Comments Add Comment

पुनर्निर्माणको लागि दाताले प्रतिबद्धता गरेमध्ये ९३ प्रतिशत रकम आयो


३ बैशाख, काठमाडौं । भुकम्प गएको २ वर्ष वित्न लाग्दा दातृ नकायले प्रतिबद्धता गरे मध्येको ९३ (९२.९२) प्रतिशत रकम नेपालले प्राप्त गर्ने निश्चित भएको छ ।

‘हालै हामीले १ अर्ब ३ करोड रुपैयाँ बराबरको सम्झौतामा हस्ताक्षर गरेका छौं,’ अर्थसचिव शान्ताराज सुवेदीले अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा भने ।यससँगै नेपालले कुल ३ अर्ब ८१ करोड रुपैयाँ प्राप्त गर्ने भएको हो ।

नेपालले भूकम्प गएलगत्तै २०७२ असार १० गते दातृ निकायको सम्मेलन गरेर पुनरनिर्माणको लागि सहयोग माग गरेको थियो ।

सम्मेलनमा दातृ निकायले ४ खर्ब १० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भारत र चीनको नियमित सहयोग समेत रहने गरी अन्य विभिन्न दातृ निकायले यस्तो प्रतिबद्धता जनाएका थिए । सबैभन्दा धेरै प्रतिबद्धता जनाउनेमा पनि भारत र चीन रहेको थियो । यी देशले क्रमशः १ खर्ब र ७७ अर्ब रुपैयाँ प्रतिबद्धता जनाएका थिए ।

अर्थमन्त्री कृष्णबहादुर महाराले पुनरनिर्माणको लागि रकम प्राप्त गर्ने प्रणालीलाई सरलीकरण गर्न लागिएको जानकारी दिए ।   ‘अनुदान रकमको दुरुपयोग नहोस् भन्ने दाताको पनि चाहना हो, हामी पनि यसमा प्रयत्न गरिरहेका छौं, तर यही कारण अनुदान रकम खर्चमा जटिलता देखिएको छ, राष्ट्रिय पुनरनिर्माण प्राधिकरणलाई रकम विनियोजन प्रणाली सरलीकृत गर्न लगाएका छौं,’ अर्थमन्त्री महराले भने ।

सहयोग प्रतिबद्धताको आधारमा चीनपछि जापान, अमेरिका, बेलायत लगायत रहेका थिए । दातृ निकायले प्रतिबद्धता गरेपनि सरकारले पुनरनिर्माणमा खर्च गर्न नसक्दा पनि समस्या परेको सचिव सुवेदीले जानकारी दिए ।

‘आवास अनुदानमा बाहेक अन्य क्षेत्रमा पुनरनिर्माणको काम खासै हुन सकेको छैन्, हाम्रा मन्त्रालयहरुले आयोजनाको खाका बनाउन नसकेको पनि यस्तो भएको हो,’ सुवेदीले स्पष्ट पारे । उनले भक्तपुर र ललितपुरमा निश्चित मापदण्ड बनाएर पुनरनिर्माणको काम सुरु गर्ने तयारी भइरहेको पनि जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment