Comments Add Comment

निर्वाचनमा सुरक्षा प्रदान गर्न सेना प्रतिबद्ध : रक्षामन्त्री खाँण

१३ वैशाख, काठमाडौँ । रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन्।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

‘सेना निर्वाचनमा सहभागी हुने मतदाता, कर्मचारी र मतपेटिकाको सुरक्षा गर्न तयार छ’, उनले भने ‘अगाडिको घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने र त्यसपछिको घेरामा निर्वाचनमा खटिने सबैको सुरक्षा गर्नका लागि सेना तयार रहेको छ ।’

उहाँले अहिले निर्वाचनमा देशभरिको सुरक्षा कस्तो हुने भन्नेमा आँकलन भइरहेको बताउँदै आवश्यक परेमात्र सेना परिचालन गर्ने जानकारी गराए ।

मन्त्री खाँणले सरकारले चाँडै नै राष्ट्रिय प्रतिरक्षा सुरक्षा नीति ल्याउन लागेको जानकारी गराए । उनले अहिले प्रतिरक्षा सुरक्षा नीतिमा सरकारले सैद्धान्तिक सहमति जनाइसकेको भन्दै चाँडै नै समिति वा आयोग बनाएर कस्तो नीति सम्बन्धमा अध्ययन गरिने जानकारी गराए ।

उनले जेठमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारले नै नयाँ बजेट ल्याउने जिकिर गरे । उनले काँग्रेस र नेकपा माओवादी केन्द्र  बीच मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको समीकरण रहिरहने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment