Comments Add Comment

जिसस चितवनको चुनाव आज, एमाले–कांग्रेस भिड्दै

केन्द्रको तालमेलले माओवादीलाई सकस

२५ असोज, चितवन । जिल्ला समन्वय समिति चितवन गठनका लागि आज निर्वाचन हुँदैछ ।निर्वाचनमा एमाले र कांग्रेस आमनेसामने भएका छन् भने केन्द्रीय तालमेलले माओवादी केन्द्र सकसमा परेको छ ।

कुल नौ सदस्यीय समितिमा प्रमुख, उपप्रमुख, तीन महिला, तीन खुला र एक दलित तथा अल्पसंख्यक चुनावबाट निर्वाचित बन्ने छन् ।

जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका, एक गाउँपालिकाका प्रमुख र उप्रमुख यसका मतदाता हुन् । चितवनका ७ तहका १४ पदमध्ये एमाले एक्लैले ९ पद जितेको छ । जिल्ला समन्वय समितिको गठनका लागि एमाले एक्लैको बहुमत पुग्छ ।

एमालेतर्फबाट जिसस प्रमुखमा कृष्णकुमार डल्लाकोटी, उपप्रमुखमा मुना कुमारी श्रेष्ठको उम्मेद्वारी परेको छ । महिला सदस्यमा खिलकुमारी सिंखडा, लिलादेवी पोखरेल, सीता पुन, दलित र अल्पसंख्यकमा गुनु विक, खुल्ला सदस्यमा कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चुडामणि महतो भिड्दै छन् । सहायक निर्वाचन अधिकृत घिमिरेका अनुसार नेपाली कांग्रेसको तर्फबाट जिससको प्रमुखमा भरत अधिकारी र उपप्रमुखमा टिका दाहालले उम्मेद्वारी दिएका छन् । यस्तै महिला सदस्यमा भरथी थरुनी, रमा भट्टराई, शान्ति परियार, दलित र अल्पसंख्यकमा सावित्री वि.क, खुल्ला सदस्यमा प्रेमप्रसाद शर्मा, रविन्द्र गौतम र हरेराम तामाङको उम्मेद्वारी परेको छ । माओवादीले भने उम्मेदवारी दिएको छैन ।

आगामी प्रदेश र संघको निर्वाचनमा लागि केन्द्रमा एमाले र माओवादी बीच गठवन्धन भएको सन्र्दभमा माओवादीले मत एमालेलाई हाल्ने निर्णय गर्न सक्ने माओवादी नेताहरुले बताएका छन् । माओवादी चितवनका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले बैंठकबसी केहीबेरमा निर्णय गर्ने जानकारी दिए । माओवादीले जिससमा केही पद एमालेसँग माग गरेको भए पनि एमालेले स्पष्ट बहुमत भएका कारण नदिएको स्रोतले जनाएको छ ।

रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिकाका प्रमुख र उप्रमुख तथा माडी नगरपालिकामा उपप्रमुख पदमा एमाले विजयी भएको थियो । इच्छाकामना गाउँपालिका प्रमुख र उपप्रमुख तथा भरतपुर महानगरको उपप्रमुख पदमा कांग्रेस विजयी भएको हो । माओवादी केन्द्रले माडी र भरतपुरमा प्रमुख पद जितेको छ ।

यसअघि भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा भएको चुनावमा कांग्रेस माओवादीले गठवन्धन गरे पनि अल्पमतमा रहेको एमाले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment