहिएको उपयुक्त पद नै मेयर हो,’ बालेनले २०७९ को चुनावी प्रचार–प्रसारको क्रममा भनेका थिए ।

२०७४ कै स्थानीय तह निर्वाचनमा उनले काठमाडौं महानगरको मेयर उठ्ने योजना बनाएका थिए । तर गृहकार्य नपुगेकाले ब्याक भए । र, मिसन २०७९ को तयारीमा लागे । सोहीअनुसार उनले २०७४–२०७९ सम्म काठमाडौं महानगरबारे थप अध्ययन गरे ।
चुनावअघि नै महानगरवासीदेखि युवा पुस्ता, सामाजिक छवि भएका, अभियान्तासम्मलाई भेटेर उनले आफ्नो एजेन्डाबारे विमर्श गरे । सम्पदा संस्कृति जोगाउने, फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारका एजेन्डा तय गरे ।
महानगर भित्र कहाँ, कस्तो विकास आवश्यक छ त्यसको खाका उनले चुनावअघि नै तयार पारे । बालेनले समस्या पहिचान मात्र होइन समाधानको उपाय पनि निकालेका थिए ।
राजनीतिक गुरु नरसिंह व्यञ्जनकार
बालेन आफ्नो राजनीतिक गुरु स्व. नरसिंह व्यञ्जनकारलाई मान्छन् । काठमाडौंको मेयरमा उठ्ने भएपछि उनले ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्म स्वतन्त्र वडाअध्यक्ष जितेका नरसिंह व्यञ्जनकारसँग राय-सुझाव लिए । गुरुकै शैली बालेनले पछ्याए ।
अन्ततः उनले पनि २०७९ वैशाख ३० मा हुने चुनावको लागि स्वतन्त्र उम्मेदवारी दिए । उम्मेदवारी दिएपछि उनको घरदैलो र प्रचार प्रसारको शैलीले धेरैको ध्यान खिच्यो ।
बालेन लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा थिए । २०७४ देखि तयारी गरेका उनी २०७९ आइपुग्नुअघि नै धेरै बस्तीमा पुगिसकेका थिए ।
उनी तथ्यांक संकलन गरेर चुनावी क्याम्पेनमा होमिएका थिए । सामाजिक सञ्जाललाई चुनावी प्रचारको शक्तिशाली बनाए । र, काठमाडौं महानगरमा स्वतन्त्र रूपमा निर्वाचित भएर बालेनले इतिहास रचे । उनले महानगरमा ६१ हजार ७६७ मत ल्याएका थिए ।
प्रतिद्वन्दी कांग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याउँदा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए । पुराना दलका उम्मेदवारलाई पराजित गरेर उनी थप चर्चाको केन्द्रमा रहे । शक्तिशाली मेयरको रूपमा बालेनको उदय भयो ।
संघ सरकार–महानगर टसल
काठमाडौं महानगरमा निर्वाचित भएपछि बालेन दलबाट निर्वाचित उपमेयर, वडाध्यक्ष र सदस्यहरूसँग मिलेर काम गर्न चाहन्थे । त्यसैले एमालेसँग राम्रो सम्बन्ध बनाउन चाहन्थे । उपमेयर एमालेबाट र अधिकांश वडाध्यक्ष, सदस्य एमाले-कांग्रेसका थिए ।
बालेन माथिबाट नै सम्बन्ध राम्रो बनाउन लागिपरे । एमाले अध्यक्ष केपी ओलीसँग उनले दुई पटक भेट गरे । एमाले नेता महेश बस्नेतको घरमा समेत गए । तर वातावरण सहज बनेन । अल्फा हाउस पार्किङ, पुरानो बसपार्कको टावरको नक्सा, प्रमुख प्रशासकीय अधिकृतको विवादमा एमाले जोडियो ।
संघ सरकारबाट सहयोग नपाएको आनुभूति बालेनले गरे । ‘मेयर भएपछि संघीय सरकारबाट असहयोग भयो । बाधा पुर्याउने र अड्काउने काम भयो । स्वतन्त्र भएर काम गर्न पाउनु भएन,’ तत्कालीन मेयर बालेनका सल्लाहकार सस्मित पोखरेल भन्छन् ।

महानगरमा ५ वर्षका लागि अनुमोदन भएको थिए बालेन । ५ वर्षमा नतिजा देखिँदैन, अर्को कार्यकाल पनि महानगरमै बसेर काम गर्ने सोच उनको थियो । काम गरेपछि नतिजा आउन कम्तीमा १० वर्ष लाग्छ भन्ने निचोड उनको थियो ।
‘इन्जिनियर भएका कारण मेयर बन्नुभएको थियो । बरु दुई कार्यकाल काम गरेर काठमडौं शहर नै बनाउने योजना उहाँको थियो,’ पोखरेलले भने, ‘महानगरमा अरू पार्टी र संघ सरकारबाट सहयोग भएको भए दुई पटक मेयर भएर बस्ने सोच थियो ।’ महानगरमा कार्यकाल सुरु भएदेखि नै बालेनको संघ सरकारसँग टसल परिरह्यो ।
जेनजी आन्दोलनले राजनीतिमा मोडिए
बालेन तत्कालै संसदीय राजनीतिमा आउने मनस्थितिमा थिएनन् । पार्टीमा आवद्ध हुने र प्रधानमन्त्री बन्ने उनको योजना पनि थिएन । ‘सुरुदेखि नै पार्टी खोल्ने, प्रधानमन्त्री हुने भन्ने उहाँमा थिएन,’ पोखरेलले भने ।
तर, गत भदौ २३–२४ मा जेनजी आन्दोलन भयो । तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्यो । संसद् भंग भयो । प्रधानमन्त्रीमा युवा पुस्ताले बालेनलाई खोजे । तर उनी त्यसबेला प्रधानमन्त्री हुन चाहेनन् । जेनजी आन्दोलनपछि मात्र उनले राजनीतिमा आउनेबारे छलफल अगाडि बढाएका हुन् ।
‘जेनजी आन्दोलनलगत्तै बालेन प्रधानमन्त्री हुनुपर्यो भनिएको हो । कुनै न कुनै किसिमले आउनु पर्यो भनेर मतदाताले पनि भन्नुभयो,’ पोखरेलले भने, ‘उहाँले जेनजी आन्दोलनपछि राजनीतिमा आउने निर्णय लिनु भएको हो ।’
अनि राजनीतिमा सक्रिय भए
जेनजी आन्दोलनको म्यान्डेटअनुसार दल र सरकार चलोस् भन्ने बालेन चाहन्थे । तर पुराना दलहरूले आन्दोलनको म्यान्डेट बोक्न नचाहेको महसुस उनले गरे । त्यसपछि कुलमान घिसिङको नेतृत्वको पार्टीलाई सहयोग गर्ने मनस्थितिमा पुगे ।
त्यहीअनुसार कुलमानसँग छलफल पनि चल्यो । तर कुलमान सरकारमा गए । जेनजी आन्दोलन र युवाको माग कमजोर हुने स्थिति बन्यो । बालेन टिमका मुख्य सदस्य कुमार बेनले रास्वपा सभापति रवि लामिछानेलाई जेलमै गएर भेटे । तर निचोड निस्केन ।
पूर्व विवेकशील, जेनजी आन्दोलनका सबै अगुवा मिलेर पर्टी खोल्ने विषयमा छलफल पनि भयो । तर सफल भएन ।
अर्कोतर्फ, जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो । यो सरकारको मुख्य म्यान्डेट चुनाव गराउनु थियो । कतै चुनाव सर्छ कि भन्नेमा डर थियो । देशलाई सही ट्र्याकमा ल्याउन चुनाव गर्नैपर्ने निष्कर्षमा बालेन थिए ।

फेरि बालेनको टिमले रास्वपा नेता डीपी अर्याल लगायतका नेतासँग छलफल गर्यो । पुकार बमको नेतृत्वमा समिति बन्यो । त्यो समितिसँग बालेन समूहको छलफल भयो । पछि स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको समितिसँग पनि छलफल भयो । रवि लामिछाने जेलबाट निस्के । नयाँ दल र समूह मिलेर जानुपर्छ भन्ने आवाज आयो । बलेन–रवि भेट असीम साहको घरमा भयो ।
त्यहीबीचमा बालेनका बुवाको निधन भयो । शोकमा भएको बेला भेट्न आएका शुभेच्छुकले अगाडि बढ्न बालेनलाई सुझाव दिए । उनकै नेतृत्वमा पार्टी खोल्ने छलफल पनि चलेको थियो । बालेनले पनि ज्वागलबाट म्याराथन भेटवार्ता गरे । एकै दिन ३०–४० जना नेतादेखि सामाजिक छवि भएकासम्मलाई भेटे ।
तर, नयाँ दल खोल्दा रास्वपासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्थ्यो । नयाँ एकै ठाउँमा नभए जेनजी आन्दोलनले न्याय नपाउने निष्कर्ष निकालेपछि बालेन रास्वपासँग एकता गर्न तयार भए । र, उनलाई वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको लागि अगाडि सारियो ।
बालेनले कुलमानलाई पनि साथै लैजान खोजे । मिल्ने सहमति पनि भयो तर त्यो सहमति १२ दिन पनि टिकेन । पार्टीको नामदेखि पदसम्म कुरा मिलेन । बालेन रास्वपातिर लागे ।
ओली हराए, बालेन प्रधानमन्त्री बने
भावी प्रधानमन्त्रीको रूपमा घोषणा भएपछि बालेनले झापा–५ बाट उठ्ने निर्णय लिए । बालेनलाई आफ्नै समूहका साथीहरूले झापा–५ नरोज्न भनेका थिए । तर उनले झापा रोज्नुको कारण एमाले अध्यक्ष ओली फ्याक्टर थियो ।
‘प्रधानमन्त्री बन्न प्रधानमन्त्रीको उम्मेदवारलाई नै पराजित गर्नुपर्छ भन्ने उहाँको बुझाइ हो । त्यसैले झापा नै रोजेको हो,’ बालेन निकट एक नेताले भने, ‘जेनजी आन्दोलन हुँदा ओली सरकार प्रमुख हुनुहुन्थ्यो । बच्चा मर्दा क्षमा माग्नु भएन । उल्टै पार्टीबाट अनुमोदन भएर पो आउनुभयो ।’
ओलीलाई नै हराएर प्रधानमन्त्री बन्ने लक्ष्यतर्फ बालेन अगाडि बढे । ‘ओलीलाई देशको नेता मान्ने कि नमान्ने ? बालेनलाई जनताले चाहेको हो कि होइन ? यो चुनावबाटै टेस्ट गर्न चाहेका थियौं । यही प्रश्न लिएर झापा–५ छिरेका थियौं,’ उनी निकट एक नेताले भने ।

सांसद कसलाई बनाउने मात्र होइन, प्रधानमन्त्री नै कसलाई बनाउने भन्ने प्रश्न थियो । ‘कसलाई प्रधानमन्त्री स्वीकार गर्ने भनेर झापा आएको हो । कसलाई जिम्मेवारी दिने ?, नदिने ? यो प्रश्नमा मतदान भएको हो,’ ती सदस्यले भने ।
चुनावी अभियानमा बालेनले ठूला भाषण गरेनन् । सबैभन्दा धेरै जनकपुरमा ९ मिनेट जति बोले । यो उनको चुनावी अभियानको सबैभन्दा ठूलो भाषण हो । उनी ७७ जिल्ला नै पुग्ने योजनामा थिए । तर आफ्नै स्वास्थ्य र चलचित्र पत्रकार दिनेश सिटौलाको मृत्युले प्रभावित भयो ।
बालेनले चुनावमा धेरै नबोल्ने रणनीति नै बनाएका थिए । धेरै बोल्यो भने बिग्रन्छ भन्नेमा बालेन टिम सचेत थियो । अरू उम्मेदवारले भड्काउने अभिव्यक्ति दिँदा पनि बालेन मौन बसे । अन्ततः झापा–५ का जनताले बालेनलाई जिताए । रास्वपाबाट दुई तिहाइ नजिक १८२ सिट ल्याएर बालेन प्रधानमन्त्री बने ।
‘जनताले ठूलो जिम्मेवारी दिनुभएको छ । दुई तिहाइ नजिकको जनादेश पाएका छौँ,’ महानगरमा बालेनको सचिवालयमा रहेर काम गरेका भुपदेव शाहले भने, उहाँ (बालेन) काममै विश्वास गर्नुहुन्छ । बोल्नेभन्दा काम नै गर्ने हो ।’
प्रतिक्रिया 4