Comments Add Comment

प्यूठानका बाढीपहिरो पीडितले एक वर्षपछि घर पाए

झण्डै ५७ लाखको लागतमा ५० घर निर्माण

२२ साउन, प्यूठान । गतवर्ष बाढिपहिरोले घर विहीन भएका प्यूठानका प्रकोपपीडित परिवारका लागि आवास निर्माण गरिएको छ । एक वर्ष त्रिपाल मुनि विताएका पीडितहरु नयाँ घर पाएपछि राहत महशुस गरेका छन् ।

कारितास र फूलवारी एकीकृत ग्रामीण विकास संस्थाको साझेदारी, बाढिपहिरो उद्दार तथा पुर्नः निर्माण कार्यक्रम अन्तरगत ५० वटा भवन निर्माण गरिएको हो । नौबहिनी गाउँपालिका फोप्लीमा ४० र खवाङमा १० घर निर्माण गरिएको हो ।

फोप्लीमा ३३ र खवाङमा ८ घर निर्माण सम्पन्न भएका छन् भने बाँकी घर निर्माणाधीन अवस्थामा छन् ।

स्थानीय श्रोत, साधन र सीपको अधिकतम प्रयोग गरी न्यून लागतमा तीन कोठे भवन र शौचालय निर्माण गरिएको हो । परियोजनाले गैरस्थानीय सामाग्री सहयोग गरेको हो । घर निर्माणमा स्थानीय सामुदायिक वनले काठ सहयोग गरेको छ । प्रत्येक घर निर्माणका लागि १ लाख १३ हजार ३४९ रुपैयाँ लागेको छ ।

‘जमिनहरु ध्वजा ध्वजा परेकोले उपयुक्त जग्गा छनौटमै चुनौती देखियो ।’, फूलवारी एकीकृत ग्रामिण विकास संस्थाका अध्यक्ष लोकबहादुर बस्नेतले भने, ‘साविक गाविसले सार्वजनिक जग्गा दिएर एकीकृत बस्ती निर्माण पीडितहरु मन्जुर नहुँदा निर्माणमा ढिलाई भएको हो ।’

घर निर्माणले राहत महसुस भए पनि आयआर्जनका लागि जीविकोपार्जनको सहयोग गर्नुपर्ने पीडितहरुले बताएका छन् । पहिरोले घरमा भएका सबै अन्नबाली, सम्पत्ति, पशुचौपाया समेत बगाएकोले जीविकोपार्जनमा समस्या भएको स्थानीय खिमबहादुर रोकाले बताए ।

बाढीपहिरो पीडितहरुको पुनःस्थापनाका लागि राज्यबाट उचित सहयोग नपाएको स्थानीयवासीले गुनासो गरेका छन् । तत्कालीन अवस्थामा राहत वापतको सहयोग रकम बाहेक अन्य कुनै पहल नभएको उनीहरुको दुखेको छ ।

गतवर्ष प्यूठानमा बाढीपहिरोमा परि ५१ जनाको मृत्यु भएको थियो । २२१ घर पूर्ण रुपमा र ९३२ घर आशिंक क्षति भएको जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment