Comments Add Comment

घोराहीमा भूमेको रौनक, मगर समुदायमा खुसीयाली (फोटो फिचर)


३ असार, दाङ । दाङको घोराहीमा अहिले भूमेको रौनक छ । साविक राप्ती अञ्चलमा बसोबास गर्ने खाम भाषी मगरहरुको सबैभन्दा महत्वपूर्ण पर्व हो-भूमे ।

हरेक वर्ष असार १ गतेदेखि ५ दिनसम्म यो पर्व मनाउने गर्छन् । त्यसो त तयारी भने १ महिना अघिदेखि नै गरिराखिएको हुन्छ । असार १ अर्थात वर्षा ऋतु शुरु हुनै लाग्दा यो पर्व मनाउने गरिन्छ ।

यो पर्वमा मुख्यगरी प्रकृतिको पूजा गरिन्छ । मगरहरु मध्य पहाडी भेगमा बसोबास गर्ने बासिन्दा हुन् । यिनीहरुको आˆनै कला, संस्कृति, रहनसहन र भाषा छ । राप्तीका सबै जिल्ला पश्चिममा जाजरकोट र पूर्वमा बाग्लुङसम्मको मगरहरु बसोबास गर्ने क्षेत्रलाई अठार मगरात क्षेत्र भनेर चिनिने गर्छ ।

यिनीहरु परापूर्वकालदेखि नै अग्ला पहाड, भीर, कान्लामा बस्ने खेतीपाती गर्ने चलन थियो । वषर्ातको समयमा ती भीर पाखाहरुमा बाढी पैरो जस्ता दैवी प्रकोप नहोस् र खेतीपातीलाई कुनै असर नगरोस् भनेर यो पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।

मगरहरुले कुनै देवीदेउताको भन्दा पनि बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्ने गर्दछन् । मगर वस्तीहरुमा जाँदा भूमि, बराहा, सिद्ध बराहा लगायतको पूजा गरेको समेत देख्न सकिन्छ । यसरी नै यो दिनमा यिनीहरु बसोबास गर्ने गाउँहरुमा सानोतिनो मेला नै लाग्छ ।


त्यसकारण यस भूमे पर्वलाई गाउँघरमा भूमे मेला भन्न गर्दछन् । यो भूमे पूजा अठार मगरात क्षेत्रमा असार १ गते एकैदिन गर्ने गरे पनि ठाउँ अनुसार भूमे पूजा गर्ने आ-आफ्नै चलन छ र आफ्नै गाउँ-ठाउँअनुसारको विशेषता र कथा पनि हुने गर्दछन् ।

भूमे शुरु हुनुभन्दा दुई दिनअघि नै नजिकैको पहाडमा बुकी फूल टिप्न जाने गर्दछन् । बुकी फूल टिप्ने वन देवतालाई धजा फूल चढाउनका लागि अग्ला लेकहरुमा पुग्ने गर्दछन् ।

यसरी प्रायः गरेर मगर समुदायका युवायुवतीहरु जाने गर्दछन् । दुई दिन पहिले बुकी फूल टिप्न गएकाहरु असार १ गते बिहान बुकी फूल ल्याउँदा उहींबाटै नाचगान रमाइलो गर्दै आउँछन् । यता भूमिथानमा अरु सम्पूर्ण तयारी गरिसकिएको हुन्छ । गाउँले सम्पूर्ण आˆनो पहिरनमा भूमेथानमा जम्मा भएका हुन्छन् ।

यो पर्वमा भूमेथानमा पूजापाठको साथै भेडाको बलि पनि दिने गरिन्छ । त्यसपछि जम्मा भएका सबैले आˆनो मान्यजनबाट पहाडबाट ल्याइएको बुकी फूल लगाउन लगाउने र आशीर्वाद लिने गरिन्छ ।


आशिर्वाद लिइसकेपछि भूमेथानमा जम्मा भएकाहरु सबै गोलो घेरा बनाइ भूमेथानलाई बीचमा पारेर नाचगान गरेर रमाइलो गर्छन्। मगर समुदायमा यो नाच भूमे नाचको नामले प्रख्यात छ । यो नाचको २२ ताल हुने गर्छ । दमाहा, झ्याली बजाएर नाचिने यो नाचको आˆनै किसिमको भूमे गीत गाउँदै नाच्ने गर्दछन् ।

दाङको घोराहीमा पनि गत असार १ देखि यो पर्व शुरु भएको छ । मगर समुदायको मुख्य पर्व भूमेको अवसरमा युवायुवती, बालबालिकादेखि बृद्धबृद्धासम्म नाचगान गरेर रमाइलो गरिरहेका छन् ।

राप्तीका पहाडी जिल्लाहरु रुकुम र रोल्पाबाट बसाइ सरेर दाङ झर्ने मगरहरुको संख्या बढेसँगै दाङमा भूमे मनाउन थालिएको हो । केही वर्षअघि दाङमा भूमे मनाउने गरिएको थिएन । आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले २०६४ सालदेखि दाङको घोराहीमा यो पर्व मनाउन लागेको मगर संघ दाङका अध्यक्ष शीतलाल पुन मगरले बताए ।


मगरहरुको मुख्य पर्व हो- भूमे । प्रकृतिसँगै खेल्दै रमाउँदै प्रकृतिमाथि नै निर्भर रहँदा भूमिलाई देवता मानेर यो पर्वमा पूजाआजा गरिन्छ । खेतीपातीको कामकाज सकेपछि धर्तीमा परेको फोहोरमैला सफा गरेर भूमि-धर्ती) लाई खुशी पार्न यो पर्व मनाउने गरिएको मगर समुदायका अगुवाहरु बताउँछन् ।

भूमिको पूजा, सामूहिक जीवनशैली र अग्रजको सम्मान नै यो पर्वको प्रमुख विशेषता हो । मगर वस्तीहरुमा जेठ १ देखि नै भूमेको औपचारिक शुरुवात हुने गर्छ । जेठ १ गतेको दिन गाउँका युवायुवतीहरु अगुवाकहाँ गएर मात्र उभेली मासमा बन्द गरिएका बाजा फुकाउँछन् ।

त्यस दिनदेखि हरेक गाउँका चोक चौतारामा युवायुवती भेला भएर जेठ मसान्तसम्म नाचगान गर्छन् । असार संक्रान्तिको तीन दिनअघि मगर युवायुवतीहरु पञ्चेबाजासहित बुकीमा फूल टिप्न जान्छन् । बुकीबाट फूल ल्याएपछि बलपूजा शुरु हुन्छ र एक मनिाअघि शुरु भएको भूमे नाच असार संक्रान्तिपछि पनि करिब एक सातासम्म चल्छ ।


असार १ गते मगर वस्तीहरुमा विभिन्न टोल वा वडाबाट आएका प्रतिनिधिहरुले छानेको नयाँ नेतृत्वको बैठकले गरेका निर्णय कटवालले सार्वजनिक गर्छन् र तत्काल निर्णय कार्यान्वयनमा जान्छ ।

रुकुमका हुकाम, मैकोट, तकसेरा, राङ्सी, जाङ, लुकुम, काँक्री, क्याङ्सी, मोराबाङ, महत, काँडा, रोल्पाका थवाङ, मिरुल, जेलवाङ, उवालगायतका मगर समुदायको सघन बसोबास रहेका वस्तीहरुमा असार संक्रान्तिमा नयाँ नीति निर्माण र नेतृत्व चयन गरिन्छ ।

यो हिसाबले असार संक्रान्ति मगर वस्तीहरुका लागि नयाँ वर्ष पनि हो, जुन दिन वर्षभरिका लागि नयाँ संविधान समेत बनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment