Comments Add Comment

काठमाडौंका ठेकेदार भन्छन्- सडक भत्किनुमा सरकार दोषी !

'२५ करोड लाग्ने सडक १० करोडमा बनाउँदा यस्तै हुन्छ'

३० साउन, काठमाडौं । सिंहदरबार नजिकै हनुमान स्थानमा सोमबार भीडभाड थियो । नजिकै गएर हेर्दा त्यहाँ धमाधम भोट माग्ने काम भइरहेको पाइयो । कुरा बुझ्दै जाँदा काठमाडौंका निर्माण व्यवसायी अर्थात ठेकेदारहरुले नयाँ नेता छानिरहेका रहेछन् ।

उपत्यका सडक भत्केर हिलाम्ये भएका बेला यहाँका निर्माण व्यवसायीहरु भने चुनावी प्रतिस्पर्धामा गरिरहेका थिए । निर्माण व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि सोमबार दुईवटा प्यानल बनाएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका रहेछन् ।

अध्यक्षमा बालकृष्ण थापा र रामशरण पुडासैनीको दाबेदारी परेको रहेछ । थापा अहिले पनि महासंघको अध्यक्षमा नै कार्यरत छन् । उनले आफ्नो दोस्रो कार्याकालका लागि दाबेदारी पेश गरेका रहेछन् ।

हामीले भोट मागिरहेका निवर्तमान अध्यक्ष थापालाई भेट्यौं र काठमाडौंका सडकहरुको यस्तो हालत बनाउने तपाई ठेकेदारहरु हो कि हैन भनेर केरकार गर्ने प्रयास गर्‍यौं । जवाफमा उनले ठेकेदारको नभएर सरकारकै दोष देखाए ।

उपत्यकाका सडक अहिले अस्तव्यस्त अवस्थामा छन् । हिउँदभर धुलाम्य भएका सडकहरु अहिले हिलाम्य छन् । ठेकेदारको बदमासी तथा यसमा सरकारी कर्मचारीको पनि मिलेमतोका कारण काठमाडौंका मात्रै नभई देशभरका सडक पिच गरेको केही समयमै भत्कने गरेको स्थानीयले गुनासो गर्दै आइरहेका छन् ।

तर, यसमा थापाले ठेकेदारहरुको भन्दा पनि सरकारको कमजोरी रहेको बताए । अध्यक्षका प्रत्यासी रहेका थापाले सरकारको मापदण्ड नै गलत भएको भन्दै सरकारले यसलाई समयाअनुकुल परिवर्तन गर्नुपर्ने बताए ।

थापाका अनुसार ३० टनको गाडी गुडाउनका लागि आवश्यक पर्ने सडक निर्माण गर्दा प्रतिकिलोमिटर करिब २५ करोड खर्च हुन्छ । तर, यहाँ भने १० करोडमा एक किमी बनेका सडकहरुमा ठूला सवारी साधन आवत-जावत गर्ने गरेका छन् ।

थापाले अनलाइनखबरसँग भने ‘कार र जीप गुडाउने स्तरको पिच गरेर ३० टनका गाडी गुडाएपछि के हुन्छ ? उपत्यकाको सडक हेरे हुन्छ ।’
उनका अनुसार ठूला खालका गाडीहरु गुडाउनका लागि ३५ सेन्टिमिटर ग्राबेल, २५ सेन्टीमिटर बेस र १ सय एमएमको डीभीएम हुनुपर्छ र त्यसमाथि पीच गर्नुपर्छ । तर, अहिले उपत्यकाका अधिकांश सडकमा १५ सेन्टिमिटर ग्राबेल, १० सेन्टिमिटर बेस र ४० एमएमको डीभीएम राखेर पिच गर्ने गरिएको थापाले बताए ।

थापाले अनलाइनखबरसँग भने ‘भक्तपुरको सडक किन टिक्यो भनेर प्रश्न उठ्ला, त्यहाँ कुन मापदण्डको पिच भएको छ भनेर बुझ्न जरुरी छ । कोटेश्वर- भक्तपुर सडक ठूला गाडी गुडाउन मिल्नेखालको मापदण्डको हो ।’

अब स्थानीय सरकार निर्माण भएसँगै यस्ता मापदण्डहरु पनि परिवर्तन हुने थापाको आशा छ ।

दुई पक्षका ठेकेदारवीच हानाथाप

नयाँ नेतृत्वका लागि बालकृष्ण थापाको प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदमा कृष्णप्रसाद गौतम, प्रथम उपाध्यक्षमा कबिन्द्र महर्जन, द्वीतीय उपाध्यक्षमा बासु खड्का, महासचिवमा शान्त कुमारले उमेद्वारी दिएका छन् । त्यसैगरी सचिवमा पञ्चबहादुर तामाङ, कोषाध्यक्षमा लक्ष्मण थपलिया र सह कोषाध्यक्षमा रमेश महर्जनको दावेदारीे छ ।

त्यस्तै अर्का निर्माण व्यवसायी बुढाथोकीको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा सागर लुइँटेल, प्रथम उपाध्यक्षमा पुस्कल न्यौपाने, द्वीतीय उपाध्यक्षमा इन्दिरा बुढाथोकी र महासचिवमा सूर्यबहादुर तामाङको दाबेदारी छ । त्यस्तै सचिवमा ईश्वरराज पन्त, कोषाध्यक्षमा तिलकबहादुर लामा र सह-कोषाध्यक्षमा मनोज श्रेष्ठको उम्मेदवारी परेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका प्रमुख कृष्णबहादुर पोखरेलका अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको छ । महासंघमा १ हजार १ सय १२ जना मतदाता छन् । यो चुनावले ८ जना पदाधिकारीको छनौट गर्दैछ । चुनावको परिणाम रातिसम्म आउने बताइएको छ ।

उपत्यकामा दर्ता भएका यस्ता व्यवसायीहरुले ठेक्कापट्टाको काम भने उपत्यका बाहिर पनि गर्ने गर्छन् । उपत्यकाका ठेक्का पट्टामा भने धेरैजसो यहीँकै कम्पनीहरुले हात पारिरहेका हुन्छन् ।

ठेकेदारको चुनावी चहल-पहलका केही झलक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment