Comments Add Comment

नारायणीमा बहाव बढ्दो, सशस्त्रलाई नेपाल प्रहरीको भवनमा सारियो

नवलपरासी जिल्लामा 'हाई अलर्ट'

२९ साउन, नवलपरासी । नारायणी नदीमा पानीको बहाव बढेर आसपासको बस्तीसम्म पुगेको छ । नारायणी पारीको सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी पोष्टमा समेत पानी पसेपछि नजिकै रहेको नेपाल प्रहरीको भवनमा सारिएको छ ।

सुस्ता क्षेत्रमा साढे ३ सय घर परिवार छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । सदरमुकाम परासीस्थित नेपाली सेनाको ब्यारेक पनि डुबानमा परेको छ ।

यसैगरी मध्यविन्दु नगरपालिका वडा नम्बर १६ र ६ का करिब एक सय ५० घर डुबानमा परेका छन् । त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ । स्थानीय खहरे खोलाको बहाव नारायणी नदीको बहाव बढेर रोकिएपछि चिसापानीलगायत क्षेत्रका बस्ती डुबानमा परेको प्रजिअ रानाले जानकारी दिए ।

अबिरल वर्षाका कारण नवलपरासी र चितवनका अधिकांश शिक्षण संस्था बन्द गरिएको छ ।

जिल्लामा हाई अलर्ट

रानाका अनुसार जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको छ भने सुरक्षाकर्मीहरुलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ ।

पानी पर्ने क्रम जारी रहेकाले नारायणी नदीमा पानीको सतह बढ्दो क्रममा छ । तर, आइतबार अपरान्ह सवा पाँच बजेसम्म खतराको लेभल नाघिसकेको छैन ।

‘चितवनको नारायणगढस्थित नारायणी नदीमा राखिएको बाढी मापन यन्त्रले खतराले लेभल अहिले नाघेको देखाएको त छैन तर स्थानीयबासीले गत वर्षको भन्दा बढी हो भनिरहनु भएको छ,’ नारायणी क्षेत्रमै रहेका प्रजिअ रानाले भने, ‘पानीको सतह बढ्दै गएकाले सतर्कता पनि अपनाइएको छ ।’

नारायणगढस्थित नारायणी नदीमा ७.३ वार्निङ लेभल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment