Comments Add Comment

प्रहरी बढुवामा गृहमन्त्रीको स्पष्टीकरणः अन्याय गर्ने नियत छैन

१ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले शनिबार भएको एआईजी, डिआईजी र एसएसपी पदको बढुवामा नियतबस कसैलाई अन्याय नगरिएको बताएका छन् । बढुवा सिफारिस गर्दा कतिपय मर्कामा परेको जानकारी आफूलाई प्राप्त भएको भन्दै उनले तर, यो प्रहरी संगठनको हितमा भएको दाबी गरे ।

आइतबार ५९ औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले अन्यायमा परेकालाई पछि सम्बोधन गर्ने बताए ।

शनिबार नेपाल प्रहरीको बढुवा सूची सार्बजनिक भएको थियो जसमा केही कनिष्ठ अधिकारीहरु पनि बढुवामा परेको र वरिष्ठ छुटेको भन्दै असन्तुष्टि छ । त्यसतर्फ संकेत गर्दै मन्त्री शर्माले भने, ‘ब्यक्तिलाई अन्याय परेको होला, नियतबस अन्याय गरेको छैन, समस्या र परिस्थितिले सबै ब्यक्ति सीमित कोटामा पर्न सकेनन् ।’

उनले प्रहरी संगठनलाई भने संस्थागत रुपमा बढुवाले न्याय गरेको दाबी गरे । ‘रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको छ,’ उनले भने, ‘कसैलाई मर्का परेको होला फेरि पनि सम्बोधन गरौंला ।’

प्रोपोगान्डा बन्द गर्न निर्देशन

नेपाल प्रहरीको कम्युटर शाखा र सञ्चार शाखालाई समन्वयन गर्न सकिने उल्लेख गर्दै उनले त्यसका लागि योजना ल्याउन उनले निर्देशन दिए । जनतालाई सूचना दिने नाममा प्रहरीका उपल्ला तहका अधिकारीहरुले गर्ने प्रोपोगान्डा तर्फ संकेत गर्दै उनले त्यस्ता काम बन्द गर्न निर्देशन दिए ।

‘प्रहरीमा कम्युटर र सञ्चार बाहेक अर्को एउटा शाखा छ, हरेकका उपल्लास्तरका प्रहरीले सञ्चालन गर्ने प्रोपोगान्डा शाखा,’ उनले भने, ‘त्यो शाखा बाहिर छ हरेकका आफ्ना अफिस र कर्मचारी छन्, त्यो शाखा बन्द गर्नुस् चलाउन पाईंदैन ।’

जनतालाई आवश्यक सूचना प्रहरी प्रधान कार्यालयबाट तत्काल दिन निर्देशन दिँदै उनले भने, ‘सूचना दिने भनेको जनतालाई हो, पत्रकार माध्यम मात्र हुन् तर हामीले सूचना दिने भनेपछि पत्रकार मात्र बुझेका छौं ।’

प्रहरी संगठनका हरेकको दिमाग सरुवा र बढुवामा बढी चासो हुने भएकाले समस्या सिर्जना हुने गरेको उनले बताए । उनले प्रहरी तालिम केन्द्रले अनुसन्धानको क्षेत्रमा पनि काम गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘प्रहरी एकेडेमीले तालिम गराउने बाहेक अनुसन्धानको काम पनि गर्नुपर्छ, अनुसन्धानको कार्यशाला सञ्चालन गर्नुपर्छ, तालिम मात्र गरेर हुँदैन ।’

धेरै जवान र अधिकृतबाट भइरहेको काम एउटा प्रविधिले मात्रै पनि गर्न सक्ने अवस्था आएको उल्लेख गर्दै उनले संगठनको स्वरुप बदल्नुपर्ने आवश्यक औंल्याए ।

‘आज हामीलाई प्रविधियुक्त स्मार्ट पुलिसीङ आवश्यक छ,’ उनले भने, ‘अहिले प्रविधि प्रयोगको सामान्य अवस्थामा तत्कालै हामीलाई प्रविधियुक्त प्रहरी बनाउनु पर्ने छ ।’

उनले अघि भने, ‘जनताको प्रत्यक्ष पहुँचमा हामी पुग्नका लागि प्रविधि मुख्य कुरा हो, हाम्रो ब्यवसायिकता र पादरर्शीतालाई प्रविधीले नै सुदृढ बनाउँछ ।’

प्रहरीका संगठनका लागि थप ऐन कानुन आवश्यकता रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सुरक्षाको सन्दर्भमा नयाँ ढंगले परिभाषित र परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment