+
+
Shares

लगानी सम्मेलन : ३८ देशका ६ सय लगानीकर्ताको सहभागिता पक्का

रोयल आचार्य रोयल आचार्य
२०७५ चैत ८ गते १९:५८

८ चैत, काठमाडौं । अर्को साता हुने लगानी सम्मेलनमा ३८ मुलुकका ६ सय भन्दा बढी लगानीकर्ताले सहभागिता जनाउने भएका छन् ।

हालसम्म ६ सय ३० जनाको सहभागिता हुने पक्का भइसकेको लगानी बोर्डले जनाएको छ, जुन संख्या अझै बढ्न सक्छ ।

बोर्डले सम्मेलनका लागि ८ सयभन्दा बढी लगानीकर्तालाई निम्ता पठाएको थियो । बोर्डका एक उच्च अधिकारीले भने, ‘शुक्रबारसम्म ६ सय ३० जनाको तय भएको छ, सम्मेलन आउन अझै समय बाँकी रहेकाले यो संख्या थपिने छ ।’ यस्तै १६० जनाभन्दा बढी नेपाली लगानीकर्ता सहभागी हुनेछन् ।

सम्मेलनको चैत १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । लगानी बोर्डकाअनुसार उद्घाटन सत्रमा ८ जना वक्ता रहेछन् ।

सम्मेलनमा वक्ताको रुपमा भने ४० विदेशी हुनेछन् ।

कुन शत्रमा को–को वक्ता ?

१५ गते हुने उद्घाटन शत्रको अध्यक्षता प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष ओलीले गर्नेछन् ।

त्यसै दिन अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका यूनियन मन्त्री उ ताउन टून, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष शाहाद नासिम, दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोट र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी वक्ता छन् ।

प्लेनरी सत्र

उद्घाटन पश्चात विभिन्न समूह बनाएर लगानीसम्बन्धी छलफल गर्ने कार्यक्रम छ । यस सत्रमा नेपालमा लगानीका सम्भावनाका विषयमा प्रस्तुति राखिनेछ । बोर्डका अनुसार उद्घाटनपछि १५ गते नै हुने प्लेनरी सत्रमा ३ जना वक्ता छन्, जसको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नेछन् ।

अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका संस्थापक अध्यक्ष सुरज वैद्यले प्रस्तुति राख्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।

उद्घाटनका दिन उर्जासम्बन्धी अर्को प्यानलमा छलफल हुनेछ । आर्थिक रुपान्तरणका लागि उर्जा उत्पादन नाम दिइएको उक्त सत्रमा उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले सभाको अध्यक्षता गर्नेछन् ।

यसैगरी सूचना तथा सञ्चार प्रविधिलाई छुट्टै शत्रमा राखिएको छ । यस सत्रमा डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुनेछ । यसको अध्यक्षता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको गर्नेछन् ।

पर्यटन

अन्य सत्रहरुको अध्यक्षता मन्त्रीले गर्ने भए पनि पर्यटनसम्बन्धी लगानीका विषयमा छलफल हुने सत्रको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले गर्ने भएका छन् ।

औद्योगिक

औद्योगिक आधार निर्माण र रोजागारी सिर्जनाका लागि अर्को सत्र राखिएको छ । यसको अध्यक्षता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले गर्नेछन् ।

भौतिक पूर्वाधार

तेस्रो सत्रमा भौतिक, पूर्र्वाधार तथा यातायात क्षेत्रमा लगानीका विषयमा छलफल हुनेछ । यसको अध्यक्षता भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले गर्नेछन् ।

बोर्डका अनुसार यस शत्रमा मन्त्रालयकै सहसचिव गोपाल प्रसाद सिग्देल, पूर्वाधार विज्ञ एण्डरियस क्रेमर, विश्व बैंकका यातायात विज्ञ अर्नब बनयोपाध्या लगायतले प्रस्तुति हुनेछ ।

कृषि

अर्को शत्रमा कृषि र वनका विषयमा लगानी सम्बन्धी प्रस्तुति राखिने बोर्डले जनाएको छ । यसमा पनि विभागीय मन्त्री चक्रपाणि खनालले अध्यक्षता गर्नेछन् ।

मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्की, डाबर इण्डियाका विजनेश प्रमुख हरकिरात सिंह बेदी, विज्ञ राजीव गांधी, गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यान लगायको प्रस्तुति रहने बोर्डले जनाएको छ ।

नेपालमा लगानी गर्नेहरुको अनुभव आदान– प्रदान

नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुले आफ्नो अनुभव सुनाउने सत्र पनि लगानी सम्मेलनमा राखिएको छ । यस सत्रमा नेपालका तर्फबाट एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेनले विशेष मन्तव्य राख्ने बोर्डले जनाएको छ ।

यसगरी युनिलिभर नेपालका प्रबन्ध निर्देशक आशिष राई, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भणानी राणा, उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, उद्योगी नन्दलाल शर्मा, स्टाण्डर्ड चार्टड बैंकका भियतनामका सीईओ निरुक्ट साप्रु, गैरआवासीय नेपाल संघका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो लगायतले नेपालमा लगानीका विषयमा आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ ।

लगानी प्रबर्द्धनबारे अन्तर्राष्ट्रिय अनुभव

अन्तर्राष्ट्रिय स्तरका लगानी प्रबर्द्धन इकाईहरुले आफ्नो अनुभव बाड्ने कार्यक्रम समेत राखिएको छ । यस शत्रमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष हान्स पिटरले विशेष मन्तव्य राख्ने बोर्डले जनाएको छ ।

उनका साथै युएईका वैदेशिक व्यापार सहसचिव अब्दुल अल सालेह, इनभेष्ट इन्डियाका सीईओ दीपक बाग्लालगायतका चर्चित उद्योगी–व्यापारीहरुले आफ्नो अनुभव सुनाउने बोर्डले बताएको छ ।

पूर्वाधार विकासका लागि कसरी लगानी जुटाउने ?

पूर्वाधार विकासका लागि कसरी लगानी जुटाउने भन्ने विषयमा समेत छुट्टै छलफल हुने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस विषयमा छलफल गर्न मिगाका कार्यकारी प्रमुख केइको होण्डा, एआइआइबीका महानिर्देशक डोन ली, एलियान्ज इन्भेस्टमेन्टका उपाध्यक्ष एल्कि पाइफर, एफएमओको दक्षिण एशियाली उर्जा विभागका प्रमुख गिरत फिज्नत, ग्यारेन्टको कम्पनीका दक्षिण एशिया निर्देशक निशान्त कुमार, एक्जिम बैंक भारतका प्रमुख प्रबन्धक स्यामु अल जोसेफ र सिडिसीका स्रीनी नागराजनले आफ्नो विचार राख्नेछन् ।

समापन सत्र

१६ चैतको समापन सत्रमा पनि केही वक्ताहरु छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, स्काई पावरका अध्यक्ष एवं सीईओ क्रेरी एड्लर र ट्रकसेलका सीईओ कान लगायतले मन्तव्य राख्नेछन् ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?