+
+
Shares
कानुन मन्त्री सोविता गौतमसँग वार्ता :

‘सरकारले संसद्लाई कठपुतली जसरी प्रयोग गर्ने होइन’

यस पटक हामीले एकदम स्पिडमा काम गर्नुपर्ने छ । विगत हामीले जति कानुन निर्माण गर्नुपर्थ्यो त्यति गर्न सकेनौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनिर्वाचित कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माणलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

नवनिर्वाचित कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माणलाई रफ्तार दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । आवश्यक कानुन निर्माण र संशोधन गर्ने वाचा गरेकी गौतमले कानुनमा रहेका त्रुटिहरू औंल्याएर सुधार गर्ने बताइन् ।

मन्त्री पदको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि उनले अपराध संहिता संशोधनका लागि अध्ययन कार्यदल गठन गर्ने निर्णय लिएकी छन् ।

पदभार सम्हाल्दै उनले जबरजस्ती करणी र जबरजस्ती करणीपछि हुने हत्या, यौनजन्य हिंसालगायत कसुरका दोषीलाई दण्ड सजाय तथा पीडितलाई न्यायका लागि कानुनका अवरोध संशोधन गर्ने निर्णय गरेकी हुन् ।

पदभारपछिको कुराकानीमा मन्त्री गौतमले संसद् र सरकारको भूमिका अलग हुनुपर्ने र त्यो शक्तिका हिसाबले शक्ति पृथकीकरणका सिद्धान्तअनुसार चल्नुपर्नेमा आफू स्पष्ट रहेको बताइन् ।

‘सरकारले संसदलाई त्यहाँ कठपुतली जसरी प्रयोग गर्ने होइन । संसद्ले चाहिँ सरकारलाई जवाफदेही बनाउनुपर्छ भन्ने कुरामा म हिजोको दिनमा पनि वकालत गर्ने व्यक्ति हुँ,’ उनले भनिन्, ‘अबका दिनमा पनि म संसद् र सरकारको भूमिका अलग–अलग बनाउनुपर्छ र चेक एन्ड ब्यालेन्समा रहने गरी काम हुनुपर्छ भन्ने कुरामा स्पष्ट छु ।’

यसका लागि आफू सक्षम रहेको उनको दृढता छ । यिनै विषयमा नवनियुक्त कानुनमन्त्री सोविता गौतमसँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको संक्षिप्त कुराकानी :

कानुनी पृष्ठभूमिको व्यक्ति हुनुहुन्छ । कानुन मन्त्रालयकै जिम्मेवारी पाउनुभयो । अब कसरी काम गर्ने र के-कस्ता विषयलाई प्राथमिकतामा राख्दै हुनुहुन्छ ?

जनताले यो सरकारलाई दिनुभएको म्यान्डेट निकै ठूलो छ । सरकारले म्यान्डेटअनुरूप काम गर्नुपर्ने जिम्मेवारी बोकेको छ । जसअन्तर्गत मलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्राप्त भयो । यो मन्त्रालयबाट विशेषतः नीतिगत रूपमा सुधार गरेर जाने काम हुन्छन् ।

कालान्तरमा जनताले प्रत्यक्ष अनुभूति गर्ने काम यो मन्त्रालयबाट हुन्छ । कानुनमा धेरै सुधार गर्नुपर्ने ठाउँहरू छन् । धेरै कानुन संशोधन गर्नुपर्ने छ । त्यसबारेमा छलफल पनि भइराखेको छ ।

यो मन्त्रालयबाट कानुन सुधारको काम द्रुत गतिमा लैजान्छौं । बहुमतको सरकार र संसद्मा पनि हाम्रो संख्या पूर्ण भएको अवस्था छ । नयाँ ऊर्जा बोकेका साथीहरू संसद्मा भएकोले कानुन निर्माण छिटोभन्दा छिटो अगाडि बढाउन सकिन्छ ।

आजै के–के काम गर्छौं भनेर मैले भन्नु उपयुक्त हुँदैन । किनभने, गर्नुपर्ने कामबारे मन्त्रालयसँग छलफल गर्दैछौं । आजको दिनसम्म के–कति काम भएका छन्, कति तयारी गरिराख्नुभएको छ त्यसका बारेमा र मैले सोचेका कुराहरू उहाँहरूसँग राख्छु । त्यसपछि एउटा खाका तयार गरेर अगाडि बढ्छौं ।

संसद्‌मा तीन वर्ष बढी काम गर्नुभयो । त्यसबेला पनि बढी चासो कानुन क्षेत्रमै थियो । यस हिसाबले गर्नुपर्ने काम वा प्राथमिकता ख्याल गर्नुभएको होला नि ?

हो, गएको संसदीय अभ्यासमा म कानुन समितिमै थिएँ । कानुन समितिमा रहँदै गर्दा एउटा उत्कृष्ट काम गरेको भनेर भन्ने विषय पनि छ । त्यसबेला गजब भयो है भन्ने लागेको एउटा काम हो– विधान सम्बन्धमा एउटा ऐन बनायौँ । विधान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन भनेर बनायौं ।

पहिला हामीलाई सरकारले संसद्मा केके कानुन लैजान्छ भन्ने कुरा संसद्लाई थाहा हुँदैनथ्यो । सरकारले आफ्नो प्राथमिकता अनुसारको तयारी गरेर संसद्लाई जानकारी गराउँथ्यो वा सांसदहरूलाई पिजन हलमा आइसकेपछि मात्रै जानकारी हुन्थ्यो । तर त्यो ऐन बनाइसकेपछि ऐन निर्माणको कार्यविधि के हो भन्ने परिभाषित भएको छ । सरकारले कुन प्रोसेस लिएर आउँछ, संसद्मा कसरी दिने भन्ने कुराको एउटा समग्र कार्यविधि तयार भइसकेको छ । त्यो ऐनले निर्देशित गर्छ ।

यो मन्त्रालय आफैं पनि संसदीय मामिलासँग सम्बन्धित भयो । संसद्लाई पनि बिजनेसको कुराहरू हुन्छ । यो मन्त्रालयबाट कोर्डिनेटेड भएर जान्छ । त्यसकारण अब विधेयक संसद्मा जाँदै गर्दा वा अब आउने ऐन कानुनहरू संसद्को पूर्वजानकारीमा हुन्छ ।

कुनकुन ऐन यो आर्थिक वर्षमा आउँछ र कार्यान्वयन हुन्छ भन्ने कुरा संसद्लाई जानकारी हुन्छ । त्यो पूर्ण जानकारी दिँदै गर्दा कानुन चाहिँ उत्कृष्ट बन्न सक्छ ।

अब हामी केके कुरा छुटेका छन् ? विभिन्न मन्त्रालयका प्राथमिकता के छन् ? यसआधारमा अगाडि बढ्छौं ।

सबै मन्त्रालयका विधेयक कानुन मन्त्रालयसँग ठोक्किएर मात्र संसद् जानुपर्छ । त्यसकारण देशमा सुशासन ल्याउने, समृद्धितर्फ लैजाने कुरामा ती सबै प्राथमिकतालाई कानुन मन्त्रालयले समन्वय गरेर संसद्सम्म पुर्‍याउने काम गर्छ ।

कानुन मन्त्रालयले संसद् र सरकारको बीचमा पुलको भूमिका पनि निर्वाह गर्नुपर्छ । विगतको उदाहरण हेरियो भने बलियो सरकार हुँदा संसद् छायामा पर्ने गरेको छ । यस्तोमा यहाँको भूमिका के हुन्छ ?

म संसद् र सरकारको भूमिका अलग हुनुपर्छ र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्नुपर्छ भन्ने ठान्छु । म एकले अर्कालाई चेक एन्ड ब्यालेन्स गर्नुपर्छ भन्ने कुरामा स्पष्ट छु ।

सरकारले संसद्लाई कठपुतली जसरी प्रयोग गर्ने होइन कि संसद्ले सरकारलाई जवाफदेही बनाउनुपर्छ भन्ने कुरामा मैले हिजोका दिनमा पनि वकालत गरें । अबका दिनमा पनि म स्पष्ट छु– हाम्रो सरकार हो । तर जनताले दिएको म्यान्डेट चाहिँ सुशासन, भ्रष्टाचार, नियन्त्रण र समृद्धिको लागि हो । त्यसको लागि संसद्ले काम गर्नुपर्छ ।

संसद्ले काम गर्दा सरकारलाई कतिपय कुरामा कानुन निर्माणमा सहजीकरण गर्नुपर्ने होला । कति कुरा प्रश्न गरेर गर्नुपर्ने होला । यी सबै विषयमा सहजीकरण गरेर संसद् र सरकारको भूमिका अलग–अलग बनाउनुपर्छ र चेक एन्ड ब्यालेन्समै रहेर काम हुनुपर्छ भन्नेमा म स्पष्ट छु ।

तपाईंको भूमिका न्याय परिषद्‌मा पनि रहन्छ । न्यायाधीश नियुक्तिमा भूमिकादेखि संक्रमणकालीन न्याय टुंग्याउने जिम्मेवारी पनि तपाईंअन्तर्गत नै पर्छ । टीआरसीको विषय झन्डै १९ वर्षदेखि अल्झेको छ । यी विषयलाई कसरी ह्यान्डिल गर्नुहुन्छ ?

न्यायालयको समग्र विषय मूलभूत रूपमा न्याय परिषद्, सर्वोच्च अदालतको कुरा छ । न्यायालयको छुट्टै पाटो छ, किनभने त्यो सरकार राज्यका अंगमध्ये एउटा छुट्टै अंग हो । तर यो मन्त्रालय धेरै हदसम्म कानुन निर्माण गरेर अगाडि बढ्नु पर्नेमा पनि छ । यसमा सहजीकरण गरेर व्यथिति देखिएका कुराहरूलाई कानुन निर्माण संशोधनको माध्यमद्वारा सुसंगठित बनाउन काम गर्ने हो ।

टीआरसीको विषय भने विगतमै लगभग टुंग्याएको हो । सरकार फेरबदल लगायतका कारण रोकिएको हो । अब ती कुराहरूलाई पनि टुंग्याउनेतर्फ हामी जानुपर्छ । यसलाई प्राथमिकतामै राखेर काम गर्छौं ।

संविधान जारी भएको १० वर्ष नाघ्यो । संविधानअनुसार बन्न बाँकी कानुन थुप्रै छन् । यसलाई स्पिड दिने विषयमा के सोच्नुभएको छ ?

यस पटक हामीले एकदम स्पिडमा काम गर्नुपर्ने छ । विगत हामीले जति कानुन निर्माण गर्नुपर्थ्यो त्यति गर्न सकेनौं । अब हाम्रो मन्त्रालयले निरन्तर समन्वय गरेर काम गर्छ । संसद्मा पनि हाम्रा साथीहरू कानुन निर्माणका लागि भनेरै आउनुभएको छ । उहाँहरूले पनि स्पिडमा काम गर्नुपर्छ । यसरी संसद् र सरकारको लागि दुवै स्पिडअप गरेर अगाडि लैजाउनु पर्छ ।

तपाईंहरूको बाचा पत्रमा पनि संविधान संशोधनको कुरा उठाउनु भएको छ । संविधानमै पनि संवैधानिक आयोगहरूको बारेमा १० वर्षमा रिभ्यु गर्ने कुरा छ । अब संविधान संशोधन र रिभ्युको पाटो कसरी अगाडि बढ्छ ?

यो विषयमा मेरो व्यक्तिगत धारणाभन्दा पनि सरकारको एउटा दृष्टिकोण बनाउनुपर्छ । यी विषयमा सरसल्लाह गरेर निकट भविष्यमै सरकारका प्राथमिकता र कार्यक्रम कसरी अगाडि लैजान्छौं भनेर जानकारी दिन्छौं । मलाई लाग्छ- एक हप्ताको तयारीले सरकार कसरी अगाडि बढ्छ मोटामोटी थाहा पाउनुहुन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?