Comments Add Comment

देउवालाई राप्रपा र फोरमको समर्थन, राजपा अझै अनिर्णित

२१ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको चौथो ठूलो शक्ति राप्रपासँगै संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् । तर, राष्ट्रिय जनता पार्टी नेपाल भने अझै अनिर्णित छ ।

प्रमुख विपक्षी नेकपा एमालेले संसद अवरोध कायमै राख्ने अडान लिएपछि आइतबारका लागि निर्धारित प्रधानमन्त्री निर्वाचनलाई भने मंगलबारका लागि सारिएको छ ।

तर, प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेस सभापति देउवाको पक्षमा समर्थन भने थपिएको छ ।

पार्टीभित्र चर्को विवादका बीच कमल थापा नेतृत्वको राप्रपाले समर्थनको निर्णय गरेको छ ।

राप्रपा अध्यक्ष थापा उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा थिए । तर, बहुमत नेताहरु सरकारमा जाने पक्षमा उभिए । पार्टी संसदीय दलको बैठकमा थापाले बहुमत अल्पमत हेरेर सरकारमा जाने निर्णय भएको सुनाएका छन् ।

कांग्रेस सभापति देउवाले लिखित पत्र पठाएर राप्रपालाई सरकारमा आउन आग्रह गरेका थिए । स्रोतका अनुसार देउवाले चार मन्त्रालय दिने आश्वासन दिएका छन् ।

राप्रपाले समर्थन गर्ने निर्णयसँगै सरकारमा जाने मन्त्री छनोटका लागि कार्यदल बनाएको छ ।

यस्तै १५ सांसद रहेको संघीय समाजवादी फोरम नेपालले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता अशोक राईको अध्यक्षमा आइतबार बसेको बैठकले देउवाको मतदान गर्ने निर्णय गरेको सचेतक डा. शिवजी यादवले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्री भएपछि संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारु लगायतको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै देउवाले पठाएको पत्रमा भनिएको छ,- ‘स्थानीय तहको प्रथम चरणको निर्वाचन भइसकेको वर्तमान अवस्थामा अब तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन गरि संविधान संशोधन लगायत राजनीतिक दलहरुको बीचमा भएको सहमतिलाई कार्यान्वयन गर्दै बाँकी सबै तहको निर्वाचन सम्पन्न गर्नु हाम्रो मुख्य राष्ट्रिय एजेन्डा हुने कुरा स्मरण गराउन चाहन्छु ।’

राजपा अझै अनिर्णित

संसदको पाँचौ ठूलो शक्ति राष्ट्रिय जनता पार्टी नेपाल भने सरकारबारे अझै अनिर्णित देखिएको छ ।

राजपा अध्यक्ष मण्डलको बैठक बसे पनि निर्णय भइनसेको नेता राजेन्द्र महतोले बताए । उनले भने, अहिले छलफलमै छौं । पर्सि १ बजेअघि निर्णयमा पुग्छौं ।’

राजपा नेपाल देउवालाई समर्थन गर्न सकारात्मक देखिएको छ तर, लिखित सहमति गराउन चाहेको देखिन्छ । प्रधानमन्त्रीका उम्मेदवार देउवाले भने प्रचण्ड सरकार गठनका क्रममा भएका सहमतिप्रति प्रतिवद्ध रहने बचन दिएका छन् ।

देउवाको पक्षमा अब माओवादी, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र केही साना दल छन् । कांग्रेसको २०६ सांसद छ भने माओवादीको ८१, राप्रपाको ३७, फोरम लोकतान्त्रिकको १६ र फोरमको १५ सांसद छन् । नेकपा संयुक्त, अखण्ड नेपालसहितका केही दल पनि देउवालाई समर्थन गर्ने निर्णयमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment