Comments Add Comment

कनकाई नगरमा स्वतन्त्रहरुको मोर्चाबन्दी, मेयरमा भीम उठ्ने


२० वैशाख, झापा । झापाको कनकाई नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी स्वतन्त्र बसेकाहरुले मोर्चाबन्दी गरेका छन् । र, उम्मेदवारी घोषणा गरेका छन् ।

स्वतन्त्रको समूहबाट मेयरमा भीमप्रसाद अधिकारीलाई उठाइने भएको छ भने उपमेयरमा धर्मलाल राजवंशी उठ्ने भएका छन् ।

अधिकारी ०६८ सालमा नेकपा एमाले परित्याग गरी स्वतन्त्र बसेका थिए भने राजवंशी नेपाली कांग्रेसको मजदुर संगठनका पूर्व जिल्ला अध्यक्ष हुन् । ०६७ सालमा कांग्रेस छाडेर उनी स्वतन्त्र बसेका थिए ।

मेयरका उम्मेदवार अधिकारी पूर्व सुरुङ्गा गाविस अध्यक्षसमेत हुन् । राजवंशी कांग्रेस परित्याग गरेर विभिन्न संघ-संस्थामा सक्रिय रहँदै आएका छन् ।

नगरपालिकाको वडा नं. ३ को वडाध्यक्षमा सचिन लामा र वडा सदस्यमा धनबहादुर बोगटीलाई अघि सारिएको छ ।

लामा राजनीतिक रुपमा एमाले निकट भए पनि केही समयअघि विज्ञप्ति नै निकालेर आफू पार्टीमा नरहेको घोषणा गरेका थिए ।

धनबहादुर अहिलेसम्म कुनै पनि दलमा खुलेर लागेका छैनन् । त्यस्तै, महिला सदस्यमा अघि सारिएकी टिकामाया गुरुङ पनि कुनै दलमा देखिएकी छैनन् ।

वडा नं. ४ को वडाध्यक्षमा देवेन्द्रकुमार कार्की र वडा सदस्यमा पर्शुराम अधिकारीलाई अघि सारिएको छ ।

देवेन्द्रकुमार दुई दशकअघि भएको स्थानीय तहको निर्वाचनमा समेत स्वतन्त्रबाट उम्मेदवार भएका थिए भने अधिकारीले ०६८ सालमा मेयरका उम्मेदवार भीमसँगै एमाले परित्याग गरेका थिए ।

वडा नं. ४ को महिला सदस्यमा बिनिता भट्टराईलाई अघि सारिएको छ । उनी अहिलेसम्म कुनै पार्टीमा आबद्ध रहेको नदेखिए पनि उनका श्रीमान् नेत्र भने एमाले समर्थक थिए । उनले पनि ०६८ सालमा एमाले परित्याग गरेका थिए ।

‘पार्टी छोड्दै धेरै जना स्वतन्त्र बसेको महसुस भएपछि केही गर्नु पर्छ भन्ने मानसिकता उब्जिएको थियो’, मेयरका उम्मेदवार अधिकारीले अनलाइनखबरसँग भने, ‘अरु साथीहरुबाट पनि केही गर्नु पर्छ भन्ने प्रेसर आयो । त्यसपछि स्वतः स्फूर्त रुपमा समूह नै बन्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment