+

२०औं एसियन गेम्समा नेपालको प्रदर्शन किन कमजोर ?

२०८३ असोज  २३ गते १२:४७ २०८३ असोज २३ गते १२:४७

नेपाली खेलाडीहरू जित्नभन्दा पनि एसियन गेम्समा सहभागी हुन गएको जस्तो देखिए । विपक्षी खेलाडी तथा टोलीसँग प्रतिस्पर्धा गर्न नेपाललाई चुनौती देखियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको आइची–नागोयामा सम्पन्न २०औं एसियन गेम्समा नेपालले करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीमार्फत दुई कांस्य पदक जित्यो।
  • नेपालले पहिलो पटक स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने ‘मिसन २०२६’ लक्ष्य पूरा गर्न सकेन र ३६औं स्थानमा रह्यो।
  • समग्रमा नेपाली खेलाडीको प्रदर्शन कमजोर रह्यो, जसका कारण तयारी, अन्तर्राष्ट्रिय अनुभव र खेल प्रणालीको कमजोरीलाई मुख्य कारणका रूपमा औंल्याइएको छ।

जापानको आइची–नागोयामा सम्पन्न २०औं एसियन गेम्स (एसियाड) मा नेपालले जम्मा दुई कांस्य पदक जित्दै आफ्नो साख त जोगायो, तर पहिलो पटक स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यमा भने असफल रह्यो ।

नेपालका लागि करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कांस्य पदक जित्दै पदक तालिकामा नेपाललाई ३६औं स्थानमा रहन सहयोग गरे । एसियाका ४५ राष्ट्र र शरणार्थी टोलीले प्रतिस्पर्धा गरेको २०औं एसियाडमा ४० राष्ट्रले मात्र पदक जितेका थिए ।

जापानमा नेपालबाट विभिन्न २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिला कबड्डी टोलीले लगातार दोस्रोपटक पदक जित्दै कांस्यलाई निरन्तरता दियो । सबैभन्दा बढी आशा गरिएको करातेबाट नेपालले निराश हुनुपर्दा अन्तिमतिर प्रतिस्पर्धा गरेका तेन्जिङले पुरुष ८४ केजीमुनि तौल समूहमा कांस्य जित्दै करातेको साख जोगाए ।

तर, समग्रमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो । नेपाली खेलाडीहरू जित्नभन्दा पनि एसियन गेम्समा सहभागी हुन गएको जस्तो देखिए । विपक्षी खेलाडी तथा टोलीसँग प्रतिस्पर्धा गर्न नेपाललाई चुनौती देखियो । दुई कांस्य पदक र केही खेलमा एक–दुई खेल जित्नुबाहेक नेपाली खेलाडीको प्रदर्शन फितलो रह्यो ।

करातेमै पदकको आशा गरिएका एरिका गुरुङ, राकेश मानन्धर, मिनबहादुर तामाङ र महिला काता टोलीले पनि कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । तर, उनीहरूले पदक जित्न सकेनन् ।

यसका अतिरिक्त बक्सिङ, टेनिस, टेबलटेनिस र सफ्ट टेनिसमा नेपालले केही खेल जित्यो भने एथलेटिक्स र पौडीमा केही नयाँ राष्ट्रिय कीर्तिमान बने । करातेसँगै पदकको आशा गरिएका बक्सिङ, उसु, जुडोलगायत खेलबाट भने नेपाल निराश बन्यो ।

सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औं एसियन गेम्सपछि नै २०औं एसियाडलाई लक्षित गर्दै ‘मिसन २०२६’ का नाममा विशेष तयारी सुरु गरिएको थियो । यसको लक्ष्य पहिलो पटक एसियाडमा स्वर्ण पदक जित्नुका साथै दोहोरो अङ्कमा अर्थात् कम्तीमा १० पदक जित्नु थियो ।

तर, नेपाल यो मिसनमा असफल भयो। नेपालले ‘मिसन २०२६’ पूरा गर्न सकेन ।

त्यसो भए २०औं एसियाडमा नेपालको प्रदर्शन किन कमजोर भयो ? खेलाडीको प्रदर्शन किन अपेक्षाअनुसार हुन सकेन ? नेपालले राखेको लक्ष्य किन हासिल गर्न सकेन ? नेपाली खेलकुदको स्तर यति नै हो त ? नेपालले यसभन्दा राम्रो प्रदर्शन गर्न के गर्नुपर्थ्यो ? आगामी दिनमा अझ राम्रो नतिजा ल्याउन के गर्नुपर्छ ?

यस्तै, ‘मिसन २०२६’ अन्तर्गत १० खेलको विशेष तयारी गरिएको भएपनि दोब्बरजति खेलमा एसियाडमा सहभागिता जनाउनु उचित थियो कि थिएन भन्ने प्रश्न पनि उठेको छ । एसियाडमा सहभागिता जनाउनु नै ठूलो हो कि पदक जित्नु ठूलो भन्ने बहस त छँदै छ । त्यसैले २०औं एसियाडमा नेपालको कमजोर प्रदर्शनको समीक्षा गर्नु आवश्यक देखिएको छ ।

२०औं एसियन गेम्समा ठूलो लक्ष्य र पदकको आशासहित जापान पुगे पनि नेपालले अपेक्षित नतिजा निकाल्न सकेन । केही खेलाडीले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरे पनि समग्रमा नेपालले एसियाली खेलकुदको प्रतिस्पर्धात्मक स्तरसँग आफूलाई पर्याप्त रूपमा उभ्याउन सकेन ।

यसको कारण खेलाडीको क्षमता मात्रै होइन । नेपालको तयारी, खेल प्रणाली, अन्तर्राष्ट्रिय अनुभव, प्रशिक्षक तथा सहयोगी टोलीदेखि आधुनिक प्रशिक्षण पद्धतिसम्मका कमजोरी यसपटक स्पष्ट देखिए ।

१. कमजोर तयारी, असफल ‘मिसन २०२६’

नेपालले १९औं एसियाडपछि नै २०२६ को एसियाडलाई लक्षित गर्दै ‘मिसन २०२६’ को नारासहित तयारी सुरु गरेको थियो । तर, ठूला प्रतियोगिताका लागि नेपालको तयारी कमजोर देखियो र ‘मिसन २०२६’ पनि असफल साबित भयो ।

ओलम्पिकपछि विश्वकै ठूलो बहुखेल प्रतियोगितामध्ये एक मानिने एसियन गेम्सजस्तो प्रतियोगिताका लागि लामो समय प्रशिक्षण गर्दैमा पुग्दैन । त्यसका लागि योजनाबद्ध, वैज्ञानिक र निरन्तर तयारी आवश्यक हुन्छ ।

हरेक चार वर्षमा आयोजना हुने एसियन गेम्सका लागि सोहीअनुसार तयारी गर्नुपर्छ । नेपालले ‘मिसन २०२६’ अन्तर्गत करिब एक दर्जन खेलमा मात्रै विशेष प्रशिक्षण गरेको थियो । त्यो पनि समय–समयमा अवरुद्ध हुने, बजेट अभाव हुने र नियमित रूपमा प्रशिक्षण सञ्चालन नहुने समस्या देखिएको थियो । यसले गर्दा तीन वर्षको तयारी पनि प्रभावकारी हुन सकेन ।

यसका अतिरिक्त अन्य धेरै खेलमा नेपालले निरन्तर तयारी नगरी अन्तिम समयमा मात्र सहभागिताको टुङ्गो लगाएको थियो ।

ढिलो तयारी गर्ने, अन्तिम समयमा वैदेशिक प्रशिक्षणको व्यवस्था गर्ने र प्रतियोगिता नजिकिँदा मात्र तयारी तीव्र पार्ने प्रवृत्ति नेपाली खेलकुदमा अझै कायम छ । यसपटकको एसियाडको तयारीमा पनि यही प्रवृत्ति देखियो ।

‘मिसन २०२६’ अन्तर्गत कुन खेलबाट पदकको सम्भावना छ, कुन खेलमा लगानी बढाउँदा राम्रो नतिजा आउन सक्छ र कुन खेलाडीलाई कसरी तयार गर्ने भन्ने विषयमा ठोस योजना नभएको देखियो ।

पदक जित्नका लागि कति समय प्रशिक्षण गरियो भन्नेभन्दा पनि प्रशिक्षण प्रक्रिया कस्तो थियो, कस्तो सुविधा उपलब्ध गराइयो र तयारी कति प्रभावकारी रह्यो भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ ।

२. अन्तर्राष्ट्रिय अनुभवको कमी

नेपालले एसियाली स्तरमा पदक जित्ने लक्ष्य राख्ने हो भने तयारी पनि त्यहीअनुसार हुनुपर्छ । नेपालमै तयारी गर्ने र केही अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र सहभागी भएर एसियाडमा पदक जित्ने अपेक्षा गर्नु चुनौतीपूर्ण हुन्छ ।

एसियाडमा पदक जित्ने हो भने एसिया तथा विश्वस्तरीय खेलाडीसँग नियमित प्रतिस्पर्धा गर्नुपर्छ । तर, २०औं एसियाडअघि नेपालका अधिकांश खेलका खेलाडीले त्यो स्तरको अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न सकेनन् ।

नेपालमा मात्र प्रशिक्षण गर्ने र घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा नियमित प्रतिस्पर्धाको अवसर नपाउँदा आफ्नो वास्तविक स्तर जाँच्ने मौका पाउँदैनन् । यसले गर्दा उनीहरूलाई आफ्ना विपक्षीबारे पर्याप्त जानकारी हुँदैन र आफू कुन स्तरमा छु भन्ने आकलन गर्न पनि कठिन हुन्छ ।

नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु, आवश्यकताअनुसार विदेशी प्रशिक्षकको सहयोग लिनु र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण वातावरणमा अभ्यास गर्नु महत्त्वपूर्ण हुन्छ । नेपाल यी विषयमा चुकेको देखियो ।

जसले गर्दा एसियन गेम्समा पुगेपछि एसिया तथा विश्वका उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीमा अन्तर्राष्ट्रिय अनुभवको कमी देखियो ।

३. नेपाली खेल प्रणाली नै कमजोर

नेपाली खेलकुदको अहिलेको सबैभन्दा ठूलो समस्या खेल प्रणालीको कमजोरी हो ।

नेपालमा खेलाडी उत्पादनदेखि प्रतिभा पहिचान, प्रशिक्षण, प्रतियोगिता, खेल विज्ञान, इन्जुरी म्यानेजमेन्ट, पोषण र खेलाडीको करियर व्यवस्थापनसम्म जोडिएको बलियो प्रणाली अझै बन्न सकेको छैन । समग्रमा हेर्दा नेपाली खेलकुद स्पष्ट योजना र प्रणालीभन्दा पनि तदर्थ ढङ्गले सञ्चालन भइरहेको देखिन्छ ।

कुन खेलबाट एसियन गेम्समा पदकको सम्भावना छ ? कुन खेलाडीलाई चार वर्षसम्म कसरी तयार गर्ने? कुन प्रशिक्षक आवश्यक छ ? कुन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्छ ? यस्ता विषयमा दीर्घकालीन र तथ्यमा आधारित योजना आवश्यक हुन्छ ।

तर, नेपाली खेलकुदमा यी विषयलाई पर्याप्त प्राथमिकता दिएको देखिँदैन ।

खेलाडीको प्रतिभा पहिचानदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने स्तरसम्म पुर्‍याउन एउटै निरन्तर प्रणाली आवश्यक हुन्छ । खेलाडीको विकासलाई प्रतियोगिता नजिकिँदा मात्र सम्झिने होइन, वर्षभरि योजनाबद्ध रूपमा काम गर्नुपर्छ ।

४. प्रशिक्षक र सहयोगी टोलीको अभाव

आधुनिक खेलकुदमा मैदानमा खेलाडी मात्रै हुँदैनन् । खेलाडीको पछाडि प्रशिक्षक, फिटनेस प्रशिक्षक, फिजियोथेरापिस्ट, पोषणविद्, खेल मनोवैज्ञानिक, रिकभरी विशेषज्ञ र प्रदर्शन विश्लेषकलगायतको टोली हुन्छ ।

नेपालमा धेरै खेलाडी अझै सीमित प्रशिक्षक र स्रोतसाधनका भरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न बाध्य छन् । २०औँ एसियाडमा पनि नेपालका १३५ खेलाडीका लागि मेडिकल टोलीमा जम्मा छ जना मात्र थिए । क्रिकेट टोलीसँग छुट्टै फिजियोथेरापिस्ट भए पनि अन्य खेलका खेलाडीले सधैँ आवश्यक मेडिकल सहयोग पाउने अवस्था थिएन ।

खेलाडीले मैदानमा कस्तो प्रदर्शन गर्छ भन्ने कुरा उसकै क्षमतामा मात्र निर्भर हुँदैन । प्रशिक्षक, व्यवस्थापन, सहयोगी टोली र खेलाडीलाई उपलब्ध गराइने सुविधाले पनि प्रदर्शनमा प्रभाव पार्छ ।

खेलाडीको प्रदर्शन विश्लेषण गर्ने, कमजोरी पहिचान गर्ने, शारीरिक तथा मानसिक रूपमा तयार पार्ने र चोटपटकबाट जोगाउँदै प्रतिस्पर्धाका लागि तयार राख्ने काममा सहयोगी टोलीको महत्त्वपूर्ण भूमिका हुन्छ ।

त्यसैले खेलाडीको प्रदर्शन सुधार्न खेलाडीमाथि मात्र ध्यान दिएर पुग्दैन । उसलाई तयार पार्ने सम्पूर्ण टोली र प्रणाली पनि उत्तिकै सक्षम हुनुपर्छ ।

५. प्रतिस्पर्धीहरूको उत्कृष्ट तयारी

एसियाडमा नेपालको प्रदर्शन कमजोर हुनुको अर्को कारण अन्य देशको उत्कृष्ट तयारी पनि हो ।

नेपालले पुरानै शैलीमा प्रशिक्षण र तयारी गरिरहँदा अन्य देश खेल विज्ञान र प्रविधिको प्रयोगमार्फत धेरै अगाडि बढिसकेका छन् ।

चीन, जापान, दक्षिण कोरिया, इरान, कजाखस्तान र भारतलगायत देशले खेलाडीको तयारीमा आधुनिक विज्ञान र प्रविधिको व्यापक प्रयोग गरिरहेका छन् । उनीहरूका खेलाडीले वर्षौंदेखि उच्चस्तरीय प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगिता, खेल विज्ञान, पोषण, रिकभरी र मनोवैज्ञानिक तयारीलगायतका क्षेत्रमा निरन्तर काम गरिरहेका हुन्छन् ।

तर, नेपाली खेलकुदको अवस्था फरक छ । नेपालमा प्रतिभा र क्षमता भएका खेलाडी भए पनि उनीहरूलाई अझ उत्कृष्ट बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने विषयमा विशेष ध्यान दिन आवश्यक छ । नेपाली खेलकुदमा यस्तो अभ्यास पर्याप्त रूपमा देखिँदैन ।

नेपाली खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नुका साथै प्रतिस्पर्धी खेलाडीको स्तर र उनीहरूको तयारीलाई पनि ध्यानमा राख्नुपर्छ । प्रतिस्पर्धीभन्दा राम्रो नतिजा ल्याउने लक्ष्य राख्ने हो भने तयारी पनि त्यही स्तरको हुनुपर्छ ।

६. पदक जित्नुपर्ने दबाब

राष्ट्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न गएपछि सबैको लक्ष्य देशका लागि पदक जित्नु नै हुन्छ । खेलाडीबाट पदकको आशा राख्नु स्वाभाविक पनि हो । तर, पर्याप्त तयारी नभएको अवस्थामा खेलाडीमाथि पदक जित्नुपर्ने दबाब थपिँदा त्यसले मनोवैज्ञानिक रूपमा असर पार्न सक्छ ।

‘स्वर्ण जित्नुपर्छ’, ‘पदक ल्याउनुपर्छ’ भन्ने दबाब दिनुअघि खेलाडीलाई जित्न आवश्यक सबै तयारी र सुविधा दिइएको छ कि छैन भन्ने विषयमा सोभ्न आवश्यक छ । उपलब्ध तयारी पर्याप्त छ कि छैन, पदक जित्न थप विशेष प्रशिक्षण आवश्यक छ कि छैन भन्ने विषयमा पनि ध्यान दिनुपर्छ ।

१९औं एसियाडमा ऐतिहासिक रजत पदक जितेर इतिहास रचेकी करातेकी एरिका गुरुङबाट नेपालले २०औं एसियाडमा स्वर्ण पदकको आशा राखेको थियो । एरिकाको पनि स्वर्ण जित्दै ‘मिसिङ गोल्ड’ को लक्ष्य पूरा गर्ने चाहना थियो होला । तर, उनको तयारी त्यो स्तरको थियो कि थिएन भन्ने प्रश्न उठ्छ ।

एरिका मात्र होइन, अन्य खेलाडीको हकमा पनि पदक जित्नुपर्ने दबाबले प्रदर्शनमा असर पार्न सक्छ । त्यसैले पदकको अपेक्षा राख्नुका साथै खेलाडीलाई प्रतियोगिताअघि मानसिक रूपमा तयार पार्न पनि उत्तिकै आवश्यक हुन्छ ।

७. जित्नका लागि तयारी नै पुगेन

जित्ने लक्ष्य राखेर मात्र हुँदैन, जित्नका लागि त्यहीअनुसारको तयारी पनि चाहिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो ।

नेपालले धेरैपटक प्रतियोगितामा सहभागी हुन तयारी गर्छ, पदक जित्ने लक्ष्य राख्छ र पदकको आशा पनि गरिन्छ। तर, जित्नका लागि आवश्यक पर्ने पर्याप्त र प्रभावकारी तयारीमा भने कमी देखिन्छ ।

एसियन गेम्समा सहभागिता जनाउनु र पदक जित्ने स्तरमा प्रतिस्पर्धा गर्नु दुई फरक कुरा हुन् ।

पदक जित्नका लागि खेलाडी छनोटदेखि दीर्घकालीन प्रशिक्षण, अन्तर्राष्ट्रिय अनुभव र मैदानबाहिरका विभिन्न पक्षमा पनि ध्यान दिनुपर्छ । त्यसका लागि नेपालले कति लगानी गर्‍यो, कति समय दियो र कस्तो तयारी गर्‍यो भन्ने विषयको समीक्षा आवश्यक छ ।

अब नेपालले ‘एसियन गेम्समा कति खेलाडी पठाउने?’ भन्ने प्रश्नभन्दा पहिले ‘कुन खेलमा पदक जित्ने र त्यसका लागि कति वर्षसम्म कसरी तयारी गर्ने?’ भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ ।

अबको बाटो

२०औं एसियन गेम्समा नेपालले दुई कांस्य पदक जितेर कम्तीमा पदक तालिकामा आफ्नो उपस्थिति जनायो । तर, यसैमा सन्तुष्ट हुनेभन्दा पनि २०औं एसियाडको प्रदर्शनलाई सूक्ष्म रूपमा समीक्षा गर्दै त्यसबाट पाठ सिकेर नेपालको खेल प्रणाली पुनर्संरचना गर्न ढिला गर्नु हुँदैन ।

अबको लक्ष्य धेरै खेलमा सहभागिता जनाउनु मात्र होइन, पदकको सम्भावना भएका खेलमा उत्कृष्टता हासिल गर्नु पनि हुनुपर्छ ।

नेपालमा प्रतिभाको कमी छैन भन्ने कुरा हामी सधैं दोहोर्‍याउँछौँ । तर, चुनौती प्रतिभा पहिचान गर्नुमा मात्र होइन, त्यसलाई अन्तर्राष्ट्रिय स्तरको च्याम्पियनमा रूपान्तरण गर्नुमा छ ।

नेपाली खेलकुदले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा यही हो, ‘एसियन गेम्समा सहभागी हुन होइन, पदक जित्नका लागि तयारी गर्नुपर्छ ।’

२०औं एसियन गेम्स एसियन गेम्समा नेपाल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय