Comments Add Comment

इटहरीको प्रक्षेपणः कांग्रेसको ‘कमब्याक’ कति सम्भव छ ?

१८ असार, इटहरी । सुनसरीको उदीयमान शहर इटहरीको मेयरमा कसले बाजी मार्ला ? सुरुमै अग्रता लिएर हौसिएको नेपाली कांग्रेस अहिले एमालेले अग्रता लिन थालेपछि केही हतास जस्तै देखिएको छ । के इटहरीमा अब कांग्रेसको अग्रता फर्किएला ? केही तथ्य हेर्दा कांग्रेसको ‘कमब्याक’ निकै चुनौतीपूर्ण छ ।

इटहरीमा मतगणना सुरु हुँदै गर्दा नेपाली कांग्रेसले अग्रता लिएको थियो । तर, यो अग्रता तीन दिनसम्म टिक्न सकेन । अहिले एमालेले अग्रता लिइरहेको छ ।

सुरुमा इटहरीको त्यस्तो ठाउँबाट मतगणना सुरु भएको थियो, जहाँ आजभन्दा २० वर्षअघि एमालेका मेयर उम्मेदवार द्वारिकालाल चौधरी गाविस अध्यक्ष बनेका थिए । तर, सोही ठाउँमा चौधरीको भोट कम आयो र वडामा पनि कांग्रेसले प्यानलै जित्यो ।

जस्तो कि इटहरीको एक नम्बर वडा भनेको आँपगाछी हाँसपोसा एरिया हो । हाँसपोसामा ०५४ सालमा गाविस अध्यक्ष बनेकै व्यक्ति अहिले नेकपा एमालेका तर्फबाट मेयरमा उठेका छन् ।

एमाले नेताहरुले तरहरा र हाँसपोसा क्षेत्रबाट चौधरीलाई अत्यधीक मत आउने अपेक्षा गरेका थिए । तर त्यहीँ नेपाली कांग्रेसले जित्यो । तालगंगा क्षेत्र रहेको २ नम्बर वडामा कांग्रेसले नै वडाध्यक्ष जित्यो । तर, २ नम्बर वडामा भने एमालेले झिनो अग्रता लियो ।

हाँसपोसाबाट मतगणना गरिरहँदा एमालेको सुरुवाती अवस्था केही निराशाजनक देखिए पनि साविक हाँसपोसासँगै जोडिएका १७, १९ र २० नम्बर वडाहरुमा भने एमालेकै अग्रता देखियो र यहीँदेखि एमालेले कांग्रेसलाई पछाडि पार्न थाल्यो ।

मतगणना हुन बाँकी वडाहरुको अवस्था

अब मत गणना हुने क्रममा रहेको ४ नम्बर वडा इटहरी नगरपालिकाको भवन भन्दा पछाडि पर्छ । त्यहाँ कांग्रेसका धेरै नेताहरुको बसोबास छ । कांग्रेस नेता राजीव ढुंगाना, वीरेन्द्र कार्की, विकास केसी, सुवास गौतम, दिलकुमारी राई र गीता श्रेष्ठ जस्ता कांग्रेसका जिल्ला नेताहरुका घर यही वडामा पर्छन् ।

तर, कांग्रेसका नेता धेरै भए पनि यो वडामा एमालेका मतदाता बढी रहेको अनुमान गरिएको छ । ट्राफिक कार्यालय अगाडिको भाग ५ नम्बर वडामा समेटिएको छ । यो वडामा सुकुम्बासीहरुको पनि बसोबास छ । यहाँ एमालेको प्रभाव बढी रहेको विश्लेषण हुँदै आएको छ ।

त्यसैगरी वडा नम्बर ६ अन्तरगत रहेको इटहरीको मुख्य बजारमा व्यापारीहरुको बाहुल्य छ । कांग्रेसका उम्मदेवार रोहित प्रसाई पनि उद्योग वाणिज्य संघको नेता भएका कारण यस वडाका व्यापारीहरुको मत उनलाई परेको विश्वास कांग्रेस नेताहरुले लिउका छन् ।

वडा नम्बर ७ खनार जाने बाटोमा पचरुखी मुनिको बज्राहा एरियामा पर्छ । कांग्रेस र एमाले दुबै दलले यहाँ आ–आफ्नो प्रभाव रहेको दाब गर्दै आएका छन् । एमालेलाई अन्य वडामा सामना गर्न कांग्रेसले यहाँबाट आफूलाई बढी मत आउनुपर्ने सोचेको छ । त्यसैगरी बजार क्षेत्र भित्रै पर्ने वडा नम्बर ८ बाट पनि कांग्रेसले आफूलाई बढी मत आउने विश्लेषण गरेको छ ।

बजारक्षेत्रभित्र पर्ने इटहरी बसपार्क एरियालाई वडा नम्बर ९ ले समेटेको छ । यहाँबाट पनि कांग्रेस र एमालेवीच समानान्तर मत खस्ने अनुमान गरिएको छ ।

इटहरी नगरपालिकाका वडा नं १०, ११, १२ र १३ नम्बर वडाहरु मधेसी र थारु बाहुल्य मानिन्छन् । खनार एरियाबाट अरुण चौधरी उम्मदेवार बनेका कारण यहाँको केही मत चौधरीलाई जान सक्छ ।

साविकको खनार गाविसबाट आफूलाई राम्रो मत आउने एमालेको आशा छ भने कांग्रेस नेताहरु यहाँबाट एमालेलाई कम मत जाने दाबी गर्छन् ।

तर, यी वडाहरुबाट राप्रपाका नेता नरेन्द्र चौधरीले कांग्रेस वा एमालेमध्ये कोप्रति बढी साहनुभूति देखाउँछन्, उसैले करिब ४/५ हजार भोट हात पारेको हुन सक्ने धेरैको विश्वास छ । र, एमाले उम्मेद्वार द्वारिक आफैं पनि थारु समुदायकै भएकाले यहाँको आदिबासी भोट एमालेलाई नै खसेको हुन सक्ने एमाले नेताहरुको अनुमान छ ।

इटहरीको वडा तहको विश्लेषणमा अर्को पनि रोचक पक्ष छ । त्यो के हो भने वडा नम्बर १४, १५ र १६ नम्बर वडा थारु बाहुल्य छन् । र, त्यहाँ एमालेको राम्रो प्रभाव छ । कांग्रेसले त्यहाँ आफ्नो राम्रो मत खसेको दाबि गरे पनि एमालेकै मत राम्रो खसेको हुन सक्ने स्थानीय विश्लेषकहरु बताउँछन् ।

यो सबै परिस्थितिलाई आकलन गर्दा इटहरीमा एमालेको अग्रतालाई रोक्ने सम्भावना कांग्रेससँग निकै कम देखिन्छ ।
तथापि करिब ४/५ हजार चलायमान भोट कता सोझिएको भन्ने विषयले कांग्रेसलाई आशा गर्ने ठाउँ छोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment