Comments Add Comment

नेपाल-चीन सैन्य अभ्यासमाथि भारतको दबाव ?

चिनियाँ विश्लेषक भन्छन्- दबावका कारण तालिममा सीमित

८ बैशाख, काठमाडौं । एक चिनियाँ विश्लेषकले भारतको दबावका कारण नेपाल-चीन संयुक्त सैन्य अभ्यास तालिममा मात्रै सीमित भएको बताएका छन् ।

बैशाख ३ गते काठमाडौंमा सुरु भएको ‘सगरमाथा फ्रेन्डसिप २०१७’ नामक सैन्य तामिम १२ गते सकिँदैछ ।

सुरुमा दुई देशवीच सैन्य अभ्यास हुने भनिएको थियो । तर, तालिममा मात्रै सीमित भएपछि चिनियाँ पक्ष असन्तुष्ट देखिएको छ ।

सांघाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडिजका लिउ जोङईले चिनियाँ सरकार नियन्त्रित मिडिया ग्लोबल टाइम्समा लेख लेख्दै भनेका छन्, ‘बटालियन स्तरमा हुने भनिएको सैन्य अभ्यास भारतको तीव्र दबावका कारण नेपालले घटुवा गरेको छ ।’

उनका अनुसार सैन्य अभ्यास पाँचखालस्थित तालिम केन्द्रमा हुने तय भएको थियो । तर, अहिले सैनिक तालिम स्कुलमा सीमित गरिएको छ । यो सैन्य तालिम प्रतिआतंकवाद र प्रकोप व्यवस्थापनका विषयमा हुन बताइएको थियो ।

लिउ जोङइले आफ्नो लेखमा भनेका छन्, ‘नेपालले भारतलाई नचिढ्याउने नीति लिएको छ । तर, यो सैन्य अभ्यासले कुनै पनि अर्थमा नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिलाई उल्लंघन गर्दैन ।’

उनका अनुसार भारतले नेपाल, भुटान जस्ता देशहरुलाई आफ्नो प्रभाव क्षेत्र ठान्ने गरेको छ । र, चीनविरुद्ध रणनीतिक ‘बफर जोन’का रुपमा लिने गरेको छ ।

चीनसँग भने नेपालसँगको सम्वन्ध अघि बढाउने स्पष्ट योजना रहेको उनले दाबी गरेका छन् । बेइजिङले नेपाललाई भारत र चीनको पुलको रुपमा हेर्न चाहेको र चीन, भारत र नेपाल त्रिदेशीय आर्थिक कोरिडोरका रुपमा विकास गर्न चाहेको लिउ जोङईले आफ्नो लेखमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘भारतले नेपाल र चीनबीचको सम्वन्धलाई जसरी हेरे पनि यो अघि बढ्नेछ, किनकि नेपाल र चीनको साझेदारी दुबै देशका नागरिकको हितमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment