Comments Add Comment

म्याग्दीका द्वन्द्वपीडितलाई साढे चार करोड राहत वितरण

२ साउन, म्याग्दी । म्याग्दीका द्वन्द्वपीडितलाई रु साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत रु चार करोड ६५ लाख २१ हजार वितरण गरिएको हो ।

यसअघि विभिन्न चरणमा रु पाँच लाख राहत रकम बुझेका द्वन्द्वपीडितलाई यसपालि एकमुष्ट रु पाँच लाख थप गरेर १० लाख पुर्याएकाे प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी, द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई पनि डेढदेखि साढे दुई लाख रुपैयाँ थप रकम दिएर रु १० दश लाखको राहत प्याकेज पूरा गरिएको छ । सरकारले घोषणा गरेको एक दशकपछि द्वन्द्वपीडितले विभिन्न चरणमा पूरा राहत रकम पाएका हुन् । ८९ लाई पाँचपाँच लाख, चारलाई एक लाख ५० हजार र एकजनाको आफन्तलाई रु दुई लाख ५० हजार वितरण गरिएको छ ।

स्थानीय शान्ति समिति र प्रशासनको सिफारिसअनुसार द्वन्द्वकालमा विस्थापित भएका २९ जनाको नाममा रु २५ हजारका दरले बजेट आए पनि २१ जनाले मात्र रकम बुझेका छन् । चारजना विस्थापितले यसअघि नै राहत पाइसकेका थिए । बेपत्ताको सूचीमा रहेका बरञ्जाका भीमप्रसाद भट्टचनका आफन्त कोही पनि सम्र्पकमा नआएपछि वितरण हुन सकेन ।

यसैगरी, द्वन्द्वकालमा अङ्गभङ्ग भएका एक जनाले मासिक रु १२ हजार ४०० र चार जनाले छ हजार २०० का दरले जीवन निर्वाह भत्ता पाएका छन् । द्वन्द्वकालमा अभिभावक गुमाएका १८ वर्षमुनिका तीन जनाले मासिक रु पाँच हजारका दरले पूरै वर्ष र पछि सिफारिस भएका एक जनाले चार महिनाको सहयोग पाएका छन् । सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिएको प्रशासनका लेखापाल विष्णुप्रसाद पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment