Comments Add Comment

एक भोटले जितेका हर्कवहादुरको हर्ष

९ साउन, डोटी । ठीक २० दिनअघि ३४ वर्षीय हर्कवहादुर साउद एक मतको अन्तरले गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । तर, पराजित भीमवहादुर साउदले उच्च अदालतमा चुनौति दिए । आइतबार दिपायलस्थित उच्च अदालतले हर्कवहादुरलाई नै जिताइदिएपछि अछाम चौरपाटी गाउँपालिकामा हर्कवहादुरको दोहोरो विजय भयो ।

उच्च अदालतले पनि आफ्नो जितलाई सदर गरेपछि हर्कवहादुरले हषिर्त हुँदै भने, ‘मलाई जनताले मायाँ गरेका हुन् । जनअदालतको फैसलालाई उच्च अदालतलेपनि सदर गरेको छ । जनताले मप्रति गरेको यो माया र बिश्वास म टुट्न दिने छैन ।’

साउँद स्थानीय तह पुनर्संरचनापछि हालको चौरपाटी गाउँपालिका-१ निवासी भए । २०६२ सालतिर एमालेको राजनीतिक सुरु गरेका साउँदले गाउँ कमिटी उपसचिव पनि हुन् ।

एक मतको भाग्य फैसला

असार १४ गते सम्पन्न निर्वाचनमा एमालेको तर्फवाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार साउँद एक मतान्तरले बिजयी घोषित भए । उनले तीन हजार एक सय ३८ मत प्राप्त गरेपछि उनलाई निर्वाचन अधिकृतको कार्यालयले बिजयी घोषणा गर्‍यो ।

उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार भीमबहादुर साउँदले ३ हजार १३७ मत प्राप्त गरेका थिए । एक मतको अग्रताले मात्रै गाउँपालिकाको अध्यक्ष बनेका हर्कबहादुरबिरुद्ध अदालतमा उजुरी पर्‍यो । मतगणक तथा निर्वाचन अधिकृतको मिलेमतोमा आफूले पाएको मत घटाई एमाले उम्मेदवारलाई विजयी गराएको आरोप सहित भीमबहादुरले पुनः मतगणनाका लागि आदेश दिन माग गरेका थिए ।

असार २३ गते न्यायालयले हर्कबहादुरलाई गाउँपालिकाको अध्यक्ष भएर कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गर्दा उनको पार्टी डराएको थियो ।

तर, हर्कबहादुर आफू भने जनताको पक्षमा फैसाला हुने कुरामा ढुक्क थिए । भयो पनि त्यस्तै । आइतबार न्यायाधीशद्वय चित्रदेव जोशी र शेखरचन्द्र आचार्यको संयुक्त इजलासले उजुरी नै खारेज गरिदियो । अव हर्कबहादुर नै गाउँपालिका अध्यक्ष भए ।

अनलाइनखबरसँग कुरा गर्दै हर्कबहादुरले भने, मेरो काँधमा जनताले जसरी जिम्मेवारी दिएका छन्, त्यो जिम्मेवारी म पुरा गर्छु । जनभावना बिपरित म कुनै काम गर्नेछैन ।’

सडक, बिद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका क्षेत्र भएको उनले बताए । उनी भन्छन् ‘यी पाँच आधारभुत कुराहरु चौरपाटीका अहिलेका आवश्यकता हुन्, त्यसमध्ये पनि तत्काल सडक र बिद्युत मेरो प्राथमिकताका बिषय हुन् ।’

उनी सोमबारै पदभार ग्रहण गर्ने तयारीमा छन् । पदभार ग्रहणपछि करीव एक हप्ता जनतालाई धन्यवाद दिन गाउँतिर जाने उनको योजना छ । त्यसपछि उनी स्थानीय बुद्धिजीवी, समाज सेवी राजनीतिक दलका नेता/कार्यकर्ताहरु, सञ्चारकर्मीहरु सवैसँग बसेर गाउँपालिकाका लागि आवश्यक नियम कानुनहरु बनाउने तयारीमा छन् ।

हर्कवहादुरले भने, ‘गाउँपालिकाको समग्र बिकासका लागि म सबै दलहरुलाई साथमा लिएर अघि बढ्नेछु । एक मत कम पाएर चुनाव हारेका प्रतिपक्षीलाई अझ सम्मान गर्नेछु ।’

मेरो कर्मले ठग्योः भीमवहादुर

उता एक मतले पराजित कांग्रेस उम्मेदवार भीमवहादुर साउदले भने आफूलाई कर्मले ठगेको प्रतिक्रिया दिएका छन् । उनले भने-मेरो कर्मले ठग्यो । भाग्यमै यस्तो रहेछ । कसैलाई दोष दिन चाहान्न । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment