Comments Add Comment

बाबुरामलाई नेता मान्न उपेन्द्र तयार, पार्टी एकता अन्तिम चरणमा

यसरी हुँदैछ नयाँशक्ति र संघीय फोरमवीच पार्टी एकता

३० चैत, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ । कुनै अवरोध नआए नयाँ वर्षको पहिलो साता एकता घोषणा हुनेछ ।

एकतालाई अन्तिम रुप दिन वार्ता कमिटीका साथै शीर्ष स्तरमा पनि सम्वाद चलिरहेको छ । हालै भएको पार्टीको बैठकमा नयाँ शक्तिका वार्ता टोली संयोजक रामचन्द्र झाले नयाँ वर्षको उपहारका रुपमा फोरमसँग पार्टी एकता हुने दाबी गरेका थिए ।

तर, ०७४ बैशाख १ गते नै एकता घोषणा हुने सम्भावना कम देखिएको छ । स्रोतले भन्यो, ‘एक गते नै त नहोला तर, ७ गतेसम्म एकता गर्ने लक्ष्य छ ।’

वार्ता कमिटी स्तरबाट टुंगो नलागेका विषय टुग्याउने जिम्मा दुबै पार्टीका नेताद्वय डा. भट्टराई र यादवलाई दिइएको छ । ‘घोषणापत्र, झण्डा, चुनाव चिन्हजस्ता विषयमा लगभग सहमति भएको छ’ नयाँ शक्तिका एक नेताले अनलाइनखबरलाई भने ।

एकीकृत पार्टीको नामका लागि विभिन्न विकल्प अघि सारिएको छ । तर, टुंगो लागेको छैन ।

भट्टराईको नेतृत्व स्वीकार्न यादव तयार

नेताहरुका अनुसार एकतापछि पार्टीको नेतृत्वबारे पनि मोटामोटी सहमति भएको छ । भट्टराईको नेतृत्व स्वीकार गर्दै एकतामा आउन संघीय समाजवादी फोरमका अध्यक्ष यादव तयार भएका छन् । एक नेताले भने, दुबै नेताले नयाँ शक्तिको आवश्यकता स्वीकार गर्नुभएको छ, त्यसैले दुबै नेता ठूलो हुने गरी एकता हुन्छ ।’

तर, अन्य नेताबारे सहमति हुन सकेको छैन । फोरमसँग पार्टी एकता गर्दा संघीय समाजवादीका अध्यक्ष अशोक राई वरिष्ठ र संसदीय दलको नेता भएका थिए भने राजेन्द्र श्रेष्ठ सहअध्यक्ष बनेका थिए ।

अब नयाँ शक्तिसँग एकता गर्दा भट्टराई संयोजक भए यादव सहअध्यक्ष वा वरिष्ठ नेता एवं संसदीय दलको नेता हुनेछन् । त्यस्तो अवस्थामा राई र श्रेष्ठलाई कुन पद दिने भन्ने टुंगो लागेको छैन ।

नयाँ शक्तिले खसआर्य, मधेसी र जनजाति गरी तीन क्लस्टरको अवधारणा अघि सारेको छ । यस आधारमा उपेन्द्र यादव मधेसी र अशोक राई जनजाति क्लस्टरबाट सहअध्यक्ष हुन सक्छन् । तर, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिका रामचन्द्र झालाई के जिम्मेवारी दिने भन्ने प्रश्न छ ।

पार्टी एकता गर्दा एउटा समूह असन्तुष्ट भएर बाहिरिने अवस्था नआउने गरी गृहकार्य गर्ने जिम्मेवारी पूरा गर्न भट्टराई र यादवलाई भनिएको छ ।

बहसः संविधान मान्ने कि नमान्ने ?

पार्टी एकताका लागि नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच धेरै सैद्धान्तिक विमति छैन ।

दुबै दलले संविधान संशोधन गर्नुपर्ने माग पनि राख्दै आएका छन् । सीमांकन हेरफेरसहित संविधान संशोधन गर्नुपर्ने माग गर्दै भट्टराई र यादवले संयुक्त वक्तव्य पनि दिएका थिए ।

तर, संविधान निर्माण प्रक्रिया बहिस्कार गरेको फोरमले आफूले ‘संविधान मानेको छैन’ भन्ने गरेको छ । सम्वाद समितिको सभापतिको हैसियतमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले भने संविधान स्वीकार गरेको तर, अपूर्ण रहेको भनेको छ ।

अब पार्टी एकतापछि संविधान मानेर स्थानीय चुनावमा जाने कि आन्दोलनमा जाने भन्ने प्रश्न हल हुन बाँकी रहेको नेताचहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment