Comments Add Comment

राप्तीका ‘हिम्मतवाला’ महिला, जो चुनाव लड्दैछन् पुरुषसँग

२१ बैशाख, काठमाडौं । देश स्थानीय तहको चुनावले उत्सवमय बनेको छ । पहिलो चरणको चुनावको उम्मेदवारी दर्ताले चुनावको माहोल तातेको छ । अधिकांश क्षेत्रमा प्रमुख पदमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाइएको छ तर, केही यस्ता महिलाहरु पनि छन् जो प्रमुख पदमै पुरुषहरुसँग प्रतिस्पर्धा गर्दैछन् । हामी साविकको राप्ती अञ्चलभित्र पर्ने ५ र ६ नम्बर प्रदेशका केही नगरपालिका र गाउँपालिकाका यस्तै हिम्मतवाला महिलाहरुको चर्चा गर्दैछौं ।

द्रौपदा पौडेल, लमही नगरपालिका, दाङ

माओवादी केन्द्रले ११ ठाउँमा मेयर र ९ ठाउँमा गाउँपालिका अध्यक्ष पदमा महिलाहरुलाई अघि सारेको छ । द्रौपदा पौडेल दाङको लमही नगरपालिकाको मेयर पदको उम्मेदवार हुन् । माओवादी केन्द्रले द्रौपदालाई मेयर र कालुराम चौधरीलाई उपमेयर पदमा उम्मेदवार बनाएको छ । दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका छन् । तर, मेयर पदको उम्मेदवार बन्ने उनी एक्ली महिला हुन् ।

द्रौपदा पौडेलले कांग्रेस र एमालेका पुरुष प्रतिस्पर्धीसँग चुनाव लड्ने पक्का भइसकेको छ । एमालेले लमही नगरपालिकामा कुलबहादुर केसीलाई मेयर र मिना गुरुङलाई उपमेयरको उम्मेदवार बनाउन सिफारिस गरेको छ । कांग्रेसले भने उम्मेदवार टुंगो लगाउन बाँकी छ तर रेशमबहादुर खड्का, देवानजंग चौधरी र जोगराज चौधरीमध्ये एकजनाले टिकट पाउने चर्चा छ ।

को हुन् पौडेल ?

पौडेलले दोस्रो जनआन्दोलन ०६२/६३ मा नागरिक समाज देउखुरीको संयोजक भई नेतृत्व गरेकी थिइन् । समाजसेवामा सक्रिय पौडेल २०५२ सालबाट नै माओवादीको राजनीतिमा लागे पनि भूमिगत भने भइनन् । आफू एउटा पार्टीबाट उम्मेदवार बनेपनि सबै महिलाको प्रतिनिधित्व गर्दै महिला अधिकार र विकासको क्षेत्रमा काम गर्ने पौडेलले बताइन् ।

लमही पाँच नम्बर प्रदेशमा पर्ने भएकाले यहाँ दोस्रो चरणमा निर्वाचन हुनेछ । तर, आफूले चुनाव प्रचार प्रसारलाई जारी राखेको पौडेलले जानकारी दिइन् ।

खुमबहादुरको प्रभाव क्षेत्र, बिरासत जोगाउने चुनौति

साविकको दाङ क्षेत्रनम्बर एकमा पर्ने लमही कांग्रेस नेता खुमबहादुर खड्काको प्रभाव क्षेत्र मानिन्छ । तर, पहिलो संविधानसभा निर्वाचनमा लमही बजारमै माओवादीका सातजना कार्यकर्तालाई गोली हानेर हत्या गरेको आरोप माओवादीहरुले खुमबहादुरलाई लगाउने गरेका छन् । सो घटनालाई माओवादीले चुनावी मसला बनाउन पायो र कांग्रेस उम्मेदवार खुमबहादुरलाई भारी मतअन्तरले हराउँदै माओवादीका इन्द्रजित चौधरी निर्वाचित भए । माओवादीले लमही नगरपालिकाको सोही क्षेत्रमा इन्द्रजितलाई चुनावको कमाण्डर बनाएको छ ।

इन्द्रजित भन्छन्, ‘अहिले पुरानो बिरासत फर्काउने लक्ष्यसहित चुनावको तयारीमा व्यस्त छौं । सम्पूर्ण पार्टी पंक्ति चुनावमा परिचालित भएको छ र हालसम्म सकारात्मक परिणाम पनि आइरहेको छ ।’

उनले लमही नगरपालिकाको चुनावमा कांग्रेससँग प्रतिस्पर्धा हुने बताए ।

दिलमाया बुढा ‘सिर्जना’, कुमाख मालिका गाउँपालिका, सल्यान

सल्यानमा पहिलो चरणमा चुनाव हुँदैछ ।सल्यानको कुमाख मालिका गाउँपालिकामामाओवादी केन्द्रले दिलमाया बुढा ‘सिर्जना’लाई अध्यक्षको उम्मेदवार बनाएको छ । सल्यानमा ७ वटा गाउँपालिका र ३ वटा नगरपालिका छन् । त्यसमध्ये सल्यानको स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बनेकी दिलमाया बुढा एकमात्र महिला रहेको माओवादी केन्द्र सल्यानका इञ्चार्ज नेबबहादुर कँवर ‘विवेक’ले बताए ।

कुमाख मालिका गाउँपालिकामा एमालेले भैरबबहादुर शाहलाई र नेपाली कांग्रेसले मानबहादुर बुढाथोकीलाई अध्यक्ष पदको उम्मेदवार बनाएका छन् ।

कुमाख मालिका गाउँपालिका माओवादीको पकड क्षेत्र मानिन्छ ।

जनसरकार प्रमुख हुँदै गाउँपालिका प्रमुखको दाबेदार

०५३ सालदेखि माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ताको रुपमा लागेकी बुढा हाल माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य हुन् । युद्धकालमा गठित कालागाउँ गाउँ जनसरकार प्रमुख हुँदै जिल्ला जनसरकार उपप्रमुखसम्म भइसकेकी उनी शहीद पत्नीसमेत हुन् । युद्धकालमै ०५६ साल चैतमा उनका श्रीमान् तत्कालीन माओवादी पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य लोकेन्द्रप्रकाश गिरीलाई प्रहरीले हत्या गरेको थियो ।

०३५ मंसिर ८ गते रुकुम खोलागाउँमा जन्मिएकी बुढा जनयुद्धको शुरुवातसँगै तत्कालीन सुरक्षा दल र स्क्वाइडमा समेत केही वर्ष अनुभव हाँसिल गरेकी थिइन् । हाल पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य, सहिद परिवार समाज सल्यानको अध्यक्षलगायतका जिम्मेवारी पनि उनले बहन गरिरहेकी छन् ।

कुमारी बराल, सिस्ने गाउँपालिका, रुकुम

रुकुमको सिस्नेमा दोस्रो चरणमा चुनाव हुँदैछ । माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको सदस्यसमेत रहेकी कुमारी बराल सिस्ने गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुन् । सोही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले नन्दलाल शर्मालाई उम्मेदवार बनाएको छ । तर, कांग्रेसले भने उम्मेदवार सार्बजनिक गरेको छैन । सिस्ने गाउँपालिकामा कांग्रेसका लछिराम घर्तीको चर्चा छ ।

माओवादी केन्द्रकी कुमारी बराल विद्यार्थी राजनीति हुँदै माओवादी आन्दोलनमा होमिएकी थिइन् । २०५८ सालमा माओवादीको पूर्णकालिन कार्यकर्ता बनेकी उनी पार्टी संगठनमा लगनशील र जुझारु मानिन्छिन् । तत्कालीन विद्रोही नेकपा माओवादीको गण्डक अभियानको क्रममा रुकुमबाट गुल्मी गएका प्रविणसँग उनको बिहे भएको थियो ।

साधारण किसान परिवारकी कान्छी छोरी कुमारी बरालको जन्मघर गुल्मी भए पनि कर्मघर भने रुकुम हो । उनले विद्यालय तहको शिक्षा धर्मपुर मावि ठूलोलुम्पेकमा पूरा गरिन् । विद्यालयमा तीक्ष्ण दिमाग भएकी विद्यार्थीको रुपमा उनी परिचित थिइन् । उनलाई नजिकबाट चिन्ने सुदर्शन बराल भन्छन्, ‘यतिसम्मकी गणितका ठूला-ठूला हिसाब गर्न पनि उनलाई क्यालकुलेटर चाहिँदैनथ्यो ।’

आशा स्वर्णकार, भुमेगाउँपालिका, रुकुम, एमाले

पाँच नम्बर प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले आशा स्वर्णकारलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । यसमा दोस्रो चरणमा चुनाव हुनेछ ।

स्वर्णकारले माओवादी केन्द्रका रामशुर बुढासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । कांग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन ।

भुमे गाउँपालिकाको महत घर भएकी आशा एमाले रुकुम जिल्लाको सचिवालय सदस्य हुन् । उनी पार्टीको भ्रातृ संस्था अखिल नेपाल महिला संघ र उत्पीडित जाति मुक्ति समाजको केन्द्रीय सदस्यसमेत हुन् । उनले श्रीमानसँग पारपाचुके गरेकी छन् ।

विगतदेखि नै अनेमसंघमा काम गर्दै आएकी आशा स्वर्णकारले आम रुकुमबासीले जस्तै माओवादी १० वर्षे सशस्त्र संघर्षमा बिभिन्न कठिनाइ भोग्नु पर्‍यो । उनले भनिन्, ‘माओवादी युद्धकालको प्रभावमा नपर्ने हामी कोही पनि छैनौं । ठूलो क्षति नबेहोरे पनि केही न केही पीडा त भोग्नुभयो । तर म बिचलित नभइ एमालेमै लागिरहेँ ।’

आशाले चुनावको लागि घरदैलो कार्यक्रममा आफू सक्रिय रहेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइन् ।

एमाले रुकुमका अध्यक्ष विमल पुनले भने, ‘आशाप्रति हामी सबैलाई आशा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment