Comments Add Comment

छठ पर्वको आज पहिलो दिन

७ कात्तिक, रौतहट । तराईवासी हिन्दुहरुको सबै भन्दा ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा पूरा भएको छ । धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व आज बाट शुरु भएको हो ।

हिन्दु धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने सूर्य उपासनाको यस चाड लाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ ।

छठ पूजाको आज पहिलो दिन व्रतालुहरु नुहाएर शुद्ध भई पूजाका साम्रागी तयार गरी रहेका छन् । आजको यो दिनलाई स्थानीय भाषामा नहाय खाय -नुहाएर चोखो खाने) भनिन्छ ।

छठ व्रत बस्ने बस्ने महिलाहरुले आज चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाने गर्छन् ।

दोश्रो दिन अर्थात भोलि बुधवार व्रतालुहरुले खरना मनाउने छन्, जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खीर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खान्छन् र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत सुरु हुनेछ । यस अवधिमा व्रतालुहरु पानीसमेत नखाई सूर्य भक्तिमा लीन हुन्छन् ।

महापर्व छठ अन्तर्गत बिहीवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने छ भने शुक्रवार बिहान उदयमान सूर्य लाई विधि पूर्वक अर्घ दिए पछि चार दिनको यो लोकआस्थाको महापर्व विधिवत रुपमा सकिने छ ।

छठका कारण रौतहटका प्रमुख तथा ग्रामिण बजारहरुमा समेत चहलपहल बढेको छ । कपडा, खाद्यान्न तथा फलफुलका पसलहरुमा ग्राहकको भीड देखिन्छ । यसैगरी घर भन्दा टाढा बाहिर रहेका परिवारजनका सदस्यहरु पनि घर फर्किने क्रम सुरु भएको छ । छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरु चन्द्रनिगाहपुर, गरुडा, कटहरीया, शिवनगर र सदरमुकाम गौरमा व्रतालुहरुको चहलपहल निकै बढेको छ ।

नगर सरसफाई कार्यक्रम सम्पन्न

छठपर्वको लागि भन्दै गौर नगरपालिका तथा विभिन्न संस्थाहरुको सहयोगमा आज बिहान नगरसरफाई कार्यक्रम सम्पन्न भएको छ । कलाकार सिताराम कट्टेल (धुर्मस) समेत सहभागि रहेको सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना सहभागि थिए ।

गौरको विपी चोकबाट शुरु भएको सरसफाई कार्यक्रममा गौर नगरपालिका का मेयर अजय गुप्ता तथा उपमेयर किरण ठाकुर सहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरुले भन्सार सम्मको मुख्य सडक सरसफाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment