Comments Add Comment

सप्तरी ४ः ‘भत्किएको’ गढ भर्सेस जातीय भोट

२४ कात्तिक, सप्तरी । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि चुनावका दलहरु तयारीमा जुटिसकेका छन् । आफ्नो पक्षमा नतिजा ल्याउनका लागि दलहरु हरेक किसिमको हथकण्डा अपनाउन व्यस्त छन् ।

सप्तरीको क्षेत्र नम्बर ४ का उम्मेदवारहरु पनि यसबाट अछुतो छैनन् । प्रतिनिधिसभाका लागि १४ जनाले उम्मेदवारी दिएपनि तीन जना चर्चामा छन् ।

मधेसी गठबन्धनबाट चुनाव लडेका मृगेन्द्रकुमार सिंह यादव, कांग्रेसका तेजुलाल चौधरी र वाम गठबन्धनका मोहम्मद इस्लाम मुख्य प्रतिस्पर्धी हुन् ।

पूर्वमन्त्री समेत रहेका मृगेन्द्रलाई राष्ट्रिय जनता पार्टीले उम्मेदवार बनाएको छ । कांग्रेसका उम्मेदवार निवर्तमान सांसद चौधरी युवा तथा खेलकुद राज्यमन्त्री हुन् भने इस्लाम पछिल्ला सबै चुनाव लड्दै आएका छन् ।

तीन उम्मेदवारले दोस्रो संविधानसभाको निर्वाचनमा पनि उम्मेदबारी दिएका थिए । यसमध्ये मृगेन्द्र र इस्लाम एउटै क्षेत्रबाट थिए भने चौधरी अर्काे क्षेत्रबाट ।

चौधरी तत्कालिन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए भने क्षेत्र नम्बर ६ बाट तत्कालिन फोरम लोकतान्त्रिकबाट उम्मेदबारी दिएका मृगेन्द्र र दलित जनजाति पार्टीबाट उम्मेदवार बनेका इस्लाम पराजित भएका थिए ।

यो पटक तीन उम्मेदवार क्षेत्र नम्बर ४ मा छन् र कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

भत्किएको गढलाई सुधार्ने प्रयासमा मृगेन्द्र

मृगेन्द्रकुमार सिंह यस्ता पात्र हुन्, २०७० को संविधानसभा अघि हरेक चुनाव जित्दै आएका थिए तर, दोस्रो संविधानसभामा पराजित भए ।

उनी लोकतान्त्रिक फोरमका उम्मेदवार थिए भने भाइ अनिरुद्वकुमार सिंह यादव फोरम नेपालबाट । दाजुभाइ चुनावी मैदानमा उत्रिँदा कांग्रेसका सुरेन्द्र यादवले बाजी गरे । मृगेन्द्र दोस्रो स्थानमा रहन पुगे ।

आफ्नो गढ अब उनको रहेन । पार्टी अध्यक्ष विजयकुमार गच्छदार सरकारमा गएपछि उनले दल त्यागको घोषणा गरे र सद्भावना पार्टीमा प्रवेश गरे ।

उसो त उनी विगतमा सद्भावनाकै सकृय कार्यकर्ता थिए । राजा ज्ञानेन्द्रले शाषण सत्ता हातमा लिएपछि सगरमाथा अञ्चलमा मनोनित भए । मधेस आन्दोलनको समयमा फोरम नेपालमा प्रवेश गरेका उनी पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित मात्र भएनन्, मन्त्री पनि बन्न सफल भए ।

अहिले उनी फोरम लोकतान्त्रिक, सद्भावना हुँदै राजपामा आइपुगेका छन् । उनलाई पार्टीमा ल्याएर टिकट दिनुको कारण उनको आफ्नो भोट मानिएको छ । ‘उनको आफ्नो मुठीको भोट धेरै छ’ राजपाका एक कार्यकर्ताले भने, ‘जसले जतिसुकै गरेपनि ती भोट अन्य ठाउँमा जाँदै जाँदैन् ।’

तर, उनको भनिएको गढ २०७० मै भत्किसकेको छ । त्यो फेरि कति कायम हुनसक्यो हेर्न बाँकी नै छ । साथै यस पटक भौगोलिक क्षेत्र फराकिलो बनेको छ । उनको प्रभाव नरहेको चुरे र पूर्व पश्चिम राजमार्ग क्षेत्र पनि क्षेत्र नम्बर ४ मा परेकाले मृगेन्द्रको के हुन्छ तत्काल भन्न गाह्रो छ ।

तेजुलाल कति तेज ?

मृगेन्द्र सिंह यादवसँग चुनावी मैदानमा ओर्लेका कांग्रेसका तेजुलाल चौधरी राजनीतिका पुरानो खेलाडी होइनन् । विद्यार्थी राजनीति नेवि संघबाट गरेपनि उनी पछिल्लो समय सफल विद्यालय सञ्चालकका रुपमा परिचित थिए ।

तर, दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट टिकट मात्र पाएनन्, चुनाव जितेपनि । आर्थिक हैसियत राम्रो भएका चौधरीको स्ट्रेन्थका रुपमा कांग्रेसको भोटका साथै थारु भोट माािनन्छ । पूर्व पूर्वपश्चिम राजमार्ग क्षेत्रमा थारुहरुको बसोबास राम्रै छ, जसले उनलाई जिताउन पनि सक्छ ।

इस्लामको यात्रा

मृगेन्द्र र तेजुलालसँगै वाम गठबन्धनका उम्मेदवार मो. इस्लामले लगातार तेस्रो चुनाव लड्दैछन् । लामो समय वैदेशिक रोजगारीमा रहेका इस्लाम पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार एकाएक चर्चामा आए । उनले दुई वटा दलित वस्तीमा आफ्नो व्यक्तिगत लगानीमै बाटो बनाइदिएका थिए । तर, पनि उनले चुनाव जित्न सकेनन् ।

दोस्रो संविधानसभा चुनाव पनि हारे । त्यसपछि आफ्नो नेतृत्वमा पार्टीकै गठन गरे । २०७२ सालमा मधेस आन्दोलन भइरहँदा उनले ‘दलित उत्पीडित मुक्ति मोर्चा’ नामक पार्टीकै गठन गरे आफ्नै नेतृत्वमा ।

नयाँ पार्टी खासै जम्न नसकेपछि उनले स्थानीय चुनाव मेयर बन्ने सपना बुने र बोदे बर्साइन नगरपालिकाको मेयरमा उम्मेदवारी दिए । यद्यपि सफल हुन सकेनन् । नेपाली जनता दलबाट चुनाव लडेका उनले १७ सय मत पाए ।

अहिले उनी एमालेसँग सहमति गरेर वाम गठबन्धनको उम्मेदवार बनेका छन् । चुनावपछि एमालेमा समाहित हुने प्रतिबद्वतापछि उनले टिकट पाएका हुन् । एमाले र माओवादीको संगठनको बलका साथै मुश्लिम भोटलाई आफ्नो आफ्नो पक्षमा पारेर चुनाव जित्ने उनको दाउ छ ।

को कति बलिया ?

सप्तरी ४ मा खड्ग, सुरुङ्गा र बोदे बर्साइन नगरपालिका तथा बलान-बिहुल गाउँपालिका पर्छ । स्थानीय तहको निर्वाचनमा चारमध्ये तीन तहमा मधेसवादी दलले जितेका छन् । खड्ग तथा बोदे बर्साइन नगरपालिका तथा बलान-बिहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले जितेको छ भने सुरुङा नगरपालिकामा कांग्रेसले जित हात पारेको छ ।

उत्तरी चुरे क्षेत्रदेखि भारतीय सीमासम्म जोडिएको यो क्षेत्रको माथिल्लो भागमा कांग्रेस र एमालेको प्रभाव पहिलादेखि नै छ । तर, पूर्व-पश्चिम राजमार्गदेखि दक्षिणसम्मको भागमा मधेसवादी दलको प्रभुत्व देखिएको छ ।

यो क्षेत्रमा कांग्रेस र मधेसवादी दलको तुलनामा वाम गठबन्धनको अवस्था कमजोर देखिएको छ । स्थानीय तहको निर्वाचनमा सुरुङा नगरपालिकामा एमाले दोस्रो भएको थियो । बलान बिहुल गाउँपालिकामा माओवादी भने दोस्रो भएको थियो फराकिलो मत अन्तरले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment