Comments Add Comment

दक्षिण कोरियामा नेपाली फिल्मको अवार्ड हुने, सहभागीताका लागि दर्ता प्रक्रिया आह्वान

नेपाली चलचित्रको बजार अहिले विस्तारित हुने क्रममा छ । चलचित्र बजार नेपालमा मात्र नभएर विदेशमा पनि परिष्कृत हुँदै गएको छ । चलचित्र क्षेत्रको बजार अन्तरराष्ट्रिय स्तरमा पुर्‍याउनका लागि अहिले विभिन्न संघसंस्था र व्यक्तिहरु लागिपरेका छन् ।

यही क्रममा, अब दक्षिण कोरियामा पनि पहिलो पटक नेपाली चलचित्रको अवार्ड आयोजना हुने भएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा अवार्डको बारेमा जानकारी दिइएको छ ।

सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा पहिलो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना गर्न लागिएको जानकारी गराइएको हो । यो अवार्डलाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया(एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । ‘कार्यक्रम व्यवस्थापन’को सम्पूर्ण कार्य संगिक्षा फिल्मस्ले गर्नेछ । आयोजकले सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली चलचित्रलाई अवार्डमा सहभागिताका लागि दर्ता प्रक्रियामा सहभागी हुन आह्वान पनि गरेको छ ।

कुल २० विधामा अवार्ड प्रदान गरिने जानकारी पत्रकार सम्मेलनमा गराइएको छ । पूर्व सांसद मोहन राइले अवार्डको लोगो अनावरण गरेका थिए । यस्तै, निर्देशक मिलन चाम्स, नायिका पूजा शर्मा, नायक हसनराजा खान र गायक यूवराज चौलागाइले संयुक्त रुपमा अवार्ड घोषणाको उद्घाटन गरेका थिए । अवार्ड समारोहमा चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै योगदान पुर्‍याउने एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

कार्यक्रममा बोल्दै आयोजक संस्था बक्स अफिस ग्रुपका जीएम बाबुराम लुइटेलले विदेशी बजारमा नेपाली चलचित्रको बजार विस्तारका लागि दक्षिण कोरियामा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए । उनले, यो अवार्डले नेपाली चलचित्रकर्मीसँग दक्षिण कोरियाका दर्शकले प्रत्यक्ष साक्षात्कार गर्न पाउने समेत बताए । यस्तै, संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले आफूहरुलाई दिइएको जिम्मेवारी आफ्नो टिमले कुशलतापूर्वक निर्वाहा गर्ने बताए ।

कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र निर्माता संघका बरिष्ठ उपाध्यक्ष केशव भट्टराई, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा लगायतले शुभकामना दिएका थिए । यो अवार्डमा प्रदान गर्न लागिएका विधाहरुमा चलचित्र, निर्देशक, नायक, नायिका, सह-अभिनेता, सह-अभिनेत्री, नव-अभिनेता, नव-अभिनेत्री, नव-निर्देशक, खलपात्र, हाँस्य कलाकार, लेखन, पाश्र्व गायक, संगीतकार, गीतकार, छायांकार, सम्पादक, कोरियोग्राफर र द्धन्द्ध निर्देशक रहेका छन् । बक्स अफिस ग्रुपका निर्देशक यज्ञराज सेडाइले अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गर्ने बताए । आयोजकले नयाँ बर्षको जनवरीमा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्ने बताएको छ ।

यो अवार्डको जुरी संयोजकमा पत्रकार भरत शाक्य रहेका छन् । उनले, नयाँ तरिकाले यसपटक आफूहरुले चलचित्रको मुल्यांकन गर्ने भन्दै त्यसको बारेमा जानकारी पछि गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment