+
+
Shares

टिम बालेन : मन्त्रिपरिषद्‌मा ४० मुनिका युवाको वर्चस्व, समावेशी अनुहार

१५ सदस्यीय मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित १० जना ४० वर्ष मुनिका

पूर्वप्रधानमन्त्री ओलीलाई हराएर आएका बालेन प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री बालेन पेशाले स्ट्रक्चरल इन्जिनियर हुन् । र्‍यापर पनि हुन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ चैत १३ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह संविधानको धारा ७६ को १ अनुसार प्रधानमन्त्री बनेका छन्।
  • बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना ४० वर्षमुनिका युवा छन्।
  • मन्त्रिपरिषद्मा गृहमन्त्री सुधन गुरुङ, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतका युवा र अनुभवी मन्त्री छन्।

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएका छन् । नेपालको संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनी प्रधानमन्त्री बनेका भएका हुन् ।

शुक्रबार गठित बालेन नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ र युवा अनुहारको वर्चस्व छ । गृहमन्त्रीमा सुधन गुरुङ, अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा गणेश पौडेल, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा सुनिल लम्साल, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा गीता चौधरी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी रहेका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा सोबिता गौतम, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा विक्रम तिमिल्सिना छन् ।

३६ वर्षीय प्रधानमन्त्री बालेन काठमाडौं महानगरपालिकाका पूर्वमेयर हुन् । २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका बालेनले करिब साढे ३ वर्ष महानगरको नेतृत्व गरे ।

यसपटकको निर्वाचनमा महानगरको नेतृत्व छाडेर झापा ५ बाट रास्वपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो ।

झापा-५ बाटै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार थिए । पूर्वप्रधानमन्त्री ओलीलाई हराएर आएका बालेन प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री बालेन पेशाले स्ट्रक्चरल इन्जिनियर हुन् । र्‍यापर पनि हुन् ।

१५ सदस्यीय मन्त्रिपरिषद्‌मा १० जना ४० वर्ष मुनिका 

बानेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा ४० वर्ष मुनिका युवाहरूको वर्चस्व छ ।  १५ सदस्यीय मन्त्रिपरिषद्‌मा १० जना  ४० वर्षमुनिका छन् ।  प्रधानमन्त्री बालेन्द्र शाह ३६ वर्षका छन् । कानुनमन्त्री सोबिता गौतम ३० वर्षकी छन् । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल ३५ वर्षका हुन् भने शिक्षामन्त्री सम्मित पोखरेल २९ वर्षका भए ।

स्वास्थ्यमन्त्री निशा मेहता ३८ वर्ष भइन् भने श्रममन्त्री दिपक शाह ३४ वर्षका छन् । समान्य प्रशासनमन्त्री प्रतिभा रावल ३२, गृहमन्त्री सुधन गुरुङ ३८, महिला मन्त्री सिता वादी ३०  र कृषिमन्त्री गीता चौधी ३२ वर्षकी छन् ।

मन्त्रिपरिषद्मा सबैभन्दा पाका स्वर्णिम वाग्ले हुन् । उनी ५१वर्षका भए । परराष्ट्रमन्त्री शिशिर खनाल ४७, उर्जामन्त्री विराजभक्त श्रेष्ठ ४४, पर्यटनमन्त्री खड्कराज पौडेल र सञ्चारमन्त्री विक्रम तिमिल्सिना ४३ वर्षका छन् ।

क्षमता अनुसारको जिम्मेवारी

अर्थमन्त्री स्वर्णिम वाग्ले अर्थविद् हुन् । रास्वपाको अर्थ नीति विभाग प्रमुख समेत रहेका ५१ वर्षीय वाग्लेलाई रास्वपाले चुनावी वाचापत्र लेख्नका लागि संयोजक नै बनाएको थियो । आफैँले लेखेको वाचापत्र कार्यान्वयन गर्ने जिम्मेवारीसहित उनी अर्थमन्त्री बनेका छन् ।

वाग्लेले लन्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा प्राप्त गरेका हुन् । २०७१ सालमा नेपाल फर्केका उनी राष्ट्रिय योजना आयोगका सदस्य बने ।

दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भई काम गरे । एसिया प्रशान्तका विभिन्न देशहरूको आर्थिक नीति निर्माणमा समेत योगदान पुर्‍याएको वाग्ले यूनडीपी एसिया–प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत काम गरेका व्यक्ति हुन् ।

वाग्ले विघटित प्रतिनिधिसभामा पनि थिए । २०७९ को चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन भएको थियो । त्यसबेला कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई हराएर वाग्ले सांसद बनेका थिए ।

दोस्रोपटक तनहुँ–१ बाटै उम्मेदवार भएका वाग्लेले चुनाव जिते । नेपाली उन्नतिको मार्गचित्र मतदाता सामु प्रस्तुत गर्दै भोट मागेका वाग्लेलाई रास्वपाले अर्थमन्त्रालयको बागडोर सुम्पेको हो ।

गृहमन्त्री सुधन गुरुङ ३८ वर्षका भए । उनी जेनजी आन्दोलनपश्चात् चर्चामा आएका व्यक्ति हुन् । समाज सेवामा भने उनी एक दशक देखि नै सक्रिय थिए । २०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी राहत तथा उद्दारमा खटिएका थिए ।

सामाजिक कार्यमा व्यस्त रहँदै आएका उनलाई धेरैले चिन्दैनथे । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि उनी चर्चामा आए । २१ फागुनको निर्वाचनमा गोरखा १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए र चुनाव जिते ।

उनै सुधन निर्वाचनपछिको नयाँ सरकारमा गृहमन्त्री बनेका हुन् ।

परराष्ट्रमन्त्री : शिशिर खनाल

परराष्ट्रमन्त्रीमा शिशिर खनाल छन् । ४७ वर्षीय खनालसँग प्रतिनिधिसभा सदस्यको अघिल्लो कार्यकालमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ ।

२०७९ र २०८२ दुवैमा काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव जितेका शिशिरको स्थायी ठेगाना काठमाडौं टोखा हो । राजनीतिमा आउनुअघि उनी सामाजिक सेवा, शिक्षा र नीति निर्माणका क्षेत्रमा थिए ।

सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियानमार्फत उनले सामुदायिक विकास र स्वयंसेवी अभियानमा काम गरे ।

सन् २०१२ देखि २०१९ सम्म टिच फर नेपाल कार्यक्रममा आबद्ध भएर सामुदायिक शिक्षामा योगदान दिए । नीतिगत अभ्यासमा खनालले २०२३ देखि २०२५ सम्म दाङको तुलसीपुर उपमहानगरपालिकामा सञ्चालन गरिएको नीतिशाला कार्यक्रमसँग जोडिएर काम गरेका थिए ।

अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।

कानुनमा अधिवक्ता, स्वास्थ्य नर्स

कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा सोबिता गौतम कानुनी पृष्ठभूमिकै व्यक्ति हुन् ।

२०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी गौतमले कानुनमा स्नातक गरेकी छन् । अधिवक्ता गौतमसँग टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता भएर काम गरेको अनुभव पनि छ ।

सोविता २०७९ मा काठमाडौं २ बाट चुनाव जितेकी थिइन् । यसपटक चितवन ३ बाट उम्मेदवार बनिन् र चुनाव जितिन् । अघिल्लो कार्यकालमा उनी कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने चर्चा चलेको थियो । यसपटक उनी चुनाव लगत्तैको सरकारमा मन्त्री बनिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता नर्सिङ पेशाबाट राजनीतिमा आएकी पात्र हुन् । स्वास्थ्य सेवामा सक्रिय उनी रास्वपाको स्थापनाकालदेखि कै सदस्य हुन् ।

अघिल्लो निर्वाचनमा पार्टीले उनलाई समानुपातिक सूचीमा राखे पनि उनी सांसद बन्न सकेकी थिइनन् । यसपटक भने उनी मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेर संघीय संसद्मा पुगेकी हुन् ।

भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा सेवा सुरु गरेकी उनी राजीनामा दिएर राजनीतिमा लागेकी हुन् ।

स्वास्थ्य क्षेत्रमा काम गर्दा सेवा प्रणालीका कमजोरी, पहुँचको असमानता र व्यवस्थापनका चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएके बताउने उनले अब त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी आफैँले पाएकी छन् ।

समावेशी मन्त्रिपरिषद्

मन्त्रिपरिषद् सदस्यहरूमा समावेशितालाई पनि ख्याल गरेको देखिन्छ ।

पाँच जना महिलाले मन्त्रिपरिषद्मा स्थान पाएका छन् । सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेकी छन् । उनले एकसाथ दुई वटा रेकर्ड राखेकी छन् ।

सीता वादी समुदायबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति हुन् । साथै संघीय मन्त्रिपरिषद् सदस्यमा पनि उनी वादी समुदायबाट पुगेकी पहिलो व्यक्ति बनेकी छन् ।

लामो समयदेखि राज्यको मूलधारबाट पछि पारिएको, उपेक्षित र बहिष्कृत समुदायको आवाज संसद्मा उठाउँछु भनेर आएकी सीता अब मन्त्रीको रुपका कार्यकारी भूमिकामा देखिनेछिन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल पत्रकारिता पृष्ठभूमिकी हुन् । समानुपातिक सांसद निर्वाचित रावल रवि लामिछानेसँगै ग्यालेक्सी फोरके टेलिभिजनमा उनै लामिछानेको टीभी शोमा रिसर्चरको भूमिकामा थिइन् । लामिछानेले टीभी छोडेर राजनीतिमा होमिएसँगै रावल पनि पार्टी राजनीतिमा लागेकी थिइन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्रीमा गीता चौधरी अदालतको बहस र सामाजिक न्यायका लागि सडकमा भेटिने पात्र हुन् ।

३३ वर्षीय चौधरी पेशाले कानुन व्यवसायी हुन् । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ निर्वाचित भएसँगै मन्त्री बनेकी छन् ।

एक सामान्य थारु परिवारमा जन्मिएर अभावमा बाल्यकाल बिताएको बताउने चौधरीले अब किसानकै हितमा काम गर्ने कार्यकारी जिम्मेवारी प्राप्त गरेकी हुन् ।

प्राध्यापनबाट संसदको यात्रामा प्रवेश गरेका गणेश पौडेल पर्यटन तथा नागरिक उड्यनमन्त्री बनेका छन् । ४३ वर्षीय पौडेल राजनीतिमा आउनुअघि पौडेल शैक्षिक र सामाजिक क्षेत्रमा थिए ।

स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार र युवाहरूलाई सीपमूलक तालिम दिनुपर्छ भन्ने आवाज उठाउँदै आएका उनलाइ अब पर्यटन तथा नागरिक उड्यन क्षेत्रमा योगदान गर्ने अवसर प्राप्त भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नेवार समुदायबाट हुन् ।

काठमाडौं निवासी श्रेष्ठ प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

मन्त्री हुँदा खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई चर्चामा समेत ल्याएको थियो । त्यसलाई ब्रान्डिङ गर्दै उनले चुनावमा होमिएका उनी पुनः निर्वाचित भएसँगै मन्त्री बनेका हुन् ।

श्रेष्ठ पहिलो पटक २०७४ सालमा बागमती प्रदेश सभा सदस्य भए । त्यसबेला उनी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेश सभामा विधायक बनेका थिए ।

प्रदेश सभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

संघीय सरकारले गुठी विधेयक ल्याउँदा उनले सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गरी नेवार समुदायको भावनाको प्रतिनिधित्व गरेका थिए ।

श्रेष्ठले ‘बिजनेस एड्मिनिस्ट्रेसन’ मा स्नातक गरेका श्रेष्ठले होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनाहरूमा जागिरेका रूपमा करियरको सुरुवात गरेका उनी २०७२ सालको महाभूकम्पपछि समाजसेवामा सक्रिय भए ।

वातावरण संरक्षणका लागि उनले ‘फोर्स नेपाल’ संस्था खोलेर ‘वान ट्री–मेरो जिम्मेवारी’ जस्ता अभियानहरू चलाए, जसले उनलाई भुइँतहका मानिसहरूसँग जोड्न मद्दत ग¥यो ।

उनै श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

युवा अनुहारको वर्चस्व

मन्त्रिपरिषद्मा युवा अनुहारको वर्चस्व छ । प्रधानमन्त्री बालेन आफैँ ३६ वर्षका छन् । ३५ वर्षीय पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्सालले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व पाएका छन् । लम्सालसँग पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गरेको अनुभव छ ।

लम्साल २१ फागुनको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । बालेन काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा लम्साल पूर्वाधार एवं वातावरण विज्ञका रुपमा कार्यरत थिए ।

२०४७ असोजमा स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल दुई दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन् ।

भलबारीकै बोर्डिङबाट एसएलसी पूरा गरेका उनले त्यहीको लुम्बिनी इन्जिनियरिङ कलेजमा पढे । एमाले निकट अनेरास्ववियूमा क्रियाशील रहेका उनी सन् २०११ मा त्यही कलेजमा स्ववियू सभापति निर्वाचित भए ।

लम्सालले तिलोत्तमामै रहेको लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनले हाल काठमाडौं विश्वविद्यालयबाट ‘सोलिड वेष्ट म्यानेजमेन्ट’ विषयमा विद्यावारिधि गर्दैछन् ।

सुनिल लम्साल ।

लम्सालले इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पूर्वाधार परियोजनामा काम समेत गरिसकेका छन् । उनै लम्सालले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व पाएका हुन् ।

३० वर्षीय सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।

२०५२ फागुन १ गते काठमाडौंमा जन्मिएका पोखरेल यसै क्षेत्रका स्थायी बासिन्दा हुन् । कानुनमा स्नातक गरेका सस्मित वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित छन् ।

उनको प्रारम्भिक शिक्षा तथा प्लस टु तहसम्मको अध्ययन अमेरिकामा भएको हो। नेपाल फर्किएपछि काठमाडौं विश्वविद्यालय स्कुल अफ ल बाट बीएएलएलबी अध्ययन पूरा गरेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहँदै उनले नेपालका लागि ‘अर्थक्वेक फन्ड’ संकलन तथा व्यवस्थापन टोलीमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको राजनीतिक यात्रा विवेकशील अभियानबाट सुरु भएको हो । वैकल्पिक राजनीति र युवाको सक्रिय सहभागिताको पक्षमा उभिँदै उनी विवेकशील साझा युवा संगठनका नेता बने तथा विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्यसमेत भए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन उनी सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपंक्तिमा खटिएका थिए ।

बालेन शाहको विजयपछि उनको टिममा रहेर काठमाडौं महानगरपालिकामा सक्रिय रहे ।

महानगरपालिकामा उनले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ तथा शहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरेका थिए । शिक्षा सल्लाहकारको हैसियतमा नीति निर्माणदेखि कार्यान्वयनसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पोखरेल यसपटक संघीय सरकारको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बने ।

महानगरमा रहँदा पोखरेलको योजनाअनुसार सामुदायिक विद्यालयलाई प्राथमिकतामा राख्दै कक्षा १ देखि १२ सम्मका करिब २० हजार विद्यार्थीलाई कानुनसम्मत रूपमा छात्रवृत्ति वितरण भएको थियो । यसका लागि महानगरपालिकाले वार्षिक करिब ३.५ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।

सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान, विद्यालय गुरुयोजना निर्माण, ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको सुरुवात, भौतिक सौन्दर्यीकरण, आईसीटीमैत्री विकास, ईसीडी कक्षाकोठा सुधार, दिवा खाजा कार्यक्रम तथा शिक्षक तालिमजस्ता पहलहरूमा उनको प्रत्यक्ष भूमिका खेलेका पोखरेललाई अब मुलुककै शिक्षा क्षेत्रको बागडोर सम्हाल्ने अवरसर मिलेको छ ।

पूर्वसञ्चारकर्मी अन्तर्राष्ट्रिय मामिला अध्येता सञ्चारमन्त्री

डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री बनेका छन् । उनी २१ फागुनको निर्वाचनमा नुवाकोट १ बाट निर्वाचित भएका थिए ।

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् । एक दशकअघि रेडियो सगरमाथाको कार्यक्रम उत्पादक तथा प्रस्तोता रहेका उनी अध्ययनका लागि अष्ट्रेलिया गएपछि त्यहीँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ को कार्यकारी सम्पादक भएर काम गरे । सिड्नीबाट सञ्चालित साउथ एसिया डटकम डट एयूको सम्पादकीय सल्लाहकार भए ।

उनै तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?