Comments Add Comment

दोस्रोपटक भोट हालेपछि मतदाताले भने: हाम्रो मत खेर नजाओस्

२० साउन, चितवन । भरतपुर-१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आइन् । उनी आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भनिन् ‘दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।’

एक हप्तापछि रोपाइँ भएकाले उनी फुर्सदमै छिन् । अन्य रोपाइँ भएकाहरु पनि फुर्सद मिलाएर आएको बताएका छन् । ‘जे नहुनु भै त हाल्यो, के भन्नु र, हामीलाई सुविधा चाहियो, त्यही हो, लीलाले भनिन् ।

बिहानैदेखि परेको पानीका कारण बिहान ७ बजे निकै कम मतदाता मतदानस्थलमा देखिए पनि क्रमशः बढ्दै गएर उत्साह देखिएको हो ।

५३ वर्षीया सन्तमायाँ गुरुङले पनि दोस्रोपटक भोट हालिन् । ‘खुसी छु, किन दुःखी हुनुपर्यो र अब, गुरुङले भनिन्, “राम्रो होस्, राम्रो गर्नु, विकास गर्नु, त्यही हो मेरो भन्नु ।”

उनले ले जितेर गएपछि वास्तै नगर्ने नेताहरुको बानी रहेको भन्दै दुःखेसो गरिन् ।

अहिलेसम्म अन्योलमा बस्नुपरेकाले दुःख लागेको भन्दै मतदाताले निकास हुन्छ र विकासले फड्को मार्छ भनेर भोट हाल्न आएको बताइन् ।

बिहानभरि पानी परे पनि ९ बजेपछि भने केही रोकिएको थियो । मतदानस्थलमा विभिन्न क्षेत्रका पर्यवेक्षकको उपस्थिति बाक्लै रहेको छ ।

भरतपुर-१९ का ८३ वर्षका धनमान गुरुङ पनि मतदान गरे । छोरा सुर्जबहादुर गुरुङले उनलाई बोकेर ल्याएका थिए । युवादेखि वृद्धवृद्धासम्म भोट हाल्न आएका थिए ।

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोका कारण पनि यहाँका मतदाता प्रभावित भएका छन् । काठमाडौं, पोखरालगायतका स्थानबाट मतदान गर्न आएका धेरै मतदाता मुग्लिनमा नै रोकिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले काठमाडौँबाट दुईवटा माइक्रोबसमा आएका मतदाता पहिरोका कारण मुग्लिनमा नै रोकिएको जानकारी दिए ।

नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले कामको व्यस्तता, झरी र हिलो पार गर्दै उत्साहजनकरुपमा मतदान गर्न सर्वसाधारण आइरहेको बताउँदै यो उत्साह राम्रो भएको बताए ।

माओवादी केन्द्रका तर्फबाट भरतपुरको प्रमुख पदका उम्मेदवार रेणु दाहालले दोस्रोपटक पुनः मतदान हुँदा पनि मतदाता उत्साहजनकरुपमा मतदानमा सहभागी भएको बताउनुभयो । घरायसी कामको दबाब र मौसमको प्रतिकूलतालाई चिर्दै सर्वसाधारण मतदानमा भाग लिएको उहाँको भनाइ छ ।

मतदानस्थलको एकसय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापा बताए ।

भरतपुर-१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ । किरण मावि किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कूल तीन हजार ७९७ मतदाता छन् ।

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर-१९ को विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गरपछि मतदानको बाटो खुलेको हो ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment