Comments Add Comment

अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा

२३ जेठ, मोरङ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ ।

यसरी सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहँदा जनताले पाउने स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको सेवाग्राहीको भनाइ छ । नयाँ चिकित्सकलाई करारमा नियुक्ति गर्दा जनताले स्तरीय सेवा नपाउने सेवाग्राही पप्पु मिश्राको भनाइ छ ।

उनी भन्छन्, ‘नयाँ विद्यार्थीलाई नियुक्ति ग¥यो काम गर्न जान्दैनन्, औषधि लेख्दा गल्ती गर्छन्, त्यसको शिकार जनता हुन्छन् ।’ कोसी अञ्चल अस्पतालमा ५३ जना साधारण चिकित्सकको दरबन्दी छ ।

तीमध्ये ३० जना चिकित्सकमात्रै दरबन्दीमा कार्यरत रहेका छन् । करारमा नियुक्त भएका २२ जना चिकित्सक काम गर्दै आएका छन् । अस्पताल विकास समितिले नियुक्तिमा दुईजना काम गर्दै आएका छन् । अस्पतालमा कायम गरिएको दरबन्दीभन्दा बढी नै चिकित्सक कार्यरत रहँदासमेत सहज तरिकाले पाउनुपर्ने स्वास्थ्य उपचार सेवा नपाइएको सेवाग्राही ३४ वर्षीय सुभाष कामतको भनाइ छ ।

अस्पतालमा कायम गरिएको दरबन्दीमध्ये, १० भन्दा बढी ११ औं तहका चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले आठौं तहको मेडिकल अधिकृतलाई करारमा नियुक्ति गरेर काममा खटाएको छ ।

अस्पतालमा १२ वटा विभाग रहेका छन् । ११ औं तहका दक्ष चिकित्सक विभागीय प्रमेुख हुने प्रावधान छ तर अस्पतालमा करारमा कार्यरत आठौं तहको मेडिकल अधिकृतलाई विभागीय प्रमुखको जिम्मेवारी सुम्पिने गरेको छ । गत वर्ष अस्पतालमा रु छ करोड ४० लाख अनुदान आएको थियो । यसबाहेक अस्पताललाई टिकट, ल्याब, श्ययाको चार्जबापत करिब रु ६० लाख मासिकरुपमा आम्दानी हुन्छ ।

चिकित्सक कर्मचारीलगायत अस्पतालको भौतिक पूर्वाधारको नाममा रु ८० लाख मासिक खर्च भइरहेको छ । विसं १९४७ मा मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा सञ्चालन भइरहेको सो अस्पताल २०१३ सालमा विराटनगरमा सरेको हो । सुरुमा त्रिभुवन स्मारक अस्पतालको नाममा १० श्ययाबाट सेवा सुरु गरेको अस्पताल पछि कोसी अञ्चल अस्पतालका रुपमा परिणत भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेल देशभरिका सरकारी अस्पतालमध्ये कोसी अञ्चल अस्पताल हरेक हिसाबले सर्वसाधारणलाई सेवा दिने हिसाबले प्रभावकारी रहेको बताए । उनका अनुसार आमा सुरक्षा कार्यक्रम कोसी अञ्चल अस्पतालकोजस्तो सेवा प्रभावकारी अरु कुनै अस्पतालमा छैन ।

उनले दावी गर्दै भने, ‘कोसी अञ्चल अस्पताल जत्तिको राम्रो र सबैका लागि पहुँच पुग्ने अरु कुनै अस्पताल छैन ।’
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment