Comments Add Comment

कांग्रेसले माग्यो उम्मेदवारको नाम, १५ दिनमा पठाइसक्नु पर्ने

२ असोज, काठमाडौं । नेपाली कांग्रेसले आसन्न संसद र प्रदेशको चुनावका लागि १५ दिनभित्र उम्मेदवार सिफारिस गर्न मातहतको कमिटीलाई निर्देशन दिएको छ । उसले प्रत्यक्ष र समानुपातिकतर्फ ३-३ जनाको नाम सिफारिस गर्न भनेको छ ।

सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटका लागि निर्वाचन क्षेत्र र जिल्ला बैठकमा सहभागी हुनेहरु तोकेको छ ।

निर्वाचन क्षेत्रको बैठकमा केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, महाधिवेशन सदस्य, दोस्रो संविधानसभामा प्रत्यक्षतर्फका उम्मेदवारका साथै क्षेत्रीय सभापति, पदाधिकारी, सदस्य र क्षेत्रीय सभापतिका निकटतम प्रतिस्पर्धी सहभागी हुनेछन् ।

जिल्लाको बैठकमा जिल्ला सभापति, निकटतम प्रतिस्पर्धी, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहका साथै केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधान सभाका प्रत्यक्ष तर्फका उम्मेदवार सहभागी हुनेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ महिला सहित बढीमा ३/३ जनाको नाम पठाउनु पर्ने कांग्रेसको निर्णय छ । समानुपातिकका उम्मेदवार सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनौटलाई ध्यानमा राखेर सिफारिस गर्नु पर्ने उसले बताएको छ ।

गाउँ/नगर कार्यसमितिले १० गतेभित्र, क्षेत्रले १३ गतेभित्र जिल्लामा नाम पठाउनु पर्नेछ भने जिल्लाले आफ्नो रायसहित असोज १७ गतेभित्र नाम पठाउनु पर्नेछ । तोकिएको समयमा नाम नआए माथिल्लो निकायले निर्णय गर्ने कांग्रेसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment