
News Summary
Generated by OK AI. Editorially reviewed.- जुनकिरीको शरीर ५ देखि २५ मिलिमिटरसम्म हुन्छ र यसको पेटमा \'ल्यान्टर्न\' नामक प्रकाश उत्पन्न गर्ने अंग हुन्छ।
- जुनकिरीले प्रकाश रासायनिक प्रतिक्रियाबाट उत्पन्न गर्छन् र यसले प्रभावकारी ऊर्जा रूपान्तरण गर्दछ।
- यसको संख्या घट्दै गएको वैज्ञानिक अनुसन्धानले देखाएको छ।
साहित्य र संगीतमा अनेक बिम्ब बनाइन्छ, जुनकिरीलाई । जुनकिरीका गीत छन्, जुनकिरीका कथा छन्, जुनकिरीका किस्सा छन् । जुनकिरीमाथि यतिधेरै चर्चा हुनुमा यसको अद्भूत शारीरिक अवस्थिति पनि हो ।
जुनकिरीको पुच्छर ज्योतिमय हुन्छ, खासगरी रातको समयमा । त्यही नै यिनको विशेषता हो, पृथकता हो । आखिर जुनकिरीको पुच्छर किन बल्छ ?
जुनकिरी एक प्रकारको नरम शरीर भएको उड्ने कीरा हो । यिनीहरूको आकार सामान्यतया ५ देखि २५ मिलिमिटरसम्म हुन्छ । यिनको शरीर लाम्चो र नरम हुन्छ । पखेटाहरू कडा खोलले ढाकिएका हुन्छन् ।
पेटको तल्लो भागमा रहेको प्रकाश उत्पन्न गर्ने अंग जुनकिरीको विशेष विशेषता हो, जसलाई ‘ल्यान्टर्न’ भनिन्छ । यो प्रकाश सामान्यतया पँहेलो, हरियो वा हल्का नीलो रङको हुन्छ । हामी त्यसैलाई हेरेर दंग परिरहेका हुन्छौँ ।
जुनकिरीको यो प्रकाश जैविक प्रक्रियाबाट उत्पन्न हुन्छ । जसलाई विज्ञानले बायोलुमिनिसेन्स नाम दिएको हुन्छ । जुनकिरी सम्बन्धी यस्ता रोचक तथ्यहरू छन् ।
१. माखा होइनन् जुनकिरी
नाममा ‘फ्लाइ’ भए पनि जुनकिरीहरू माखा (झिंगा) वर्गमा पर्दैनन् । यिनीहरू कोलियोपेट्रा नामक कीराको वर्गअन्तर्गत ल्याम्पिरिडे परिवारमा पर्छन् । ल्याम्पिरिडे नाम ग्रीक शब्द ‘ल्याम्पिन’बाट आएको हो । जसको अर्थ ‘चम्कनु’ भन्ने हुन्छ । सामान्य शब्दमा जुनकिरीहरू नरम शरीर भएका पंखे झिँगे कीरा हुन् ।
२. रासायनिक प्रतिक्रियाका कारण प्रकाश
जुनकिरीको पेटमा लुसिफेरिन नामक एन्जाइम (एक प्रकारको रसायन) हुन्छ । जब यो अक्सिजन, क्याल्सियम र एडेनोसिन ट्राइफोस्फेटसँग मिसिन्छ, तब प्रकाश उत्पन्न हुन्छ । यो प्रक्रिया जुनकिरीको पेटमा रहेका अन्तिम दुई वा तीन खण्डहरूमा प्रकाश उत्पन्न हुन्छ ।
अचम्म के छ भने प्रकाश उत्पन्न हुने प्रक्रियालाई जुनकिरीले आफूअनुसार नियन्त्रण गर्न सक्छ । सामान्य शब्दमा भन्दा सास फेर्ने सिलसिलामा जुनकिरीले आफ्नो मांसपेशीमार्फत प्रकाश निकाल्ने वा रोक्ने गर्न सक्छ ।
३. अत्यन्तै प्रभावकारी प्रकाश
जुनकिरीको शरीरबाट निस्कने प्रकाश संसारको सबैभन्दा प्रभावकारी मध्येको एक हो । तिनीहरूको रासायनिक प्रक्रियाबाट आएको उर्जा लगभग पूरै प्रकाशमा बदलिन्छ । साधारण बिजुलीको बत्तीसँग तुलना गर्दा त्यसले केवल १० प्रतिशत उर्जामात्र प्रकाशमा रूपान्तरण गर्छ ।
बाँकी ९० प्रतिशत तातो भएर त्यतिकै खेर जान्छ । जुनकिरीको शरीर धेरै तातो भएमा बाँच्न सक्दैन । त्यसैले तिनीहरूले मैनबत्तीको तापभन्दा झन्डै ८० हजार गुणा कम मात्र ताप निकाल्ने गर्छन् ।
४. नचम्कने जुनकिरी
अन्टार्कटिका महादेशबाहेक जुनकिरीहरू संसारभर नै पाइन्छन् । हालसम्म यसका दुई हजार भन्दा धेरै प्रजाति पत्ता लागिसकेका छन् । अमेरिका र क्यानडामा मात्रै झन्डै १७० प्रजाति भेटिएका छन् ।
अमेरिकामा अधिकांश जुनकिरीहरू पूर्वी तटतिर पाइन्छन् । पश्चिमी तटमा पनि जुनकिरीहरू पाइन्छन् तर तिनीहरू सबै चम्कँदैनन् । क्यालिफोर्निया सेन्टर फर नेचुरल हिस्ट्रीका अनुसार अमेरिकाको पश्चिमी भेगतिर पाइने जुनकिरीहरू प्रायः बाल्यअवस्थामा मात्रै चम्किन्छन् ।
५. जोडीलाई आकर्षण गर्न प्रकाशको प्रयोग
हरेक जुनकिरीको प्रकाश निकाल्ने आफ्नै प्रकारको तरिका हुन्छ । पोथीलाई आकर्षित गर्न भाले जुनकिरीले त्यहीँ आफ्नो तरिकाको प्रयोग गर्ने गर्छ । पोथीले उत्तर फर्काउन कति समय लिन्छ र कस्तो प्रकाश निकाल्छ भन्ने हेरेर भालेले समागमका लागि उसको रुचि छ कि छैन बुझ्छ ।
तर केही पोथी जुनकिरीहरूले प्रकाश निकाल्ने नक्कली शैली प्रयोग गरी भालेलाई झुक्याउँछन् । भाले नजिक आए आक्रमण पनि गर्छन् ।
६. सामूहिक रूपमा चम्कने
एउटै समयमा चम्किने विशेष प्रकारका जुनकिरीहरू हेर्न हरेक गर्मीयाममा धेरै पर्यटकहरू ग्रेट स्मोकी माउन्टेन्स नेशनल पार्क जान्छन् । तिनलाई सिङ्क्रोनस जुनकिरी भनिन्छ।
यिनीहरू वरपरका अन्य जुनकिरीसँग मिलेर एउटै शैलीमा प्रकाश निकाल्ने गर्छन् । त्यसो गर्दा पूरै जंगल नै झिलिमिली देखिन्छ । तर यस्तो दृश्य दुई हप्ता जतिको प्रजनन् समयमा मात्र देखिन्छ ।
अहिलेसम्म वैज्ञानिकहरूले ती जुनकिरीहरू किन एउटै समयमा चम्कन्छन् भन्ने कुरा पत्ता लगाएका छैनन् । तर त्यहाँको तापक्रम र माटोको चिसोपना कारण हुन सक्ने अनुमान गरिएको छ ।
७. छोटो आयु
अण्डाबाट वयस्क बन्ने प्रक्रियामा जुनकिरीहरू एक वर्ष बाँच्न सक्छन् । त्यो समयमध्ये दुई महिना मात्रै उड्न र अण्डा पार्न सक्छन् । लार्भा (बाल्य अवस्था) मा हुँदा तिनीहरू जमिनमा लुकेर बस्छन् । त्यसपछि वयस्क भएर बाहिर निस्कन्छन् । एक पोथीले आफ्नो जीवनमा करिब ५०० अण्डा पार्न सक्छ । तर त्यसपछि पाँचदेखि ३० दिनभित्र मर्छन् ।
८. शिकारीका लागि बेस्वाद
जुनकिरीको रगतमा लुसिबुफाजिन्स भन्ने एक प्रकारको विशेष रसायन हुन्छ । यो रसायनको स्वाद निकै तितो हुन्छ । यसले शिकारी जनावरहरूबाट तिनीहरूलाई जोगाउन मद्दत गर्छ ।
जसले चमेरा, चरा, माकुरा, भ्यागुत्तो जस्ता शत्रु जीवलाई बेस्वाद लाग्ने गर्छ । एक अध्ययनका अनुसार जुनकिरी खाएपछि चमेरोले टाउको हल्लाउने, थुक्ने र फेरि नखाने भन्ने जस्ता प्रतिक्रिया देखाउँछन् ।
९. केही प्रजाति जलचर
धेरैजसो जुनकिरीका लार्भाहरू रुखमा वा जमिनमुनि बस्छन् । तर केही प्रजातिले पानीमा अण्डा पार्ने गर्छन् । यस्ता पानीमा बस्ने लार्भाहरूले हरियो प्रकाश निकाल्छन् । उनीहरू सरीसृपझैँ घिस्रने गर्छन् ।
सामान्यतया तिनीहरूले पानीमा पाइने स-साना कीरा खाएर बाँच्छन् । अलि पछि बिस्तारै जमिनतर्फ सर्दै जीवनको अर्को चरणमा प्रवेश गर्छन् । यस प्रकारका जुनकिरीहरू रूस, जापान र कोरियामा पाइन्छन् ।
१०. केही नखाएरै बाँच्ने
जुनकिरीका लार्भाहरूले सामान्यतया शंखेकीरा, गड्यौला जस्ता किराहरू खान्छन् । तिनीहरूले एक रसायन प्रयोग गरेर आफ्नो सिकारलाई नचल्ने बनाउँछन् र पगालेर खान्छन् । तर जब तिनीहरू वयस्क हुन्छन्, तब परागकण तगा फूलको रस खान थाल्छन् ।
कहिलेकाहीँ तिनीहरूले अन्य जुनकिरीहरूलाई नै खान्छन् । अथवा केही नखाएर पनि बाँच्न सक्छन् । यसको कारण भने बाल्य अवस्थामा नै उनीहरूले जीवनका लागि पर्याप्त पोषण संकलन गर्नु हो ।
११. संख्यामा कमी
विभिन्न अनुसन्धानहरूले पछिल्लो समयमा जुनकिरीहरूको संख्या घट्दै गएको देखाइरहेको छ । यसमा कीटनाशकको अधिक प्रयोग र वासस्थान अभावलाई प्रमुख कारण मानिएको छ ।
तर सबैभन्दा ठूलो समस्या भनेको प्रकाश प्रदूषण हो । किनकि रातको समयमा ज्यादा उज्यालो हुँदा जुनकिरीहरूले आफ्नो जोडी फेला पार्न सक्दैनन् । यसले स्वत: नयाँ जुनकिरीहरूको जन्म कम हुन्छ ।
प्रतिक्रिया 4