Comments Add Comment

गोरखा अस्पतालको पुराना भवन धमाधम भत्काइदै

१५ चैत, गोरखा । जिल्ला अस्पताल गोरखाको नयाँ भवन निर्माणका लागि पुरानो भवन भत्काउन शुरु गरिएको छ ।

आइतबारबाट हाल स्टोर रहेको पुरानो बहिरङ (ओपीडी) भवन र सुत्केरी गराउने तथा बिरामी भर्ना गर्ने अन्तरङ्ग भवन भत्काउन शुरु गरिएको अस्पतालले जनाएको छ ।

‘अहिलेको इमर्जेन्सी र ओपीडी भवनबाहेक पुराना सबै भवनहरु भत्काउछौ,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘त्यही ठाउँमा नयाँ भवन बन्छ ।’

जर्मन डेभलपमेन्ट बैक (केएफडब्लु) को सहयोगमा अस्पतालको नयाँ भवन निर्माण हुन लागेको छ । तर खाली ठाउँ नहुँदा पुराना र भूकम्पले क्षति पुर्‍याएको भवन भत्काएर त्यही ठाउँमा नयाँ बनाउन लागिएको हो ।

अत्याधुनिक सुविधा सम्पन्न उपकरण सहित ५० शैयाको अस्पताल निर्माणका लागी करिव २० देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भवन निर्माणका लागि करिव डेढ बर्षअघि नै सम्झौता भएको थियो । तर अस्पतालले ठाउँ उपलब्ध गराउन नसक्दा भवन निर्माणको काम शुरु हुन सकेको थिएन ।

ढिलै भए पनि भवन निर्माणका निम्ति ठाउँ उपलब्ध गराउन अस्पतालले पुराना भवन भत्काउन थालेको छ । ‘अहिले अस्पतालमा बिरामीको चाप बढी छ, सुत्केरी संख्या पनि बढेको छ,’ ढकालले भने, ‘भवन अभावका कारण ठाउँ साघुँरो भएको छ, सेवा दिन पनि समस्या छ ।’

अप्रेशन पश्चात बिरामीलाई राख्ने ठाउँ अपुग हुने गरेको छ । नयाँ भवन बनेसँगै सेवा प्रवाहमा सहज हुने उनको अपेक्षा छ । २०२९ सालमा सेवा शुरु गरेको अस्पतालको भवन २०४२ सालमा निर्माण भएको हो । २०६९ सालमा १५ शैयाबाट ५० शैयामा अस्पताल स्तरोन्नती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment