+
+
Shares

कोशीमा लगानी सम्मेलन : यी हुन् सरकारले प्रस्तुत गरेका ७१ परियोजना

कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटीलगायत क्षेत्रका ७१ परियोजना मध्ये दुई दर्जन परियोजना सञ्चालनका लागि सम्झौता गर्ने सरकारको तयारी छ । सम्मेलनमा प्रदेशमा सञ्चालन भइरहेका र सञ्चालनको तयारीमा रहेका केही परियोजना पनि समावेश गरिएको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ वैशाख १८ गते २१:५६

१८ वैशाख, विराटनगर । प्रदेश तहमा पहिलो पटक कोशी प्रदेश सरकारको आयोजनामा प्रदेश लगानी सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीको वातावरण पर्याप्त भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

प्रदेश सरकारले सम्मेलनमा ७१ वटा परियोजनालाई सोकेसमा प्रस्तुत गरेको छ । ति परियोजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड छ ।

कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटीलगायत क्षेत्रका ७१ परियोजना मध्ये दुई दर्जन परियोजना सञ्चालनका लागि सम्झौता गर्ने सरकारको तयारी छ । सम्मेलनमा प्रदेशमा सञ्चालन भइरहेका र सञ्चालनको तयारीमा रहेका केही परियोजना पनि समावेश गरिएको छ ।

सम्मेलनमा पर्यटनसम्बन्धी १५ वटा परियोजना राखिएको छ । कृषिका ९, पूर्वाधारतर्फ १४, उद्योगहरू ९ वटा, ऊर्जा क्षेत्रका ९ वटा योजना छन् । लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाका अनुसार दुई दर्जनभन्दा बढी परियोजनाको सम्झौता हुने चरणमा छन् ।

सम्मेलनको उद्घाटन सत्रमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेशमा लगानीको ढोका खुला गर्न सम्मेलन आयोजना गरिएको बताए । निजी क्षेत्रको सहजताका लागि ८ वटा ऐन अध्यादेश मार्फत संशोधन गरिएको उनले बताए ।

कसले के भने ?

विराटनगरको वीरेन्द्र सभागृह मर्मतपछि पहिलो पटक आयोजना गरिएको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न आग्रह गरे । प्रदेशमा लगानीका लागि आवश्यक पर्वाधार पर्याप्त रहेको र लगानीको बातावरण पनि भएकाले उनले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कोशी प्रदेशको लगानी सम्मेलनले समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्ने बताएका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगानी सम्मेलन आयोजना गरेर प्रदेश सरकारले देशमा नयाँ सन्देश दिएको बताए ।

गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष बद्री केसीले विदेशी मुलुकमा नागरिकको सम्मान सम्बन्धित देशको समृद्धिसँग जोडिएको बताउँदै देशको विकासका गैर आवासीय नेपालीले योगदान गर्ने बताए । प्रदेश लगानी सम्मलेन मार्फत गैर आवासयी नेपालीले पनि लगानी बढाउने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण बनेका कारण निर्धक्क भएर प्रदेशमा लगानी गर्न आग्रह गरे । उनले देशमा लगानीको नयाँ अवसर पनि सृजना भएको बताए ।

कोशी प्रदेश प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशमा हुने लगानीले देशको आर्थिक विकासको ढोका खोल्ने बताए । सरकार अभिछिन्न उत्तराधीकारी हुने बताउँदै उनले निजी क्षेत्रले गर्ने लगनीका विषयमा कुनै असहज परिस्थीति प्रदेशमा नुहने बताए ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, उद्धव थापा र राजेन्द्रकुमार राईले लगानी सम्मेलनले लगानीको अवसर सृजना गरेको बताए ।

पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेशमा सम्भावना पर्याप्त भएपनि कानुनी जटिलताका कारण केही कठिनाइ भएको भइरहेको बताए । पूर्वमुख्यमन्त्री उद्धव थापाले लगानी सम्मेलनले प्रदेशमा लगानीको आधार सृजना गर्ने बताए ।

सम्मेलनबाट लोकल मदिरा उत्पादनका लागि भित्रिने लगानीले प्रदेशको आर्थिक समृद्धिको आधार तयार गर्ने बताए । पूर्वमुख्यमन्त्री शेरधन राईले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको सपना साकार बनाउन लगानी सम्मेलनले योगदान गर्ने बताए ।

हेर्नुहोस् सरकारले प्रस्तुत गरेका ७१ परियोजना :

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?