Comments Add Comment

पूर्ण र सोनीलाई आईटीएफ वर्ष खेलाडी अवार्ड

२२ साउन, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्ना दुई खेलाडीलाई आईटीएफ वर्ष खेलाडी- २०७३ अवार्डबाट सम्मान गरेको छ ।

पुरुषमा त्रिभूवन आर्मी क्लबका पूर्णबहादुर मगर तथा महिलामा भक्तपुरकी सोनी खड्कालाई नगदसहित वर्ष खेलाडी अवार्डबाट सम्मान गरिएको हो । दुवैले गत वर्ष सातौं राष्ट्रिय खेलकुद र महासंघले आयोजना गरेको दुई राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका थिए ।

यस्तै घमबहादुर थापालाई उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मान गरियो भने सक्रिएताका आधारमा नवलपरासी जिल्ला आईटीएफ संघलाई उत्कृष्ट संघ घोषणा गर्दै पुरस्कृत गरियो । सम्मानित चारैले समान ५-५ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । जिल्ला संघको तर्फबाट अध्यक्ष ऋतमान मगरले पुरस्कार थापे ।

सातौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चल टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका घमले टोलीलाई दोश्रो स्थान दिलाउन सफल भएका थिए । घमले संघले आयोजना गरेको नगद पुरस्कार राशीको प्रोफेसनल प्रतियोगितामा उपाधि जितेका दिनेश बुढालाई प्रशिक्षण दिएका थिए । उत्तर कोरियामा हुने विश्व च्याम्पियनसिपका लागि छनोट भएका दिनेशलाई हाल घमले नै प्रशिक्षण दिइरहेका छन् ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले उनीहरुलाई नगद र सम्मान पत्र प्रदान गरी त्रिपुरेश्वरस्थित वल्र्ड ट्रड सेन्टरमा महासंघको २० औं वाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरे ।

मृगौला रोगबाट पीडित आईटीएफका पूर्व खेलाडी एवं प्रशिक्षक सुरज थापालाई महासंघले ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो । त्यस्तै महासंघका उपाध्यक्ष कल्पदीप राईले पनि २० हजार नगद पुरस्कार सहयोग गरे भने घमले आफूले पाएको नगद पुरस्कार समेत सुरजलाई प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment