+
+
Shares

डा. रश्मी थापा, जसले आफ्नो कमाइ सडक कुकुरको स्याहारमा खर्चिन्छन्

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ असार २ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डाक्टर रश्मी थापा आफैंले सडक कुकुरहरूको उपचार केन्द्र खोल्ने निर्णय गरिन्।
  • उनीले ६ वर्षअघि ‘सहारा एनिमल सेल्टर’ स्थापना गरी जनावरहरूको उद्धार गर्न थालेकी छन्।
  • उनले आफ्नो आयको अधिकांश यस कार्यमा लगानी गरे पनि आर्थिक सहयोगको अभाव भोग्दै आएको बताइन्।

पेशाको हिसाबले चिकित्सक हुन्, रश्मी थापा । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ उनी दिनहुँ प्रजनन सम्बन्धी समस्या लिएर आउनेहरूको औषधि–उपचारमा व्यस्त हुने गर्छिन् । तर, उनको ‘ड्युटी’ यतिमा सीमित छैन ।

किनभने सामुदायिक कुकुरको रेखदेख, खानपानमा डा. थापाको खास लगाव छ । किन उनमा कुकुरप्रति प्रेमभाव जाग्यो ? सरसर्ती एउटा मर्मस्पशी कथा सुनौं । त्यस दिन डा. रश्मी थापा अस्पताल जाँदै थिइन् । कसैको गाडीले एउटा सडक कुकुरको सानो छाउरोलाई ठक्कर दिएछ । छाउरोको शरीरभरी रगत थियो । असह्य पीडाले छटपटाउँदै थियो ।

यस्तो दृश्यले रश्मीको मन रोयो । उनलाई यस्तै लाग्यो-तत्काल त्यो सानो छाउरोलाई उद्वार गर्न पाए, उपचार गर्न पाए बाँच्ने थियो होला । तर, त्यसक्षण उनीसँग यसको कुनै बन्दोवस्ती थिएन । न त तयारी नै ।

उनी अस्पताल पुगिन् । आफ्नो काममा लागिन् । घर फर्किइन् । तर, यसबीचमा उनलाई त्यही कुकुरको बच्चाको टिठलाग्दो अनुहारले झस्काइरह्यो । उनी नराम्ररी विथोलिइन् ।

अर्कोदिन त्यसरी नै अस्पताल जाँदै गर्दा उनको ध्यान सडक कुकुरहरूमा केन्द्रित भयो । उनले देखिन्, सडक कुकुरहरू कसैको पनि अवस्था राम्रो छैन । पक्षघात भएर सकीनसकी घिस्रिरहेको कुकुर देखेपछि उनी थप विचलित भइन् ।

अस्पताल र डेरा आउजाउ गरिरहँदा उनी यस्तै दृश्यसँग बारम्बार साक्षतकार गरिरहेकी हुन्थिन्, जसले उनलाई चैनले बस्नै दिँदैनथ्यो । यस्ता सडक कुकुरलाई हेरचाह गर्ने, स्यहारसुसार गर्ने, औषधिउपचार गर्ने कोही छैनन् ? उनले सोधीखोजी गरिन् । पूर्व अर्थात मोरङ, झापा, इलामतिर कुनै संस्था फेला पारिनन् ।

अन्ततः उनी आफैँले घाइते तथा बिरामी अवस्थामा रहेका सडक कुकुरको उपचार केन्द्र खोल्ने निधो गरिन् । कामको व्यस्तताबाट समय निकालेर उद्धार केन्द्र खोल्ने उनको निर्णय आफैँमा उदाहरणीय थियो ।

करिब ६ वर्षअघि केही स्वयंसेवकको सहयोगमा घाइते, बिरामी र बेसहारा कुकुरको उद्धारमा खटिइन् । दुई वर्ष जति कुकुरको उद्धार र उपचारमा खटिएपछि २०७८ मा उनले ‘सहारा एनिमल सेल्टर’ नामक संस्था खोलिन्। उनको तलबबाटै यो संस्था दर्ता भयो, र उनले आफ्नो आयको ८०–९० प्रतिशत यो कार्यमा लगानी गर्न थालिन् ।

नोबेल मेडिकल कलेजमा विद्यार्थीहरूलाई पढाउने, बिरामीको उपचार गर्ने र सेल्टर सञ्चालन गर्ने जिम्मेवारी एकसाथ निभाउनु सजिलो छैन । सुरुमा उनी बिहान ५ बजे रेस्क्यूमा गएर ९ बजे अस्पताल पुग्थिन् र साँझ ५ बजेपछि फेरि रेस्क्यूमा निस्कन्थिन् । हाल उनले स्टाफ र सिसी क्यामेरा राखेर कामलाई व्यवस्थित गरेकी छन् ।

आर्थिक रूपमा पनि यो यात्रा सहज छैन । उनको आयको अधिकांश हिस्सा सेल्टरमा खर्च हुन्छ र आर्थिक सहयोग निकै कम आउँछ । तराई क्षेत्रमा जनावर कल्याणका लागि दान दिने चलन कम भएकोले फन्डको अभावले धेरै योजना कार्यान्वयन गर्न कठिनाइ भएको उनी बताउँछिन्  ।

यो यात्रा उनको बाल्यकाल देखिकै जनावरप्रतिको मायाबाट प्रेरित छ । स्कुल पढ्दा पनि उनले सडकमा बिरामी जनावर देखेमा घर ल्याउने गर्थिन् । पढाइको व्यस्तताले यो भावना केही समय ओझेलमा परे पनि, नोबेलमा जोडिएपछि उनले सडक जनावरहरूको पीडा पुनः नजिकबाट देखिन् । उनी भन्छिन् , ‘जब तपाईँको मनले कुरा बुझ्छ, तब आँखाले त्यही देख्छ ।’

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?