Comments Add Comment

बागी अर्थात पीडित नेता !

राजनीतिशास्त्रका पिता अरस्तुले होस् वा नीतिशास्त्रका प्रणेता चाणक्य वा कौटिल्यले होस् नेताहरूको प्रकार, स्वाभाव, विशेषता काम, जिम्मेवारी, भूमिका आदि इत्यादि खुलस्त पारेका छन् । तर, यहाँ चर्चा गर्न लागिएको माथि उल्लेखित नेताहरूका बारेमा पक्कै होइन । किनकि न त अरस्तु नेपाल आएका थिए, न चाणक्य वा कौटिल्य नै ।
यहाँ त हाल आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनको संघारमा देखापरेका ताण्डवनृत्य अनि सो पटाङ्गिनीमा बेसुरले नाचिरहेका नृत्याङ्गनारुपी नेतागणहरूको हो, जो पछिल्लोपटक ‘बागी’ का रुपमा पदार्पण भइरहेका छन् ।

हाम्रो समाजमा जहिल्यै पनि जनता, कार्यकर्ताहरू नेताद्वारा पीडित छन् भनेर चित्रित गरिँदै आइएको यर्थात छ । यसमा कुनै दुई मत नहोला । तर, हामी खाली जनतामात्र पीडित हुन्छन् भनेर सोच्छौं भने त्यो अपूर्ण सत्य हुन सक्छ । किनकि, जनता र कार्यकर्ताबाट पीडित नेताहरू पनि हुँदारहेछन् ।

जनता वा कार्यकर्ताबाट नेताहरू पीडित बन्दै आइरहेका कटू सत्यमाथि पनि कलम चलाउनु राजनीतिक विश्लेषकहरूको धर्म हो भन्ने हृदयगम् गरी यो लेख लेखिएको हो ।
शक्ति सन्तुलनको ऐतिहासिक पृष्ठभूमि केलाउँदै जाने हो भने कहिले राजा त कहिले मन्त्री बलबाहु भएको दन्त्यकथामा हामीले बाल्यकालदेखि सुन्दै आएका छौं । नेपाली जनता राज्यले दिएका अधिकारै ठान्छन् नेताहरूलाई सराप्ने काम । मानौं यो उनीहरूको मौलिक अधिकार हो ।

आफ्ना अगाडि गाली र श्राप गरे त नेताहरूले त्यसलाई सहजै पचाउन वा टारिदिन सक्छन् तर आफ्ना आफन्त, नातागोता, सम्ध्यैलो साइनो इत्यादिका मुखिञ्जेल साने सानो कुरामा पनि सत्तोसराप गर्दा त विचरा ती नेताको परिवारबाट सो पेशाबाट हात झिक्न बरोबर नैतिक दबाव सिर्जना हुदाँ कस्तो पेशामा लागिएछ भन्ने हीनताबोध हुुनु स्वाभाविकै हो ।

हाम्रो मनस्थिति नै यस्तो ग्रन्थीद्वारा निर्मित छ कि, हामी सबै कुरामा अरुलाई दोष दिनछौं र आफू जस लिने काममा मात्र अघि सर्छाैं । मान्छेको जातले स्वाभावले आफू मात्र राम्रो अरु सबै दुर्जन छन् भन्ने भावदर्शन व्यक्त गरिरहेका हुन्छन् । हामीमा अन्तरनिहीत स्वाभाव कतिसम्म टीठलाग्दो छ भने आफू बदलिँदा चाहिँ हामी परिस्थितिको उपज भन्ने गर्छौं भने आफ्ना बदलिएमा चाहिँ अवसरवादीको संज्ञा दिन्छौं ।

सोही मुताबिक हामी अरुलाई नै जिम्मेवार ठहर्‍याउँछांै । जुन अरु मध्ये सबैभन्दा बढी गाली खाने पात्र हुन् नेता । पानी परेर बाटो चिप्लियो भने नेता गतिलो नभएर बाटो चिप्लिएको भनेर सराप्छन् । प्राविधिक समस्या भएर बिजुली बत्ती झ्याप्प निभ्छ, जुन स्वयं नेताजीको घरमा पनि बत्ती गएको हुन्छ त्यहाँ पनि विचरो उसको दोष थियो त ?

आफ्नो घर अगाडि फोहोर गर्छन् मान्छेहरू, अनि पुनः नेताहरूलाई सराप्छन् । मेरो भनाइ त्यत्ति मात्र हो कि हामी नेताहरूबाट किन यति धेरै अपेक्षा गरिरहेका छौं । बुङ्ग धुलो उड्दा होस् वा बाटा हिलाम्मे हुदाँ, विजुली बत्ती जाँदा होस् वा मोटर दुर्घटना, धारामा पानी नआउँदा होस् वा वस्ती फोहोर हुदाँ, हामी जतिबेला पनि नेताजीहरूलाई सत्तोसराप गछौँ । तर, मैले यहाँ बुझ्न नसकेको कुरा भनेको त्यो पानी के नेताले पारिदिएको हो र ?

यसको उत्तर खोज्दै गहिराइसम्म पुग्दा एक तथ्य पत्ता लाग्यो कि, नेता हुने बेलामा चाहिने/ नचाहिने, सक्ने/ नसक्ने, हुने/ नहुने सबै काम गरिदिन्छ भनेर भोट माग्नु र अनावश्यक आश्वासन बाँड्नु । संविधान सभाका सदस्यमा निर्वाचित हुने नेताले बिभिन्न विकासका आश्वासन ४ पन्नाको लिष्ट लिएर फलाक्दै भाषण गरी घर-घरमा खुट्टा समात्छन् । अंकमाल गरी ढोगी आत्मीयता दर्साई मत मागिरहेको दृश्य अब पुन देखिन थालिसकेको छ ।

हलो जोतिरहेको रामबहादुर भुजेलको खेतमा गई नेताहरुले एक मिनेट जोतेजस्तो गरेर सेल्फी पोष्ट गर्दै किसान मैत्री कहलाउने प्रयत्न गर्दैछन् भने अस्पतालमा विरामी भेट्न पुगी फेसबुकमा फोटो हालेर इमोशनल मत तान्ने प्रयत्न गर्दैछन् ।

सामाजिक सञ्जालमा हाल अत्यन्तै मीठा- चिल्ला बनावटी दृश्य सिर्जित छ । आसेपासे, छोले झम्टे, अगुवा, पछुवा, दाइने हात, देब्रे हातहरू सामाजिक सञ्जालमा महिमाको वर्णन गर्न उद्यत छन् भने नेताजीहरूसो पोष्टलाई सेयर गर्न तल्लीन छन् । उनीहरूले यो बुझ्न किन सक्दैनन् कि यो कुरा म पक्कै गर्न सक्दिनँ र कालान्तरमा मैले गाली खानुपर्ने हुन्छ ।

गाउँघरका नेताहरुको बेग्लै दुःख

यी त भए केही ठूला नेताहरूको कुरा । अब चर्चा गरौँ गाउँघर वा क्षेत्रमा सीमित नेतागणको । उनीहरू सबैभन्दा अगाडि रहेर बस्ने हुदाँ सबैभन्दा अगाडि गाली खाने जिम्मा पनि उनीहरूकै हुन्छ । मेरो गाउँमा एकजना दलित नेतृ थिइन् तर, नेतृचाहिँ बस्तीस्तरीय । भोट माग्ने बेला उनी पनि ठूला नेताहरूसँग हिँडिछिन् । जनसमुदायहरू जो अत्यन्तै गरिब थिए, उनीहरूसँग ती नेताजीले सोधिन् कि- ‘तपाईहरूको समस्या के छ ?’ तब गाउँलेहरूले छानाको जस्ता पुरानो भएकाले चुहिने समस्या छ, त्यसलाई फेरिदिनु पर्‍यो भने । संविधान बनाउने चुनावका उम्मेदवार नेताले पनि ‘हुन्छ’ भनी नाँपजाँच समेत गर्न लगाई चुनावलगत्तै फेरिदिने आश्वासन दिए् ।

नेताजीले पनि माथि उल्लेख भए बमोजिम फलाना र ढिस्काना गरिदिन्छु भनेर आश्वासन दिएका रहेछन् तर चुनाव जितेर गएपछि न त नेता त्यस वस्तीमा पुगे, न त आफूले दिएको आश्वासन मिथ्या थियो भनेर भन्न सके । समुदायहरूको आशाको दीयो भने निभ्न सकेको थिएन । जितेर जाने नेताजीले ती स्थानीय दलित नेतृलाई नै राम्रोसँग चिन्दैनथे ।

दलित नेतृले जितेर जाने नेताजी जब मन्त्री भए, तब धेरै पटक भेट्ने प्रयास गरिन् । बनीबुतो र सरसापट गरी २ हप्ता काठमाडौं बस्दा पनि दर्शन भेट नपाएपछि हीनताबोध गर्दै गाउँ फर्किइन् । तर, गाउँमा लाज हुने हुदाँ नेतालाई भेट्न नसकेको भनेर भन्ने आँट गर्न सकिनन् । किनकि गाउँका सबैले उनका कान खाइसकेका छन कि तेरो पाटीले हृयान् गर्दिन्छु, त्यान् गर्दिन्छु भनेर बाँडेको सपना कहिले पूरा हुन्छ ?

यी त भए बस्तीस्तरीय पीडित नेताजीका प्रसङ्ग । अब कुरा गरौँ, अलि ‘हेवीवेट’ का अर्काथरि पीडित नेताजीहरूका जो आसन्न निर्वाचन नाका अझ बढी पीडित भएका छन् ।

स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख वा मेयरमा टिकट नपाएकोमा गुनासा रहेकोमा तत् समय प्रतिनिधि सभा वा प्रदेश सभाको टिकट दिलाइदिन्छ भनी थामथुम पारेर राखेका नेताजीहरू यसपालि पनि बहुसंख्यक पीडित भएका छन् । संासदको टिकट पाउनेछु वा समानुपातिक कोटामा पर्नेछु भनी १/२ वर्ष अगाडिदेखि नै घरको ठूलो खसी होस् वा बगैँचामा फलेका सबैभन्दा मीठा आँप लिची हुन् । हर्पेका हर्पे घ्यू होस् वा महङ्गा महङ्गा मोबाइल होस्, प्रत्येक दिन सामाजिक सञ्जालमा देवत्वकरण गरेर होस् वा नगद उपहार बक्स गरेर केन्द्रय/ पदाधिकारी वा पोलिटब्यूरो तहका नेताजीको भक्तिगान गाइरहेका हुन्छन् जिल्ला तहका नेताहरू ।

सीधै शीर्षनेताजीहरूकोमा पुग्न उनीहरूको खासै पहुँच नपुग्ने भएकाले एक/एक गुट समाई गाउँबाट चिनजानका केन्द्रीय स्तरका नेताका माध्यमबाट शीर्ष नेताजीहरूको ५ मिनेट दर्शन भेटका लागि घटीमा एकसाताको समय अनि माथि उल्लेखित ‘उपहार’ का साथमा पुग्छन् । र, आˆना वरदानको लिष्ट एक मिनेट लगाएर बिन्ती भाउ चढाएपछि एउटा फोटो खिच्न भ्याउँछन् र त्यसलाई जति सक्दो मीठो राम्रो क्याप्सन लेखी सामाजिक सञ्जालमा प्रदर्शन गराउँछन् । जुन कुराको लाइक गर्ने ठेक्का भने सर्वसाधारणको हुन्छ भने ट्याग र सेयर गर्ने कामको जिम्मा निजभन्दा तल्लो लेभलका जिल्ला गाउँस्तरीय अन्य नेताजीहरूको हुन्छ ।

दिनहुँ झैं सोही आशयका बिन्तीपत्र र कोशेलीपात बोकी आइरहने हुदाँ शीर्ष नेताहरूलाई पनि दिक्क लाग्दो हो । अनि उनीहरूले पनि जो आए पनि ‘हुन्छ’ भनिदिन्छन् । कसैको पनि मन नदुखाइ स- सम्मान कालो चिया पूरै एक कप खुवाएर आँत हसाएर पठाउँछन् ।

जिल्ला पुगेपछिको महिना त्यसैको जिकिरमै बित्छ । उनीहरू त्यतिबेला गदर फिल्मको सनी देवलझै मुख्य चरित्र बन्छन् । माथिबाट आशिर्वाद पनि पाइहालियो स्थानीय स्तरमा पनि सबैले मानिहाल्छन् वा पत्याइहाल्छन् भनेर । यसपालिको आसन्न निर्वाचनमा पनि यो पटकथा जताततै देख्न सुरु भइसकेको छ ।

प्रत्यक्ष वा समानुपातिकका लागि सिफारिसमा पर्ने जिल्ला तहका नेताजीलाई माथि उल्लेखित उपहार र कार्यकर्ताहरूलाई २ महिना अगाडिदेखि साँझ परेपछिको सोम रसस्वादन अनि भनसुन एवं तामसी भोजनको होटल-बिल तिर्दा हैरान भएका बेला स्थानीय स्तरबाट भने सिफारिसमा पर्न सफल हुन्छन् । अनेकन रस्साकसी र धेरै पापड पेलाई पश्चात गलेको दाललाई लिएर गाउँबाट काठमाडौंका आफ्ना आस्था अनुसारको दरवारमा माथि उल्लखित च्यानल मेकानिज्मको सही सदुपयोग गरी पुग्दछन् ।

तर, उनीहरु त्यसबेला जिल्ल पर्छन्, जतिबेला आफूभन्दा १ घण्टा अगाडि आफ्नै जिल्लाका प्रतिस्पर्धी बिर्खेलाई गोप्य कोठाबाट दर्शन भेट लिई मुसुमुसु मुस्कुराउँदै बाहिरिइरहेको देख्छन् र आफू सो दौडमा ढीलो पुगेकोमा मनमनै धिक्कार्छन् र दर्शन भेट गर्ने गोप्य कोठामा पुगी टिकटको वरदान माग्छन् । जसका लागि राति सुत्नेबेला तयार गरेको गोप्य योजना अनुरुपको बचनवाणि अपर्याप्त हुने हुदाँ पूर्वद्वारप्रवेशीको केही खोट देखाउँदै, त्योभन्दा आफू सच्चा भक्त भएको र आफूसँग अत्यन्तै धेरै जनमत समेत भएको हुदाँ आफू माथि कृपा बक्स गर्न अनुनय विनयका साथ उपहार विसर्जन गर्छन् ।

उनलाई पनि ती शीर्ष नेताज्यूले ढुक्क हुन आग्रह गर्दै एक थान फोटो खिचाई विदा गरिदिन्छ् ।

यी र यस्ता शृङ्खला हाल काठमाडौंका विभिन्न दरवारहरूमा बर्गेल्ती देखिइरहेका छन् । एउटै जिल्ला, एउटै क्षेत्रबाट ८/१० जनाको नाम स्थानीय स्तरबाट सिफारिसमा पठाएको हुँदा सबैलाई चित्त नदुख्ने गरी नेता ज्यूहरूले ‘हुन्छ’ भनेर जिल्ला फर्केर चुनावी प्रचारमा लाग्न निर्देशनात्मक आदेश साथ पठाइदिएको देखिन्छ ।

उता सिफारिसमा पर्नुभन्दा अगाडिदेखि नै सुरु हुने खर्चपानको श्रृङ्खला जति वरवर आयो, त्यति त्यति चढ्दो डिग्रीमा हुन्छ । किनकि आफूले कम खर्च गर्‍यो भने सँगै सिफारिसमा परेकाहरूतिर आˆना कार्यकर्ता पुग्ने भयका कारण खर्च श्रृङ्खलाले “बटम अप एप्रोच” को सिद्धान्तलाई अंगीकार गरिरहेको देखिन्छ ।

नातागोता, साथीभाइ, आफन्त, छरछिमेकीहरूदेखि स्वदेश तथा विदेशमा रहेका चिनेजानेकासम्म आˆना स्तरको व्यापारी होस् वा जागिरे, सबैसँग आर्थिक सहायता माग्न भ्याइसकेका हुन्छन् ।

हुनेखाने प्रस्तावित उम्मेदवारहरूको बैंक खाता सकिइसकेको छ भने कम हुनेखानेको लौनो भैँसी, गजगजे खेत, बिक्री भइसकेको परिस्थिति छ । तर, ०७४ कात्तिक ०५ गते तब उनीहरूको छाँगाबाट झरे, जब फाइनल नाम लिष्टमा अर्कैको नाम देखे । अनि यसबेला चाहिँ उनीहरूले झल्झती सम्झँदैछन् ।

बागी उम्मदेवार बढ्नुको कारण

हाम्रो निर्वाचनमा बागी उम्मेदवार बढाउनुमा जति नेताहरू जिम्मेवार छन्, त्योभन्दा बढी हामी जनताहरू अनि आसेपासे कार्यकर्ता बढी छन् । माहोल बनाउन गरेको खर्च उठाउने च्याँखे दाउ हो बागी उम्मेदवार ।

यदि बागीमा पनि सफल हुन सकेनन् भने एकाध अपवादलाई छोडेर ठूलो संख्यामा धोती न टोपी हुने सम्भावना प्रवल छ, जुन पीडित वर्गका केही सदस्यहरूले चाँहि बागीमा उठेर त्यसलाई पनि म देखाइदिन्छु भनी कम्मर कसेका हुन्छन् भने केही निस्किृय नै हुन्छन् ।

हाल नेपालका धेरै जिल्लामा देखिइरहेका बागी उम्मेदवार उत्पतिका कारणहरू मध्ये ९० प्रतिशत कारण माथि उल्लेखित कारण हो । कोही पनि आˆनो घर भत्काएर विद्रोह गर्दैनन् उनको मनमा ठेस नपुगी ।

यहाँ बागी उम्मेदवारहरूको पनि मनमा ठूलो चोट पुगेको छ । धेरै ऋणमा हुर्केका छन् । धेरैले आफ्नो श्रीसम्पति सकेका छन् । विहान चिया पसलको चिया, खाजा, चुरोट होस् या साँझको दुरुमपानी कुनै को बिल भर्पाई गर्न कार्यकर्ता अगाडि सर्दैनन् । ती सबैको फरफारक गर्ने जिम्मा विचरा तिनै नेताको हुन्छ । तिरौँ भने कति दिन तिर्ने अनि एक दिन मात्र खर्च पूर्ताल गर्न भ्याइएन भने कार्यकर्ता अर्कै तिर सल्किहाल्ने डरले नेताजीहरू अत्यन्तै प्रताडित भएका छन् ।

बागी उम्मेदवारहरूको छ्यापछयाप्ती प्रादुभाव अनि सोबाट मूलपार्टीमा पर्न सक्ने क्षतिलाई आँकलन गरी हालै लोकतान्त्रिक र बाम गठबन्धनको शीर्ष वैठकले बागी व्यवस्थापन गर्ने रणनीति नै बनाएका छन् । यसमा पहिला उनीहरूलाई लोभ लालच दिई फकाउने अनि नमानेमा धम्क्याउने । तर, त्यस्तो आश्वासन त उनीहरूले स्थानीय तहको निर्वाचनमा पनि पाइसकेको र लास्टमा हिस्स बुढी खिस्स दाँत भइसकेकाले अब त्यस्ता बकमफूसे उधारो लालच/ प्रतिबद्धता अनि कारवाहीको धम्कीबाट के डराउँथे ? यदि डराउने नै भए किन उम्मेदवारी दिन्थे र स्वतन्त्रबाट ? यो केवल प्रताडना र कुण्ठाको पराकाष्ठा हो ।

सुरुमा नै यस समस्याहरूको समाधानमा ध्यान दिन नसक्नु बागी उत्पन्न हुने प्रजनन् समयलाई ध्यान दिन नसक्नु, ठूला पार्टीहरूलाई ठूलो चुनौती हुन सक्छ । यसको फाइदा अन्य साना दलले उठाउन सक्ने प्रवल सम्भावना छ । अतः बेलैमा सचेत भई हामीले बागी न्यूनीकरणका लागि आ-आफ्नो ठाउँबाट पहल गरौँ भन्ने यस लेखको मूल आशय हो ।

सबैलाई चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment