Comments Add Comment

केही दिनमै नयाँ मुलुकी ऐन बन्छः कानून मन्त्री थापा

२३ असोज, पोखरा । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले केही दिनमै मुलुकी ऐन नयाँ बन्ने बताएका छन् ।

कास्की आदर्श सेवा समाजको पोखरामा आयोजित प्रथम विश्व सम्मेलनमा बोल्दै मन्त्री थापाले मुलुकी ऐनका लागि ५ वटा विधेयक पारित भइसकेको बताएका हुन् ।

मुलुकी ऐनका लागि ५ विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्न मात्र बाँकी रहेको बताउँदै उनले भने,’जंगबहादुर राणाको पालादेखीको मुलुकी ऐन मेरै पालामा परिवर्तन हुँदैछ, नयाँ मुलुकी ऐनको लागि ५ वटा विधेयक पारित भइसकेको छ, अब त्यो राष्ट्रपतिले प्रमाणिकरण गर्न मात्र बाँकी छ ।’

मन्त्री थापाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको चुनाव अनुकुल वा प्रतिकुल जुनसुकै हालतमा हुने ठोकुवा समेत गरे ।

मन्त्री थापाले गैरआवासीय नेपालीलाई राजनीति गर्नका लागि पनि खुल्ला गर्न सकिनेबारे छलफल गर्न सकिने बताए ।

यसअघि आर्थिक, सामाजिक लगायत गर्न गैरआवासीय नेपालीहरुलाई खुल्ला छाडिएपनि राजनीतिमा प्रतिबन्ध लगाइएकाले त्यसलाई पनि खुल्ला गर्नका लाग बहस र छलफल गर्न सकिने उनको भनाइ थियो ।

उनले गैरआवासीयलाई नागरिकता दिने विषयमा समेत सकारात्मक रहेको र यसका लागि कानून मन्त्रालयले गृह मन्त्रालयलाई लेखेर पठाइसकेको जानकारी दिए ।

कार्यक्रममा सांसद जीवन परियारले सकभर वैदेशिक रोजगारीमा नजाने वातावरण निर्माण गर्ने र गएकाहरुलाई पनि फर्केर आउने वातावरण निर्माणमा सबैले जोड दिनुपर्ने बताए ।

सांसद शारदा पौडेलले सुन्दर र पर्यटकीय नगरी पोखरालाई अन्तर्राष्ट्रिय स्तरको सहर निर्माण गर्नका लागि विदेशमा सिकेका सीप, ज्ञान र अनुभवलाई प्रयोग गर्न आग्रह गरे ।

समाजका संयोजक पूर्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री खगराज अधिकारी, एनआरएन युकेका निवर्तमान अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनहरु शिशिर भट्ट, राम रानाभाट, त्रिलोक गुरुङ, अर्जुन श्रेष्ठ, डिल गुरुङलगायतले बोलेका थिए ।

‘विश्वभरीका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ मंगलबार सम्पन्न हुने सम्मेलनले २ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

विदेशमा सिकेका सीप, ज्ञान र अनुभव कास्कीमा लगाएर समृद्ध कास्की बनाउने उद्धेश्यले समाज गठन भएको संस्थाको यो पहिलो सम्मेलन हो ।

समाजमा हालसम्म २२ देशमा कस्केली सम्पर्क समाज रहेकाले उनीहरुसँग परामर्श गरेर ति सबै सम्पर्क समाजलाई परिषदमा परिणत गर्ने बताइएको छ ।

हालसम्म अमेरिका, बेलायत, स्पेन, पोर्चुगल, बेल्जियम, अष्ट्रेलिया, मकाउ, कतार, जापान, नेदरल्याण्ड, दुबई, मलेसिया, कोरिया, साइप्रस, हङकङलगायतका देशहरुमा सम्पर्क भइसकेको छ ।

यसैबीच, गैरआवासीय कस्केलीहरुको विश्व सम्मेलनको अवसर पारेर मंगलबार गरिएको हाफ म्याराथनमा नेपाली सेनाका हुमलाल श्रेष्ठ प्रथम, नेपाली सेनाकै खगेन्द्र भाट द्वितीय, नेपाल प्रहरीका भुमीराज राई तृतीय र लमजुङका कुमार गुरुङले सान्त्वना स्थान प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment