२ भदौ, भैरहवा । बिहीबार अपरान्ह भैरहवास्थित भीम अस्पताल पुग्दा रुपन्देही कोटहीमाई १ सिपवाका फागु हरिजन दम्पत्ति शय्यामा बसेर टोलाइरहेका थिए । ३० साउनको मुसलधारे वर्षाले छोरा रोशनलाई उनीहरुबाट चुँडेर लग्यो । भत्किएको घर त एक दिन ठड्याउने छन्, मुटुको टुक्राजस्तो छोरा कहिल्यै नफर्किने पीडाले आँखाबाट बलिन्द्र धारा छुट्न कम भएको छैन ।
फागु भन्छन्, ‘भगवान साह्रै निष्ठुरी रहेछन् । बास त लगे–लगे हाम्रो जिउने आश पनि लगे ।’
किसानी, मजदुरीबाट परिवार पाल्दै आएका हरिजनलाई आफ्नो भाग्यमा सधैं पीडा मात्रै लेखेको रहेछ भन्ने लाग्न थालेको छ । ‘सानै उमेरमा बुवा–आमा बित्नु भयो । अहिले छोरा बित्यो । छोरालाई पढाएर अरुजस्तै ठूलो मान्छे बनाउने इच्छा थियो तर … ।’
वाक्य टुंग्याउन नसकी उनी भक्कानिए । आफूलाई सम्हाल्दै उनले छोरा गुमाएको क्षण सम्झिए–
‘मुसलधारे वर्षा भइरहेको थियो । घरमा म, श्रीमती र छोरा सुतिरहेका थियौं । राति करिब एक बजे एकाएक घर भत्कियो । हामी सबै पुरियौं । छिमेकीहरु तत्काल आएर हाम्रो उद्दार गरे । हामी त बाँच्यौ तर छोरालाई बचाउन सकेनौं । छोराको शरीर त हामीसँग रह्यो तर उसको प्राण रहेन ।’
छोरा गुमेको पीडा सम्झिँदा हरिजनकी पत्नी शिलालाई मुटुको टुक्रा नै अलग्गिएजस्तो लाग्छ । बुढेसकालको सहारा गुमेको पीडा त्यसमाथि थपिएको छ । आँखासामु नाचिरहने छोराको अनुहार उनका लागि बज्रपातझैं लाग्छ ।
‘मेरो बाबु मेरो जीवनको सहारा थियो । एकाएक दैवको मुखमा पुग्यो,’ उनी भन्छिन् । हँसमुख स्वभावका रोशन साथीभाइमाझ मिलनसार थिए, सहजै घुलमिल हुन सक्थे ।
हरिजन दम्पत्तिका चार सन्तान भए, दुई छोरा र दुई छोरी । तीमध्ये १५ वर्षे रोशन कान्छा छोरा थिए । २० वर्षका जेठा छोरा मजदुरी गर्छन् । जेठी छोरीको विवाह भइसकेको छ, २६ वर्षकी कान्छी छोरी पनि आर्थिक अवस्थाका कारण पढाइ छाडेर घरायसी काममा अल्झेकी छन् ।
जिल्ला प्रशासनले उनीहरुलाई राहतस्वरुप दुई लाख रुपैयाँ दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले उनीहरुलाई सान्त्वना दिँदै भने, ‘विपत्तिले देश नै रोएको छ । तपाईंहरु दह्रो मन बनाएर अगाडि बढ्नुपर्छ । जीवन लामो छ । यो राहत तपाईंहरुको घाउमा मलहम मात्र हो ।’