Comments Add Comment

काठमाडौं महानगरले खोल्यो सशुल्क पार्किङ, घण्टाको २ सयसम्म उठाइने

१ साउन, काठमाडौं । काठमाडौंका सडक आसपास निःशुल्क पार्किङ गर्ने दिन अब सकिएको छ । काठमाडौं महानगरपालिकाले शनिबार पारित गरेको आर्थिक ऐन- ०७४ ले काठमाडौं महानगरभित्र सशुल्क पार्किङ गर्ने ब्यवस्था गरेको छ ।

अब एेनअनुसार महानगरले सशुल्क पार्किङ थालेपछि एउटा सवारीले एक घण्टासम्म पार्किङ गर्दा घण्टाको १५ देखि २ सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आउनेछ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएवापत सवारी साधन पार्किङ शुल्क लगाई असुल उपर गरिने ब्यवस्था ऐनले गरेको छ ।

साथै पार्किङ व्यवसाय सञ्चालन गर्ने ब्यक्ति वा संस्थाले काठमाडौं महानगरपालिकाबाट पूर्व अनुमति लिएको हुनुपर्ने गरी ब्यवस्था गरिएको छ ।

अब क्षेत्रगत आधारमा सडकमा स्पष्ट रेखांकन गरेर प्रवेश र बर्हिगमन फरक-फरक हुने गरी कुनैपनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी पार्किङ गर्ने काठमाडौं महानगरपालिकाको ऐनमा उल्लेख छ ।

यसका लागि सकेसम्म आधुनिक प्रविधि प्रयागमा ल्याउने गरी आफै वा निजी क्षेत्रबाट सवारी पार्किङ व्यवस्थापन गर्न सक्ने ब्यवस्था ऐनमा छ । पार्किङका लागि महानगरलाई ३ क्षेत्रमा विभाजन गरेर शुल्क तय गरिएको छ ।

१ नम्बर क्षेत्रमा टेकुपुल उत्तरतर्फ सोह्रखुट्टे, नयाँ बजार, गोंगबु, सामाखुसी, धापासी , महाराजगञ्ज चोक हुँदै चप्पल कारखानासम्मको सार्वजनिक बाटो राखिएको छ ।

यसका एक घण्टा दुई पांग्रे सवारी पार्किङ गर्दा प्रतिघण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ, ६ पांग्रे वा सो भन्दा ठूलाका लागि प्रतिघण्टा १२० रुपैयाँ तय गरिएको छ ।

२ नम्बर क्षेत्रमा न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगाएतका भित्रि शहरी क्षेत्र -त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लौनचौर, सोह्रखुट्टे, विष्णुमती लिंक रोड, टेकु हुँदै त्रिपुरेश्वरसम्म समेटिएको छ ।

दुई नम्बर क्षेत्रमा पार्किङ गर्दा दुई पांग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ५० रुपैयाँ र छ पांग्रे वा सो भन्दा ठूलाका लागि प्रतिघण्टा २०० रुपैयाँ तय गरिएको छ ।

क्षेत्र नम्बर ३ को रुपमा विजुली बजार पुल पूर्व मनोहरा पुल, पेप्सिकोलासम्म, पुतली सडक, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानोबानेश्वर, गौशाला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वर लगायत, सो आसपासका क्षेत्र, टेकु पुल पश्चिम बल्खु, कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सितापाइला, माछा पोखरी बालाजुसम्मका स्थानको सार्वजनिक बाटोलाई राखिएका छन् ।

यी क्षेत्रमा दुई पांग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र ६ पांग्रे वा सो भन्दा ठूलाका लागि १०० रुपैयाँ शुल्क तय गरिएको छ ।

सार्वजनिक जग्गामा सवारी पार्किङ व्यवसाय सञ्चालन गरेको भए लाग्ने व्यवसाय करमा पचास प्रतिशत छुट हुने ब्यवस्था पनि ऐनमा छ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने व्यवसायीलाई यो आर्थिक वर्षमा व्यवसाय कर सय प्रतिशत छुट हुनेछ । सवारी साधन पार्किङ गर्ने क्षेत्र र निषेध क्षेत्र नगर कार्यपालिकाले तोक्ने ब्यवस्था ऐनले गरेको छ ।

सूची हेर्नुस्, कहाँ- कति  पार्किङ शूल्क तोकियोे ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment