Comments Add Comment

बाँकेमा उम्मेदवार टुंगो लगाउने कसरत, तालमेलको प्रयास जारी

१२ जेठ, नेपालगन्ज । दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा बाँकेमा उम्मेदवारको टुंगो लगाउन राजनीतिक पार्टीहरुलाई हम्मेहम्मे परेको छ । जिल्लाका सबै वडाहरुमा सबै पार्टीले दिनहुँजसो घरदैलो गर्दै मत माग्न हिँड्ने गरे पनि उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

आन्तरिक समस्याको कारण नेपाली कांग्रेसले वडा तहको समेत उम्मेदवार टुंगाउन सकेको छैन । ‘दिनकै विहान साँझ प्रचारको लागि घरदैलोमा हिँडेको छु तर, टिकट पाउने होकी होइन भन्ने टुंगो लागिसकेको छैन,’ नेपालगन्ज–१ धम्बोझीमा नेपाली कांग्रेसको प्रचार अभियानमा हिँडेका प्रस्तावित उम्मेदवारले भने ।

नेपाली कांग्रेस बाँकेले स्थानीय तह अन्तर्गत गाउँपालिका नगरपालिका र उपमहानगरपालिकामा आकांक्षीहरु धेरै भएपछि प्रमुख–उप्रमुखको आकांक्षीहरुको नाम टुंगो लगाउन केन्द्रमा पठाएको जनाएको छ ।

एमाले र माओवादी केन्द्रका नेताहरु आ–आफ्नो पार्टीको उम्मेदवार छनौटको गहन गृहकार्यमा लागेका छन् । उम्मेदवार टुंगो लगाउन माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ नेपालगन्ज आएका छन् ।

यसैगरी संघीय समाजबादी फोरम नेपालले पार्टी केन्द्रको निर्देशन पर्खेर बसेको कारण आफ्नो पार्टीको उम्मेदवार टुंगो लगाए पनि बाहिर सार्वजनिक नगरेको जिल्ला प्रवक्ता शम्शुल हक राईले जानकारी दिए ।

उनले भने, ‘पार्टीको केन्द्रीय निर्देशन पर्खेर बसेको अवस्था छ । पार्टी निर्वाचनमा जाने भएमा पार्टीका तर्फबाट पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य मो. ईस्तियाक राई नै मेयरको उम्मेदवार हुने निश्चित छ । पार्टीका बाँके अध्यक्ष कमरुद्दिन राई पनि मेयरका प्रत्यासी हुनसक्ने गरी विकल्प राखिएको छ ।’

उनले पार्टीको तर्फबाट उपमेयरमा शोभादेवी खरेललाई उठाउने तयारी भएपनि पार्टी अझै पनि आन्दोलनमा भएकाले पार्टीले राखेका मागहरु सम्बोधन भएमात्र निर्वाचनमा भाग लिने बताए ।

यता राजपा नेपालले पनि संविधान संशोधन भएमात्र निर्वाचनमा जाने तयारीका साथ आन्तरिक तयारी अघि बढाएको स्रोतले जनाएको छ । राजपा नेपालका तर्फबाट पशुपति दयाल मिश्र, ललित रौनियार र आदेश अग्रवाल मध्येबाट एक उम्मेदवार बन्ने गरी तयारी गरेको बुझिएको छ । यी तीनै जना तमलोपाका नेता हुन् । राजपा नेपालमा आबद्धता रहेका अन्य पार्टीका नेताहरु पनि मेयरका आकांक्षी रहेको भए पनि उनीहरुले यो नै खुलेर भन्ने गरेका छैनन् ।

राप्रपाले मेयरमा पार्टीका महामन्त्री डा. धवल शम्शेर जवरालाई उठाउने र उपमेयरमा रमारानी वैश्यलाई उम्मेदवार बनाउने भएको छ । राप्रपाबाटै फुटेर राप्रपा राष्ट्रवादीले पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णराज खरेललाई उम्मेदवार बनाउने भएको छ ।

तालमेलको चर्चा

दोस्रो चरणको निर्वाचनमा पनि सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने चर्चा छ । यसैगरी एमाले र राप्रपाबीच पनि चुनावी तालमेल हुने चर्चा व्यापक छ ।

कांग्रेसले नेपालगन्ज उपमहानगरपालिका र माओवादी केन्द्रले कोहलपुर नगरपालिकाको नेतृत्व लिने गरी तालमेलको प्रयास भइरहेको छ । नेपालगन्जको मेयरमा दामोदर आचार्य र कोहलपुरमा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेलाई माओवादीले मेयरको उम्मेदवार तोकिसकेको छ । कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।

यसैगरी एमाले र राप्रपाबीच पनि नेपालगन्जमा मेयर राप्रपा र उपमेयर एमाले तथा कोहलपुरमा मेयर एमाले र उपमेयर राप्रपालाई दिने गरी स्थानीय नेताहरुले छलफल चलाएका छन् । तर, एमाले बाँकेका उपसचिव प्रमोद धितालले भने तालमेलको हल्ला निराधार भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment