Comments Add Comment

स्थानीय चुनावः उपेक्षामा शहिद परिवार

पार्टीले नपत्याएपछि शहिद परिवार सदस्यको स्वतन्त्र उम्मेदवारी

२३ भदौ, काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–१ का वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सरोजकुमार यादव २०६२–६३ को जनआन्दोलनका प्रथम शहिद दशनलाल यादवका छोरा हुन् । राजनीतिक दलको बेवास्ताका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु परेको सरोजको भनाइ छ ।

दशनको आन्दोलनका क्रममा राजविराजमा मृत्यु भएको थियो । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना हेतु आन्दोलनका क्रममा ज्यान गुमाएका दशनलाई दोस्रो जनआन्दोलनको प्रथम शहिदका रुपमा सिंगो मुलुकले सम्मान दिएको छ । वामपन्थी विचारधाराबाट प्रेरित उनी एमालेका सक्रिय कार्यकर्ता थिए ।

‘जनआन्दोलनका क्रममा बुवा शहिद हुनुभन्दा चार वर्षअगाडि माओवादी सशस्त्र युद्धका क्रममा दाजु गुमाउनु पर्यो,’ उनले भने, ‘एकै परिवारका दुई सक्रिय सदस्य राजनीतिक आन्दोलनमा मारिएपछि परिवारको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सक्नुहुन्छ ।’

सरोजका दाजु विनोदकुमारको २०५९ सालमा नेपाली सेनाको जवाफी कारबाहीमा मृत्यु भएको थियो । उनी तत्कालीन नेकपा माओवादीका सक्रिय कार्यकर्ता थिए । सरोज भन्छन्, ‘बुबा लोकतन्त्रका लागि शहिद हुनुभयो, दाइले गणतन्त्र ल्याउन प्राण दिए । मुलुकमा लोकतान्त्रिक गणतन्त्र पनि आयो तर हामीजस्ता शहिद परिवारको दुर्दशामाथि कसैको पनि ध्यान पुग्न सकेको छैन ।’

त्यस्तै मधेस आन्दोलनका शहिद रामकिशुन राउतका भाइ धर्मपाल राउतले बुधबार हनुमाननगर कंकालनी नगरपालिका वडा नं. ३ को वडासदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कुनै पनि मधेसी दलले टिकट दिन नमानेपछि उनी स्वतन्त्र उठेका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment