Comments Add Comment

हिन्दूत्वको ‘भर्जिन ल्याण्ड’मा पूर्वराजाको अन्तिम कार्ड !

प्रधानमन्त्रीले गाली गर्दा पूर्वराजा ओलीकै गृहजिल्लामा

१३ चैत, काठमाडौं । आइतवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली संसदको रोष्टममा उभिएर गणतन्त्र कसैसँग भिक्षा मागेर ल्याइएको होइन भनिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह ओलीकै घरनजिक दमकको चिया बगानमा ‘राजा आऊ देश बचाऊ’ भन्नेहरुसँग गफिँदै थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं छाडेर दमक बस्न थालेको एक महिना नाघिसकेको छ । उनले दमकलाई मुकाम बनाएर धार्मिक भ्रमणका नाममा सुनसरी, मोरङ र झापाका स्थानीयसँग प्रत्यक्ष संवाद गरे । अब चाँडै नै इलाम र पाँचथरको भ्रमण गर्ने तयारी भइरहेको छ ।

पूर्वराजाले दमकलाई नै किन मुकाम बनाए ? हुन त उनको त्यहाँ चिया बगान छ र बगानभित्रै ‘दरबार’ छ । यसको अर्को महत्वपूर्ण सन्देशचाहिँ के हो भने–दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट सरकारका प्रधानमन्त्री तथा त्यस पार्टीका अध्यक्षको घरनजिकै बसेर उनी गणतन्त्रमाथि चुनौति थप्न चाहान्छन् । यसको सांकेतिक स्वीकारोक्ति प्रधानमन्त्रीले संसदबाट चेतावनीको भाषामा गरेका छन् ।

पूर्वराजा यसबीचमा एकपटक काठमाडौं फर्किए । त्यो पनि आमा रत्न बिरामी भएका बेला । आमालाई अस्पतालमा भेटेर पुनः दमक फर्किएपछि उनले मधेस भ्रमण गरे । दमकदेखि स्थलमार्गमा आफैंले गाडी चलाएर जनकपुर पुगेका पूर्वराजाले चार दिन जानकीधाममा मुकाम बनाएर हिन्दूत्वको ‘माटो परीक्षण’ गर्न खोजे ।

गर्मी चढिसकेपछि मधेस झरेका पूर्वराजाको यो भ्रमण कुनै तीर्थाटन वा धार्मिक मेलाको अवलोकन थिएन । पेटभरि मासुभात खाएर मन्दिर दर्शन गर्ने हिन्दू संस्कृति होइन भन्ने कुरा कुनैबेलाका ‘हिन्दू सम्राट’लाई थाहा नहुने कुरा होइन । तर, पनि उनले सचेत ढंगले यसपटक मधेसका नामै नसुनिएका केही मन्दिर घुम्ने बहानामा मधेसी समुदायसँग प्रत्यक्ष संवाद गरे ।

यो पनि पढ्नुहोस पूर्वराजाको मधेस मिसन : भुइँको टिप्न खोज्दा गोजीको खस्यो !

पूर्वराजाले जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा जानुअघि केहीबेर अनलाइनखबरकर्मीसँग अनौपचारिक कुराकानी गरेका थिए । उनले मधेसका जनता आफ्नोबारे के भन्छन् भनेर निकै चासो राखे । हामीले मधेसका विभिन्न ठाउँ घुमेर जनमत बुझेको थाहा पाएपछि उनले चासोपूर्वक सोधेका थिए, ‘तपाईहरुले यहाँ के पाउनुभयो ? यहाँका जनता के भन्दा रहेछन् ?’

धेरै कुरा गरिरहनुपरेन, यही जिज्ञाशा नै अहिले उनको रणनीतिक ‘मधेस मिसन’ हो । त्यसो त हामीले उनलाई गर्मी चढिसकेको र कुनै धार्मिक अवसर पनि नपरेको बेलाको मधेस भ्रमणबारे चासो पनि राख्यौं । उनले यतिमात्र भने, ‘पहिलो कुरा यो मधेस होइन तराई हो । दोस्रो कुरा तपाईहरु यहाँका जनतालाई सोध्नुस, उनीहरु के चाहान्छन् त्यो लेखिदिनुस् ।’

यति भनिसकेपछि उनले हामीलाई आफूसँगै जनकपुरबाट मलंगवासम्म हिँड्न आग्रह गरे । आफैं गाडी हाँकेर निस्किएका पूर्वराजालाई मधेसका बिभिन्न साना ठूला बस्तीहरुमा जुन ढंगको स्वागत सत्कार र त्यहाँका जनताबीच संवादको व्यवस्था मिलाइयो, त्यो आफैंमा अर्थपूर्ण थियो । पहाडे बाहुल्य रहेको महेन्द्र राजमार्गमा भन्दा मधेसी बाहुल्य भित्री बस्तीहरुमा उनको पक्षमा ठूलो भीड जम्मा भइरहेको थियो ।

सबैलाई थाहा छ, पूर्वराजा ज्ञानेन्द्रको आफ्नै कुनै संगठन छैन । तर, उनको मधेस भ्रमणमा जुन संख्यामा मान्छेहरु निस्किए, त्यो आश्चर्यजनक थियो । पूर्वराजा ज्ञानेन्द्र जुन–जुन ठाउँमा पुगे, त्यहाँ निस्किएका मान्छे पूर्वपञ्च वा राप्रपा निकटभन्दा पनि आम मधेसी थिए ।

सदरमुकाममा होइन, साना साना गाउँमासमेत पूर्वराजाको गाडी रोकेर चर्का नारा लाउनेहरु को हुन् त ?

उनीहरु त्यहाँ ‘राजा हेर्न’ मात्र आएका थिएनन् भन्ने कुरा किनारामा बसेर हेर्ने भन्दा ‘राजा आऊ देश बचाऊ’ भनेर सक्रिय सहभागिता जनाउनेको संख्या अधीक थियो । मलंगवामा विगत ३ वर्षदेखि कार्यरत सुरक्षा निकायका एक अधिकृतले सुनाए अनुसार ०७२ को मधेस आन्दोलनमा लाठी र भाला लिएर हिँडेका अधिकांश युवा पूर्वराजाको स्वागतमा नाराबाजी गर्दैथिए ।

मलंगवामा कुनै चर्चित हिन्दू मन्दिर छैन । तर, पूर्वराजा किन मलंगवानै पुगे ? अनुमान लगाउन सजिलो छ कि उनी हिन्दूत्वको माटो परीक्षण गर्दैछन् । स्थानीय माता दुर्गा भगवानी मन्दिरको दर्शन गर्न पूर्व राजा अपरान्ह ४ बजे मलंगवा पुग्दा करीव एक किलोमिटर सडक मान्छेले भरिएको थियो । उनीहरु दर्शकमात्र थिएनन्, बरु ‘राजा आउ मधेश बचाउ, राजा आउ धर्म जोगाउ’ भन्नेहरु थिए ।
यो पनि पढ्नुहोस पूर्वराजाको मधेस संवाद : पशुपतिको यात्रा, सिद्राको ब्यापार !

पूर्वराजाले जनकपुर मुकाम बनाएर प्रदेश २ का जनतासँग प्रत्यक्ष संवाद गरुन्जेल हामीले पनि उनलाई पछ्याइरह्यौं । मलंगवादेखि छिन्नमस्तासम्म र प्रदेश १ को गाइघाटदेखि जानकी मन्दिरसम्म पूर्वराजाको चालढाल धर्मभीरुको होइन, भोको शासकको जस्तो थियो । राजपाठ गुमाएको १० वर्षपछि पूर्वराजामा एकपटक अन्तिम प्रयास गरौं न त भन्ने भाव जागेको उनको अनुहारमा पढ्न सकिन्थ्यो ।

त्यसोभए पूर्वराजाको अन्तिम प्रयासचाहिँ के हुन सक्छ ? हामीले उनी निकटस्थहरुसँग करीव एकसाता सँगै बसेर बुझ्न खोज्यौं । काठमाडौंदेखि दमकसम्म र दमकदेखि जनकपुरसम्म पूर्वराजासँगै हिँड्ने शिवसेनाको एउटा स्वयंसेवी टोली पनि छ । उनीहरुलाई पूर्वराजाको रणनीति थाहा नभए पनि चाँडै हिन्दूधर्मको रक्षाका लागि मधेसमा आन्दोलन उठ्दैछ भन्नेसम्म आँकलन गर्न सकिन्छ ।

के मधेसमा मधेसवादी र सिके राउतपछि अब तेस्रो प्रयोग गर्न खोजिएको हो ? हामीले जनकपुरका राजनीतिक, धार्मिक र सामाजिक अगुवाहरुसँग अनौपचारिक कुराकानी पनि ग¥यौं । पूर्वराजा जनकपुरमै रहेको बेला भारतीय राजदूत मञ्जिबसिंह पुरीसँग गोप्य भेटघाट भएको कुरा पनि बाहिर आयो । यद्यपि यो भेटघाटको दुवै पक्षले पुष्टि गरेका छैनन् । पूर्वराजा र भारतीय राजदूत दुवैजना एकै होटलमा बसेका थिए । संयोगबस अनलाइनखबर टिम पनि सोही होटलमा थियो ।

पूर्वराजा र भारतीय राजदूतबीच भेट भएको सन्दर्भ संघीय सरकारको बैठकको एजेण्डानै बन्नु अवश्य पनि सामान्य कुरा होइन । यसले के देखाउँछ भने सरकार पूर्वराजाका अश्वभाविक गतिविधिहरुको निगरानी गरिरहेको छ । प्रधानमन्त्रीको पछिल्लो चेतावनी त्यसको संकेत हो ।

बितेका दश वर्षमा मधेसमा मूलतः तीनवटा अलग अभ्यास गरिए । मधेस आन्दोलनको जगमा उदाएको मधेसवादी शक्ति, जसले तीनवटा ठूला आन्दोलनमार्फत मूलधारको राजनीतिको नेतृत्व ग¥यो, त्यसको लोकप्रियताको ग्राफ मधेसमा क्रमशः ओह्रालो लागिरहेको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारमा समेत सहभागी भएको मधेशवादी शक्तिलाई हिजो साथ दिएका कतिपय युवा नै अहिले ज्ञानेन्द्र आऊ, मधेस बचाऊ भन्न थालेका छन् ।

स्थानीय सरकारबाट आजित भएकाहरुमा यो खालको आक्रोश बढी देखियो । मलंगवामा भेटिएका एकजना स्थानीयले आफ्नै जग्गा नाप्न वडा कार्यालय जाँदा ७ हजार घुस मागेको घटनालाई मधेशवादी दलप्रतिको वितृष्णाका रुपमा सुनाउँदै राजाको पक्षमा नारा लगाए । यसरी हिजो ठूलो आशा गरेर मधेस आन्दोलनमा हिँडेकाहरु नै आज निराश बन्नु पूर्वराजाको लागि अवसर बनेको छ ।

मधेसवादी दलको अलोकप्रियताको फाइदा पूर्वराजालाई किन ? यो प्रश्न पनि उठ्न सक्छ । मधेस अन्न भण्डारको हिसाबले मात्र होइन, आन्दोलनका दृष्टिले पनि पछिल्लो समय उर्बर भूमि बनिरहेको छ । बितेका १०/१२ वर्षमा यहाँ सशस्त्र र निशस्त्र सबै प्रकारका आन्दोलनको अभ्यास भयो ।

उपेन्द्र यादव र महन्थ ठाकुरहरुको वैकल्पिक राजनीतिक उदयदेखि सिके राउतको पृथकतावादवको उठान र बैठान पनि मधेसले ब्यहोरिसकेको छ । ज्वाला सिंह र गोइतहरुको सशस्त्र क्रान्तिको असफल प्रयोगशाला बनिसकेको मधेसमा अब एकपटक हिन्दूत्वको नारा उठाउन खोजिएको अनुमान गर्न सकिन्छ ।

पूर्वराजाको मधेस गतव्य रामजानकी धाम वा छिन्नमस्ता र मटिहानीजस्ता धार्मिक सांस्कृति सम्पदा होइनन् । उनको निशाना यो पवित्र भूमिमा युगौंदेखि कायम रहेको हिन्दूत्वको शक्ति नै हो । पहाडका हिन्दूको ईशाइकरण जुन रफ्तारमा बढिरहेको छ, त्यसको छिटाले मधेसका हिन्दूलाई अहिलेसम्म छोएको छैन । त्यही ‘भर्जिन हिन्दुल्याण्ड’ मा ज्ञानेन्द्रले आँखा गाडेका छन् ।

हिन्दू बाहुल्यता रहेको मधेसमा राजा हटेपछि धर्म नष्ट हुन थालेको कुरालाई जबर्जस्तरुपमा स्थापित गर्न खोजिँदैछ । हामी कतिपय देहातका गाउँमा पुग्दा त्यहाँका मुखिया र धार्मिक अगुवाहरुले धर्म रक्षाका लागि राजा चाहिएको कुरा गर्न कुनै संकोच मानेनन् । ती मान्छे अघिल्लो चुनावमा कांग्रेस र मधेसवादी दललाई भोट दिएकाहरु नै थिए ।

मधेसमा सुषुप्तरुपमा धर्म रक्षाको एजेण्डालाई मठमन्दिर र गाउँबाट स्थापित गर्न खोजिँदैछ । प्रदेश सरकारले यस्ता गतिबिधिबारे जानकारी नराखेको पनि होइन । तर, पूर्वराजाको भ्रमणमा जसरी मान्छे ओइरिए, त्यो उसका लागि पनि टाउको दुःखाइ बनेको छ ।

अझ कांग्रेस महामन्त्रीकै तहबाट हिन्दू धर्मको लागिमात्र होइन, गणतन्त्र र संघीयतामै जनमत संग्रह गर्नुपर्ने अभिव्यक्तिले राजा आउ देश बचाउ भन्नेहरुलाई बल पुगेको छ । अझ रोचक पक्ष त के छ भने, कांग्रेसका महासमिति सदस्य तहका नेताहरु हिन्दूत्वका लागि राजा चाहिन्छ भनेर खुलेआम पूर्वराजाको स्वागतमा भेटिए ।

पूर्वराजा मधेसका मठमन्दिरहरुमा जाँदा हिन्दू धर्मग्रन्थ गीतामा उल्लेखित एक चर्चित श्लोकलाई क्यासेटमार्फत बजाइएको थियो । जसको सार हुन्छ– धर्म नष्ट भएपछि त्यसलाई नयाँ ढंगबाट जोगाउन म आउनेछु ।

परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम्

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे

हुन त यो भगवानको अवतारसँग गाँसिएको पंक्ति हो । तर, मधेसका हिन्दूहरुमा धर्म नष्ट भएको कुरालाई मसिनो ढंगले लैजान खोजिँदैछ भन्ने यसले देखाउँछ ।

यो पनि पढ्नुहोस पूर्वराजाले भने : यो मधेश होइन, तराई हो

बहुसंख्यक हिन्दू जनसंख्या रहेको मधेसमा इस्लाम दोस्रो ठूलो धर्म हो । पूर्वराजाको स्वागतमा आउनेहरु मुस्लिम पनि उल्लेख्य संख्यामा थिए ।

पूर्वराजाले तराई मधेसलाई नै यसपटक किन रोजे ? हुन त उनी पोखरा मुकाम बनाएर केही समय बसेपछि तराई झरेका हुन् । तर, उनले तराई मधेसमा आफ्नो ध्यान केन्द्रित गरेका छन् । यसबीचमा राप्रपाको मेची–महाकाली रथयात्रा पनि हिन्दूत्व र राजतन्त्र पुनर्वहालीको माग गर्दै यही बाटो अघि बढेको थियो ।

पूर्वराजाले तराई मधेस नै किन रोजे भन्ने प्रश्नको जवाफ उनले अप्रत्यक्ष रुपमा दिइसकेका छन् । यहाँ हिन्दू धर्ममा आस्था राख्ने जनताको संख्या उल्लेख्य छ र धर्म परिवर्तनको बाछिटा अहिलेसम्म परेको छैन ।

दोस्रो कुरा, हिन्दू राज्यको माग राखेर भोलि कुनै आन्दोलन उठाउनु पर्दा पहाडमा भन्दा मधेसमा धेरै सजिलो हुन सक्ने आँकलन पूर्वराजाका सहयोगीहरुको छ ।

पूर्वराजाले यसपटक मधेसको मन छाम्ने प्रयास गरेका छन् । उनको मधेस मिसन निर्वाधरुपमा चल्नु र खुलेआम हिन्दू राजतन्त्रको पक्षमा नाराबाजी हुनु सरकारका लागि चुनौति अवश्य पनि हो । गणतन्त्र नेपालकी राष्ट्रपतिले पूजाआजा गरेर फर्किएपछि अपवित्र भएको भन्दै जानकी मन्दिर चोख्याउनेहरुले पूर्वराजालाई रातो कार्पेट ओछ्याएर स्वागत गरे ।

अझ त्यही जानकी मन्दिर परिसरबाटै उनले मधेस होइन, तराई भन्नुस भन्दा केही मधेसवादी अगुवाबाहेक अरुले कुनै प्रतिक्रिया जनाएनन् । यसले पनि पूर्वराजा त्यहाँ पूजा गर्न होइन, मधेसको पानी छाम्न गएका हुन् भन्ने पुष्टि हुन्छ । उनको मिसन सफल हुन नसक्ला, तर मधेसमा एकपटक हिन्दूत्वको अन्तिम प्रयोग हुन सक्छ भन्ने प्रशस्त संकेतचाहिँ देखिएको छ ।

सयौं वर्षदेखि विभेद खेपिरहेका मधेसी समुदायको असन्तुष्टिमा खेलेर तराई मधेसमा पुनः अस्थिरता सिर्जना गर्ने प्रयासलाई बेलैमा सम्बोधन गर्न संघ र प्रदेश सरकार मिल्नुपर्छ । तर, प्रदेश २ को सरकार र संघीय सरकारबीच शुरुदेखि नै जुन खटपट देखिएको छ, त्यसले अस्थिरतालाई मलजल गर्नेछ । त्यसैले संघीयता कार्यन्वयनमा संघ उदार बन्ने र प्रदेश सरकार जिम्मेवार बन्नुनै स्थिर मधेसका लागि हितकर हुनेछ ।

यो पनि पढ्नुहोस मधेसमा ज्ञानेन्द्र र सिके राउत : को कति पानीमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment