Comments Add Comment

हुलाकी सडकको निर्माण ११ दिनदेखि अवरुद्ध

ढुंगा, गिटीका ठेकेदारले काम गर्न नदिएको आरोप

२९ असोज, नेपालगञ्ज । हुलाकी सडकको नेपालगञ्ज-बघौडा खण्ड निर्माण गरिरहेको कम्पनीले कार्यक्षेत्रमा सुरक्षा व्यवस्थामा प्रश्न उठाउँदै ११ दिनदेखि काम ठप्प पारेको छ ।

उक्त खण्डको निर्माण गर्ने जिम्मा पप्पु लुम्बिनी जेभी काठमाडौंले पाएको छ । ३० महिनामा काम सक्नेगरी गणपति ग्रुप अफ कन्स्ट्रक्सनले १५ चैत ०७३ देखि सब-कन्स्ट्रयाक्ट पाएको छ ।

गणपतिका साइट इन्चार्ज इन्द्र केसीका अनुसार अनेक माग राखेर निर्माणमा अवरोध सिर्जना भइरहेको छ । पटक-पटक गरी हालसम्म एक महिनाभन्दा बढी काम रोकिइसकेको छ । पछिल्ला दिनमा गिटी, बालुवा आपूर्तिको ठेक्का पाएको कम्पनी सपना ट्रेडर्सले प्रयोग गरिरहेका युवाले अवरोध पुर्‍याइरहेको उनले जानकारी दिए ।

‘हामीले रोडा, गिटी र बालुवा गत वर्षकै स्टकबाट काम चलाउँदै आएका थियौं । १६ असोज साँझ सपना ट्रेडर्सका कर्मचारीले खुँडा र रड बोकेर निर्माण सामग्री बोकेका टि्रपर रोकेर तोडफोड र कुटपिटमा उत्रिएपछि काम रोक्न बाध्य हुनु परेको हो,’ केसीले भने ।

उक्त खण्डमा १० ट्रिपर, ग्रेडर दुई, रोलर दुई, एक्जाभेटर तीन, ट्यांकर दुई र करिब डेढ सय जनशक्ति प्रयोग भइरहेका छन् । ती सबै अहिले निर्माण क्षेत्रमै अलपत्र परेका छन् ।

गत वर्षको स्टकबाट काम चलाइरहेको जानकारी दिँदासमेत सपना ट्रेडर्सका कर्मचारीहरु तोडफोड र कुटपिटमा उत्रिएको केसीले बताए । उक्त घटनामा घाइते एक कामदारलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

‘काम रोकिँदा दैनिक ४० लाख नोक्सानी भइरहेको छ, त्यसको क्षतिपूर्ती कसले दिन्छ रुु केसीले प्रश्न गरे । स्थानीय प्रशासनले सुरक्षा दिन नसकेको उक्त कम्पनीको भनाइ छ ।

सुरक्षाकै कारण हालसम्म २२ जना प्राविधिकले काम छाडिसकेका छन् । केसीका अनुसार ‘प्रोटेक्सन मनीु माग गर्दै एक्जाभेटर र टि्रपरको चाबी खोसेर काममा अवरोध पुर्‍याइने गरेको छ ।

सपना ट्रेडर्सका सञ्चालक सुनिलकुमार शर्माले भने गणपति कन्स्ट्रक्सनले राज्यलाई दिनुपर्ने कर नतिरी ढुंगा, गिटी र बालुवा उठाउन खोजेकाले काम रोकिएको बताए ।

उनले भने,’हामीले राज्यको साधन, स्रोत दोहन हुन नदिँदा हामीलाई नै दोषी देखाइयो । राज्यको राजश्व उठाउँदा स्याबासी दिनुपर्नेमा उल्टै गुण्डागर्दी गरेको आरोप लगाइयो ।’

जिल्ला समन्वय समितिले दुवै पक्षलाई राखेर समाधान गर्नुपर्नेमा गणपतिको तीन हजार ट्रक माल पुरानो स्टक भएको प्रमाणित गरिदिनु ‘चलखेलु भएको शर्माको आरोप छ । उनले भने,’गणपतिले पुरानो ठेकेदार कम्पनीलाई १० लाख मात्र तिरेको छ । त्यसबराबरको माल उसले उठाइसकेको छ । अहिले फेरि जिल्ला समन्वय समितिले करिब दुई करोड रुपैयाँ बराबरको तीन हजार टि्रप माल पुरानो स्टक भएको प्रमाणित गरेको छ ।’

जिल्ला प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले राष्ट्रिय गौरवका आयोजनाको सुरक्षाका लागि आफूहरु सचेत र तत्पर रहेको बताए । गणपति कन्स्ट्रक्सन र सपना ट्रेडर्सबीच छलफल गराएर जिल्ला समन्वय समितिमा पठाइएको उनले बताए ।

हुलाकी सडकको उक्त खण्डमा हालसम्म १३ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment