Comments Add Comment

त्रिशुली थ्री-एबाट हिउँदमा उत्पादन थाल्न सीजीजीसीलाई निर्देशन

सुख्खायाममा भारतबाट बिजुली नल्याउने लक्ष्य

 

१९ कात्तिक, काठमाडौं । विद्युत प्राधिकरणले त्रिशुली थ्री-ए जलविद्युत आयोजनाको निर्माण कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) लाई अर्को वर्षको हिउँदसम्ममा उत्पादन थाल्नेगरी काम गर्न निर्देशन दिएको छ ।

ठेकेदार कम्पनीहरु र आयोजनाले पनि तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शनिबार आयोजना स्थलमा पुगेर काम छिटो सक्न निर्देशन दिएका हुन् ।

तोकिएको समयअघि नै निर्माण सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता उपाध्याय र घिसिङले जनाएका छन् ।

‘आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएर विशेष निगरानीमा राखेको छ, त्यसैले तोकिएको समयअघि नै निर्माण सकिनु पर्छ,’ सचिव उपाध्यायले भने, ‘निर्माणमा आउने अवरोध र समस्या समाधानका लागि मन्त्रालय र प्राधिकरण सञ्चालक समिति सधैं तयार छन् ।’

भूकम्पपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ (३० अप्रिल २०१९) सम्म थपेको छ । हालसम्म ६५ प्रतिशत निर्माण सकिएको छ ।

लागत र समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा काम भइरहेको छ । सिभिल, विद्युतगृह, बाँध, सुरुङलगायत संरचना तथा इलेक्ट्रो र हाइड्रो मेकानिकलसम्बन्धि सम्झौता भएपछि १८ जेठ ०६८ देखि आयोजना कार्यान्वयनमा आएको थियो । ३५ महिनामा काम सक्नेगरी सीजीजीसीसँग ठेक्का सम्झौता भएको छ ।

समयमै निर्माणस्थल दिन नसक्दा, विद्युतगृह भूमिगत या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायत कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । सोही कारण आयोजनाको म्याद १६ असार ०७३ सम्म थपिएको थियो ।

विनासकारी भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका प्रभावित भयो ।

ठेकेदार कम्पनीले अहिले करिव तीन सय कामदार परिचालन गरी काम गरिरहेको छ । मुख्य संरचना, प्रसारण लाइन, भूकम्प र पहिरोले क्षति पुर्‍याएको बाँधस्थलको दायाँ-बायाँ र प्रवेश मार्गका विभिन्न स्थानमा भूक्षय नियन्त्रण र सडक मर्मत तीव्र बनाइएको छ ।

कार्यकारी निर्देशक घिसिङले आयोजनाको काममा तीव्रता दिन कुनै समस्या नरहेको बताए । ‘चिनियाँ एक्जिम बैंकले ऋणको अवधि थपिसकेको छ, सेनाले पनि काम सुरु गरिसकेको छ,’ उनले भने, ‘आगामी फेब्रुअरीभित्र विद्युत उत्पादन गर्ने गरी काम हुनुपर्छ, त्यस समयमा निर्माण सकिएमा हिउँदको विद्युत माग व्यवस्थापन गर्न भारतबाट बिजुली ल्याउनु पर्दैन, जुन मुलुकका लागि ठूलो उपलब्धि हो ।’

थप जनशक्ति परिचालन र निर्माणको समन्वयका लागि आयोजना, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीबीच हरेक साता बैठक बसी समस्या समाधान गर्न घिसिङले निर्देशन दिए ।

दुई सय २० केभी प्रसारण लाइनका एक सय ४२ वटा टावरमध्ये ९१ वटाको जग हालिएको छ । लाइन निर्माणमा केही ठाउँमा रहेको अवरोध हटाउन सुरक्षाकर्मीसमेत परिचालन गरिने घिसिङले बताए ।

उक्त आयोजना नेपाल सरकार र प्राधिकरणको लगानी तथा चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको छ । आयोजना नसकिँदै पाँच वर्षको व्याज तिर्नु नपर्ने अवधि सकिएर ऋण तिर्ने समय सुरु भएको थियो ।

एक्जिम बैकले केहीअघि म्याद थपेको थियो । उक्त बैंकमार्फत चीनले ११ करोड ५७ लाख अमेरिकी डलर ऋण दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment