+
+
Shares

एनओसी शाखा घुसको अखडा, विदेश जाने विद्यार्थीबाट १ लाखसम्म असुली 

घुस रकम देशअनुसार फरक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखामा कर्मचारीले विद्यार्थीबाट घुस असुल्ने गरेको खुलासा भएको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ असार २ गते २२:२०

२ असार, काठमाडौं । काभ्रेपलाञ्चोककी एक विद्यार्थीले ३० असोज २०८१ मा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखामा आवेदन दिइन् । उनले बिहान ११:२४ बजे दिएको आवेदन सोही दिन शाखाले रद्द गर्‍यो ।

चिकित्सा शिक्षा आयोगले दिने योग्यतापत्र (इलिजिब्लिटी लेटर) नभएकाले आवेदन रद्द भएको शाखाले उनलाई भन्यो ।

अनलाइनखबरले प्राप्त गरेको विवरण र पत्रमा शाखाका प्राविधिक सहायक वेदप्रकाश ओझाले उनको आवेदन रद्द गरेको देखिन्छ । त्यसपछि त्यहाँका कर्मचारीले उनीसँग सुरुमै ३० हजार घुस मागेर बार्गेनिङ सुरु गरे । ती विद्यार्थीले बेलायतको एक विश्वविद्यालयमा एमएस्सी (पब्लिक हेल्थ विथ प्रोफेसनल एक्सपेरियन्स) अध्ययन गर्न एनओसीका लागि आवेदन दिएकी थिइन् ।

मेडिकल विधामा अध्ययन गर्न विदेश जाने विद्यार्थीले चिकित्सा शिक्षा आयोगबाट योग्यतापत्र लिएपछि मात्र एनओसी लिन पाइन्छ । तर उनी जुन विश्वविद्यालयमा अध्ययन गर्न जाँदै थिइन्, त्यो विश्वविद्यालयको क्रेडिट आवर र नेपालको क्रेडिट आवर मिल्ने थिएन । त्यसैले उनले आयोगबाट योग्यतापत्र पाइनन् ।

चिकित्सा शिक्षा आयोगका अनुसार विद्यार्थी जुन विश्वविद्यालयमा जान लागेको हो, त्यो विश्वविद्यालयको क्रेडिट आवर र कोर्स नेपालका विश्वविद्यालयसँग मिल्ने हुनुपर्छ ।

‘योग्यता नपुगेकालाई आयोगले योग्यतापत्र दिँदैन,’ आयोगका एक कर्मचारीले भने, ‘योग्यता मिलेन भने फर्केर नेपाल आएपछि समकक्षता (इक्युभ्यालेन्ट) पनि हुँदैन ।’

तर, ती विद्यार्थीले एनओसीको लागि बारम्बार प्रयास गरिन् । ११ मंसिर २०८१ मा दोस्रो पटक उनले एनओसीका लागि शाखामा बिहान ११:४५ बजे आवेदन दिइन् । तर सोही दिन दिउँसो १:१७ बजे फेरि उनको आवेदन अस्वीकृत भयो ।

‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन लाइन लागेका विद्यार्थीहरू

दोस्रो पटक शाखाका कम्प्युटर अपरेटर शैलेन्द्र यादवबाट उनको आवेदन रद्द भयो । रद्द हुनुको कारण उही चिकित्सा शिक्षा आयोगको योग्यतापत्र नभएकाले हो । फेरि कर्मचारीले ती विद्यार्थीसँग पैसाको बार्गेनिङ गरे । यसपटक उनीसँग कर्मचारीले पहिलो पटकभन्दा दोब्बर ६० हजार रुपैयाँ घुस मागे । तर उनी घुस रकम दिन तयार भइनन् ।

सोही साता उनी अध्ययन गर्न जान चाहेको विश्वविद्यालयले भर्नाको प्रक्रिया अगाडि बढाउन भन्यो । एनओसी नभई उनको प्रक्रिया अगाडि नबढ्ने भयो ।

विद्यार्थीले आवश्यक कागजात पेस गर्न नसकेपछि प्रक्रियाविपरीत शाखाका कर्मचारी र कन्सल्टेन्सीको मिलेमतोमा नक्कली कागजातसमेत बनाएर पैसा असुली एनओसी दिने गरेको तथ्य फेला परेको छ ।

बिलखबन्दमा परेकी ती विद्यार्थीले तेस्रो पटक १९ मंसिर २०८१ मा एनओसीका लागि आवेदन दिइन् । यसपटक चिकित्सा शिक्षा आयोगको योग्यतापत्र बिना नै उनको आवेदन स्वीकृत भयो । उनले दिउँसोको २:०३ बजे दिएको आवेदन २:२४ बजे स्वीकृत भयो । कर्मचारीले सहजै उनको आवेदन स्वीकृत गरेको भने होइन । ५० हजार घुस रकमले उनको आवेदन स्वीकृत गर्‍यो ।

तेस्रो पटक आवेदनको रुजु कम्प्युटर अपरेटर शैलेन्द्र यादवबाट र प्रमाणित शाखा अधिकृत गणेश पुरीले गरेको अनलाइनखबरले प्राप्त गरेको पत्रमा देखिन्छ । यसरी एनओसी प्राप्त गरेको केही समयमै उनी बेलायत उडिन् । ‘तीन पटक नै कर्मचारीले घुस रकम मागे । अन्तिममा उता कलेजले बोलाएपछि मागेजति रकम दिएर एनओसी लिन बाध्य भयौं,’ विद्यार्थीका आफन्तले भने ।

देशअनुसार ३० हजारदेखि १ लाखमाथिसम्म

एनओसी शाखाका कर्मचारीले कम्प्युटरमा नक्कली योग्यतापत्र अपलोड गरेर समेत एनओसी दिने गरेको खुलेको छ । ‘नक्कली कागजात बनाउन शाखाका कर्मचारी र कन्सल्टेन्सीहरू मिल्ने गरेका छन् । कम्प्युटरमा नक्कली योग्यतापत्र पनि इन्ट्री गरिएको छ,’ उच्च स्रोतले भन्यो ।

वैदेशिक अध्ययनमा जान डलर सटहीका लागि पनि एनओसी अनिवार्य हुन्छ । विद्यार्थी विदेशमा के पढ्न जाँदैछन्, नेपालमा के पढेको हो, कुन संस्थामा जान लागेको हो, त्यो कानुनी प्रक्रिया पूरा गरेको संस्था हो/होइन, सबै हेरेर मात्र एनओसी दिनुपर्ने हो ।

एनओसी शाखाका कर्मचारीले विद्यार्थीबाट घुस रकम लिने गरेको विषयमा विभिन्न निकायमा उजुरी नपरेको होइन । तर उजुरीको आधारमा छानबिन गर्न पुगेको टोलीलाई नै कर्मचारीले विवरण नै हेरफेर गरेर देखाउने गरेको पाइएको छ ।

तर, कर्मचारीहरूले घुस लिएर एनओसी दिने गरेको पाइएको छ । यसरी गएका विद्यार्थीले नेपाल फर्किएपछि त्यो सर्टिफिकेटले मान्यता नपाउने जोखिम हुन्छ । तर पनि विद्यार्थीले घुस दिएर एनओसी लिने गरेका छन् ।

शाखाका कर्मचारीहरूले देशअनुसार फरकफरक घुस रकम लिने गरेको पाइएको छ । ‘३० हजारदेखि १ लाख माथिसम्म घुसको कारोबार हुन्छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपका देशको रेट महँगो छ,’ स्रोतले भन्यो, ‘बार्गेनिङ धेरै हुन्छ । विद्यार्थी हतारमा हुन्छन् । छिटो उड्नका लागि एनओसीमा मोटो रकम बुझाउँछन् ।’

यसरी घुस लिएर विद्यार्थीलाई एनओसी दिनु अपराधको पराकाष्ठा भएको प्राज्ञहरू बताउँछन् ।

‘यो त अति नै भयो । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन मेरै संयोजकत्वमा लेखेको हो । त्यो रिपोर्टले पनि आयोगको अनुमति बिना एनओसी दिन नहुने भनेको छ । ऐनमा पनि उल्लेख भएको छ । कानुनविपरीत घुस लिएर एनओसी दिनु त तस्करी हो,’ त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने तर्क उनको छ । देश छोड्दै गर्दा पनि विद्यार्थी ठगिँदैछन् ।

कर्मचारीको सेटिङ, सरुवा भएका कर्मचारीको अड्डा शाखामै

घुसको अड्डा बनेको एनओसी शाखाका कर्मचारी अन्यत्र सरुवा हुन पनि मान्दैनन् । सरुवा भएका कर्मचारीसमेत शाखामै अड्डा जमाएर बसेका छन् । तीमध्येका एक हुन्, प्राविधिक सहायक खड्गबहादुर हमाल । उनी गत भदौ २०८१ मा सरुवा भएका कर्मचारी हुन्, तर अड्डा छोड्न मानेका छैनन् ।

‘सरुवा भएका कर्मचारी शाखामा अड्डा जमाएर बसेका छन्,’ शिक्षा मन्त्रालय स्रोतले भन्यो, ‘फलानोले यहीँ काम गर्न भन्नुभएको छ भन्दै सुनाउने गरेका छन् ।’

कसको मौखिक आदेशमा सरुवा भएर पनि शाखामै बसेको ? भन्नेबारे उनले खुलाउन चाहेनन् । तर मन्त्रालयका उच्च तहको कर्मचारीको संरक्षण रहेको उनले दाबी गरे । ‘मन्त्रालयको उच्च तहको कर्मचारीको मौखिक आदेशमा अड्डा नछोडेका हुन्,’ स्रोतले भन्यो । एनओसी शाखाका एक कर्मचारीले अर्को कर्मचारीलाईसमेत फसाउने गरेको भेटिएको छ ।

‘केही कर्मचारीले अर्को कर्मचारी साथीको कम्प्युटरको पासवर्डसमेत पत्ता लगाएर त्यो कम्प्युटरबाट गैरकानुनी काम गर्ने गरेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने ।

एनओसी शाखाका कर्मचारीले विद्यार्थीबाट घुस रकम लिने गरेको विषयमा विभिन्न निकायमा उजुरी नपरेको होइन । तर उजुरीको आधारमा छानबिन गर्न पुगेको टोलीलाई नै कर्मचारीले विवरण नै हेरफेर गरेर देखाउने गरेको पाइएको छ ।

‘छानबिन गर्न गएको टोलीलाई कुराकानीमै भुलाएर कम्प्युटरमा अपलोड भएको विवरण नै हेरफेर गरेर देखाइएको छ,’ स्रोतले  भन्यो ।

एनओसी शाखामा बेथितिको चाङ

एनओसी प्राप्त गरिसकेपछि पुनः नयाँ एनओसी लिन आउँदा अघिल्लो एनओसी पत्र सक्कलै बुझाउनुपर्ने प्रावधान छ । तर धेरैजसो विद्यार्थीले नयाँ एनओसी लिन आउँदा अघिल्लो एनओसी पत्र नलिई आउने गरेका छन् । कर्मचारीले घुस रकम लिएर मिलाउने गरेको पाइएको छ ।

‘एनओसी प्राप्त गरिसकेपछि पुनः नयाँ एनओसी लिन आउँदा अघिल्लो एनओसी पत्र सक्कलै बुझाउनुपर्ने, पढेर आएको भए सो विषयको शैक्षिक प्रमाण–पत्र देखाउनुपर्ने, एनओसी लिएर पनि पढ्न नगएको तर बैंकमार्फत कलेजलाई रकम बुझाएको भए सो रकम रिफन्ड भएको बैंक स्टेटमेन्ट बुझाउनुपर्ने हुन्छ । तर हाल नयाँ एनओसी लिन आउँदा सो प्रावधानलाई नहेरी एनओसी दिने गरेको पाइएको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

एनओसी लिनका लागि विद्यार्थीले कोर्सको समय, कोर्स प्रारम्भ हुने मिति, माध्यम भाषा लगायतका विवरण खुलेको विश्वविद्यालयको अफर लेटर आवश्यक पर्छ । तर विवरण नखुलेका अफर लेटर बोकेर विद्यार्थी शाखामा पुग्छन् । स्रोतका अनुसार कर्मचारी र कन्सल्टेन्सी सञ्चालकको मिलेमतोमा नक्कली अफर लेटर बनाएर समेत एनओसी दिने गरेका छन् ।

‘अर्को अफर लेटर तत्काल १५ मिनेटभित्रै कसरी बन्छ ? कन्सल्टेन्सी र कर्मचारी मिलेर तत्काल नक्कली कागजात बनाउने र त्यसैको आधारमा एनओसी दिने गरिएको छ,’ ती अधिकारीले भने, ‘कतिपय देशमा एनओसी पाएपछि मात्र भाषा पास सर्टिफिकेट पाउने प्रावधान छ । तर एनओसी पाउनुअघि नै भाषा पास गरेको प्रमाणपत्र पेस गरेर एनओसी दिइन्छ ।’

एनओसीका लागि विद्यार्थीले आवेदन अनलाइनबाट दिने व्यवस्था गरिएको छ । ‘अनलाइनबाट सम्पूर्ण कागजात अपलोड गर्ने सिस्टम छ । अनलाइनमा आएको आवेदनलाई शाखाका कर्मचरीले रुजु गरेर सबै कागजात मिलेमा ठिक छ भनेर २ हजार रुपैयाँ शुल्क तिर्न म्यासेज पठाइन्छ,’ शाखाका एक कर्मचारीले भने, ‘पैसा तिरेपछि एनओसीको प्रमाणीकरण चाहिँ सक्कल कागजात हेरेर हुन्छ ।’

तर, शाखाका कर्मचारीले नियम उल्लंघन गरेर काम गर्ने गरेको पाइएको छ । शाखामा हाल ६ जना अधिकृत, प्राविधिक सहायक २ जना, कम्प्युटर अपरेटर २ जना र अस्थायी करारका कर्मचारी ३ जना छन् ।

मन्त्रालयको निगरानीमा शाखा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको हो, एनओसी शाखा । मन्त्रालय सिंहदरबारभित्र भएकाले विद्यार्थीको सहजताको लागि शाखा सानोठिमीमा राखिएको छ । शाखाको ढोका नखुल्दै विद्यार्थीहरू एनओसीको लागि लाइन लाग्न पुग्छन् । विद्यार्थीहरू कर्मचारीबाट आजित भएको गुनासो गर्छन् ।

एनओसीमा भइरहेका यी बेथितिबारे मन्त्रालयमा पनि गुनासो आइपुग्छ । तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । यद्यपि, गुनासाबारे शाखामा थप निगरानी बढाएको दाबी मन्त्रालयले गरेको छ ।

‘मन्त्रालयको उच्च शिक्षा महाशाखाले नियमित अनुगमन र निगरानी गरेको हुन्छ । महाशाखा अन्तर्गतको शाखा हो । सभा सम्मेलनमा जाँदा एनओसीमा भइरहेको समस्याबारे गुनासो आउने गरेको छ । कतिपय जटिल विषय पनि उठेको छ । शाखालाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

वैदेशिक अध्ययनको लागि वार्षिक १ लाख बढी एनओसी शाखाले जारी गर्ने गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १२ हजार ९६८ वटा एनओसी शाखाले जारी गरेको थियो । यही आर्थिक वर्षमा राष्ट्र बैंकका अनुसार उच्च शिक्षामा १ खर्ब २५ अर्ब बढी रकम बाहिरिएको छ ।

मन्त्रालयका अनुसार चालु अर्थिक वर्षको फागुनसम्म ९२ हजार ६४८ वटा एनओसी जारी भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ खर्ब १२ अर्ब ४४ करोड रकम बाहिरिएको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?