Comments Add Comment

भूकम्प पीडितको यो दशैं पनि छाप्रोमै बित्यो

१४ असोज, रामेछाप । मन्थली ७ भटौली ठेडीखोलाकी जुनुमाया रिमालको यो दशैं पनि छाप्रोमै बित्यो । विनासकारी भूकम्पले घर भत्काइदिएपछि उनले छाप्रोमै दशैं मनाएको यो तेस्रो पटक हो ।

घर नै नरहेपछि उनको परिवारको गुजारा छाप्रोबाटै चल्दै आएको छ । ‘नयाँ घर बनाउन सकेका छैनौं, छाप्रोमा नबसेर कहाँ जानु र,’ उनी भन्छिन् । रिमालको परिवारले तिहारपछि जसरी पनि नयाँ घर निर्माण थाल्ने योजना बनाएको छ ।

ठेडीखोलामा छाप्रो बनाएर बसेका करिब ५० हजार परिवार छन् । उनीहरुका लागि सामु छाप्रोको विकल्प तयार हुन सकेको छैन ।

१२, १३ र २९ वैशाख ०७२ का भूकम्पका धक्काका कारण जिल्लामा ५४ हजारभन्दा बढी घर भत्किएका थिए । तीमध्ये चार हजारले मात्र नयाँ घर बनाउन सकेका छैनन् । अन्य पीडित परिवारका लागि छाप्रोमै टाउको लुकाउनुको विकल्प छैन ।

पुनर्निर्माण अवरुद्धझैं रहँदा निजी आवास निर्माणका लागि पहिलो किस्ता बुझेका परिवारले पनि घर बनाउन सकेका छैनन् ।

‘पहिलो किस्ताको रकम घरखाँचो टार्दै सकियो । घर निर्माण थाल्न पीडितका हातमा पैसा छैन,’ मन्थली नगर कार्यपालिका सदस्यसमेत रहेका ठेडीखोलाका निर्माण माझी भन्छन्, ‘दैनिक ज्यालादारी गरेर जीवीका चलाउनेहरुले कसरी घर बनाउनु र सुरक्षित घरमा बस्नु ?’

पुनर्निर्मार्ण प्राधीकरण कार्यक्रम कार्यान्वयन एकाइका जिल्ला प्रमुख ऋषिराज आचार्य पनि पुनर्निर्माणको काम सोचेजस्तो हुन नसकेको स्वीकार्छन् । तथापि, अन्य जिल्लाको तुलनमा रामेछापमा प्रगति हासिल भएको उनको भनाइ छ ।

करिव ४५ हजार परिवारले पहिलो किस्तावापतको ५० हजार रुपैयाँ बुझेका छन् । तीमध्ये अधिकांशले निर्माण थाल्न सकेका छैनन् । घर बनाउन थालेकाहरुले समेत प्राविधिकको जाँच रिपोर्ट समयमै नपाउँदा दोस्रो र तेस्रो किस्ता लिन सकेका छैनन् ।

प्राधीकरणले खटाएका प्राविधिकहरुको बेवास्ताका कारण पनि समस्या उत्पन्न भएको छ । दुई वर्षमा जम्मा चार हजार घर मात्र बनेकाले अन्य पीडितले अझै कति वर्ष छाप्रोमै जीवन बिताउनुपर्ने हो भन्ने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment