Comments Add Comment

सच्चिएनन् बैंकहरु, नाफा घट्दो तर लगानी प्रवृत्ति उस्तै

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ११ वटाको नाफा घटेको छ ।

गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम रहँदा यसको प्रभाव बैंकहरुको नाफामा पारेको हो ।

‘बैंकहरुले उच्च लागतमा निक्षेप लिनुपर्ने अवस्था आएपछि कर्जाको आधार व्याजदर बढ्यो तर त्यो वृद्धिको लागत बैंकहरुले नै उठाउनुपर्यो, तीव्र प्रतिस्पर्धाको कारण ग्राहकमा भार पारिएन,’ सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले भने ।

दाहालका अनुसार भदौं यता कर्जा लगानी बढेकोले बैंकहरुको आम्दानीमा सुधार हुनसक्ने देखिएको भएपनि बैंकहरुले कर्जाको व्याजदर कम गर्न थालिरहेकाले आगामी दिनमा कस्तो अवस्था देखिनेछ तत्काल भन्न सकिदैन् ।

२६ वटा बैंकको वित्तीय विवरण प्रकाशित भएकोमा कुल नाफा ८ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो । नाफामा ६.२८ प्रतिशतको वृद्धि भएको हो । गत आवमा यस्तो नाफा ८ अर्ब २३ करोड रुपैयाँ नाफा रहेको थियो ।

गत वर्ष बैंकहरुको पूँजीको लागत औसत ३ प्रतिशतको हाराहारीमा रहेकोमा यसपटक बढेर ६ प्रतिशतमा रहेको छ ।

आधारदर भन्दा कममा लगानी गर्दै बैंक

बैंकहरुको प्रकाशित वित्तीय विवरण हेर्ने हो भने कर्जा लगानी गर्न लिइने आधार व्याज दर पछिल्लो समय उच्च बढेको छ । राष्ट्र बैंकले आधार दरभन्दा कममा कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन समेत दिएको छ । बैंकले उठाइरहेको निक्षेप पूँजीको लागत बढ्दा आधार दर पनि वृद्धि भइरहेको छ । यद्यपी कतिपय बैंकहरुले भने अझै आधार दरभन्दा कम व्याजमा कर्जा दिएर बैंकिङ अभ्यासमा असन्तुलन समेत ल्याइरहेका छन् ।

‘हामीले हालै पनि संघको बैठकमा केही बैंकहरुलाई सुध्रन भनेका छौं, तर सुध्रने छाँटकाँट ती बैंकहरुले देखाएका छैनन्, यसले पोहोर जस्तै असन्तुलन ल्याउने खतरा बढेको छ,’ नेपाल बैंकर्स एशोसिएशनका सल्लाहकार तथा हिमालयन बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक शमसेर जंग बहादुर राणाले बताए ।

गत बर्ष केही बैंकहरुले आक्रामक रुपमा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढि लगानी विस्तार गर्ने र पूँजी जुटाउन संस्थागत निक्षेपकर्ताहरुलाई बढिभन्दा बढि व्याजदर दिने गर्न थालेपछि बैंकिङ असन्तुलन देखिएको थियो ।

अहिले नै पनि बैंकहरुको निक्षेपको तुलनामा कर्जा लगानी उच्चले वृद्धि भइरहेको देखिएको छ । बैंकहरुको निक्षेपको वृद्धिदर औसतमा १७ प्रतिशत रहदा कर्जा लगानी भने २२ प्रतिशतले बढेको छ । निक्षेप संकलन २० खर्ब ९२ अर्ब रहेको छ भने कर्जा लगानी १६ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेपसंगको आधारमा मात्रै हेर्ने हो भने औसतमा ८३ प्रतिशत रहेको छ । केही बैंकहरको भने यो अनुपात ९० देखि ९१ प्रतिशतसम्म पुगेको छ । हुनतः प्राथमिक पूँजी र निक्षेपको तुलनामा भने कर्जा लगानी राष्ट्र बैंकले तोकेको सीमा (८० प्रतिशत) मुनि नै रहेको छ । तर, धेरै बैंकहरुले सहज रुपमा (आक्रामक भएर) कर्जा लगानी गर्न सक्ने अवस्था छैन् ।

चुक्ता पूँजी बढ्दा, मुनाफा गर्नुपर्ने दबाब कायमै

दुई वर्षअघि २ अर्बको चुक्ता पूँजीलाई बढाएर ८ अर्ब पुर्याउन राष्ट्र बैंकले जारी गरेको निर्देशन बैंकहरुले ‘लगभग’ समयमै परिपालन गरे ।  बैंकहरुले यो अवधिमा ४८ प्रतिशत अर्थात् ६१ अर्ब रुपैयाँले पूँजी बढाएका छन् । पूँजी बढेपछि बैंकहरुको सम्पत्ति (नेटवर्थ) मा ४१ प्रतिशतले वृद्धि भएको छ । तर, त्यस अनुसारको प्रतिफल वृद्धि हुन सकेको छैन् ।

पूँजी लगानी गरेर प्रतिफल बढ्न केही समय लाग्छ नै । अझ निक्षेपको बिस्तार सुस्त र कर्जाको व्याजदरमा संस्थाहरुबीच उच्च प्रतिस्पर्धा भइरहेकोले प्रतिफलमा प्रभाव पर्छ । तर बैंकको सञ्चालक समितिको दबाब प्रतिफल वृद्धिमा नै रहने गरेकोले पनि समस्या रहेको राणाले बताए ।

‘एक त बैंकहरुले हकप्रद र बोनसबाटै पूँजी बढाए, लगानी अनुसारको प्रतिफलको लागि सञ्चालक समितिबाट दबाब छ, यही कारण बैंकरहरुले गल्ति सुधार्न सकेका छैनन्,’राणाले बताए, ‘राष्ट्र बैंकले संस्थागत सुशासनमा अझै नियमन गर्न पर्ने देखिएको छ ।’  हाल बैंकहरुको सेयरमा प्रतिफल (आरओइ) औसतमा ११ प्रतिशत रहेको छ । गत वर्ष यो दर औसतमा २० प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment