Comments Add Comment

बाबुराम र उपेन्द्रवीचको पार्टी एकता अन्तिम चरणमा

नेतृत्व र नामः सहमति बन्दै, भत्किँदै

८ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरणको अन्तिम तयारी सुरु भएको छ । तर, पार्टीको नाम र नेतृत्वबारे टुंगो लागेको छैन । सहमतिको प्रयासमा दुई दलका शीर्षनेताहरु छलफलमा जुटेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले गत बैशाखमा नै पार्टी एकता गर्न चाहेको थियो । तर, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पार्टी एकताभन्दा मोर्चाबन्दीमा बढी जोड दियो । पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा समान चुनाव चिन्ह लिएर लडेका दुबै दलले अपेक्षाकृत मत नपाएपछि अहिले एकता प्रयासमा जुटेका छन् ।

अब असोज २ गते प्रदेश नम्बर २ मा हुने चुनावमा सकारात्मक प्रभाव पार्ने गरी चुनावअघि नै पार्टी एकता गर्ने दुबै पार्टीका नेताहरुको प्रयास छ । स्रोतले भन्यो, ‘नेताहरु छलफलमा हुनुहुन्छ, सहमति जुट्यो भने साउन १५ भित्रै एकता गरिसक्ने तयारी छ ।’

नेतत्व र नामः सहमति बन्दै, भत्किँदै

दुबै पार्टीका नेताहरुका अनुसार एकतापछि बन्ने पार्टीको नेतृत्व र नामबारे अझैसम्म सहमति भइसकेको छैन । यसबारे आज आइतबार सहमति जुट्ने अनुमान छ ।

नयाँ शक्तिका एक शीर्ष नेताले बताए अनुसार पछिल्लो पटक पार्टीको नाम नयाँ समाजवादी पार्टी नेपाल राख्ने लगभग सहमति देखिएको थियो । साथै बाबुराम भट्टराई राष्ट्रिय अध्यक्ष, उपेन्द्र यादव अध्यक्ष र अशोक राई सहअध्यक्ष बन्ने तय भएको थियो । तर, भट्टराई र उपेन्द्रमध्ये को कार्यकारी प्रमुख भन्ने टुंगिएको थिएन ।

तर, शनिबार भएको छलफलमा फोरम नेताहरु केही पछि हटेर आएको नयाँ शक्तिका एक नेताले बताए । उनका अनुसार फोरमका नेताहरुले पार्टीको नाम नयाँ संघीय समाजवादी फोरम नेपाल राख्नुपर्ने प्रस्ताव गरेका छन् । कार्यकारी अधिकारसहित पार्टी अध्यक्ष उपेन्द्र यादव हुने र डा. भट्टराई पार्टीको संयोजक बन्ने फोरमको प्रस्ताव छ ।

संघीय फोरमका एक नेताले भने नेतृत्वको मोडलबारे विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

बाबुरामलाई आफ्नै नेताको प्रश्नः थाक्नुभएको हो ?

पार्टी एकता अन्तिम चरणमा पुगेपछि डा. भट्टराईले शनिबार राजनीतिक समितिको बैठक बोलाएका थिए । जहाँ, धेरै नेता कार्यकर्ताले भट्टराईमाथि प्रश्न गरे । कतिसम्म भने केहीले भट्टराईलाई ‘थाक्नुभएको हो ? हो भन्ने भन्नुस्, हामी आफ्नो बाटो लाग्छौं’ समेत भनेका छन् ।

पहिलो र दोस्रो चरणको चुनावी परिणामले संघीय फोरमसँग एकता गर्दैमा केही नहुने देखाएको भन्दै नयाँँ शक्तिका नेताहरुले बरु प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई एजेण्डा बनाउने र यसमा सहमत हुने दलहरुको मोर्चा बनाउने प्रस्ताव राखेका छन् ।

बाबुराम एकताका लागि आतुर

पार्टीका प्रमुख नेताहरु एकतालाई तिएर धेरै उत्साहित नभए पनि डा. बाबुराम भट्टराई स्वयं भने एकताका पक्षमा उभिएका छन् । मधेसी समुदायसँग एकता गरेर मात्र राष्ट्रिय एकता बलियो बनाउन सकिने, अन्यथा देश विखण्डनमा जाने उनको विश्लेषण छ ।

स्थानीय चुनावमा अपेक्षाकृत परिणाम नआएकाले पनि भट्टराई संघीय फोरमसँग पार्टी एकता गर्न हतारिएको नेताहरुले बताएका छन् । नयाँ शक्तिका एक नेताले भने, ‘हाम्रो मत जे भए पनि बाबुरामजी जेजे त्यागेर भए पनि एकता गर्ने पक्षमा हुनुहुन्छ ।’

संघीय समाजवादी फोरमसँग सहमति जुट्ने आशमा भट्टराईले भोलि र पर्सि केन्द्रीय कमिटी र त्यसपछि दुई दिन केन्द्रीय परिषदको बैठक समेत बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment