Comments Add Comment

‘मिनी सौराह’ को प्रचार गर्न राईनोकुञ्ज पर्यटन मेला

१५ चैत, चितवन । पर्यटन वर्ष २०२० लाई टेवा पुर्‍याउने उद्धेश्यका साथ चितवनको भरतपुर महानगरपालिका-१३ मा राईनोकुञ्ज पर्यटन मेला आयोजना हुने भएको छ ।

राईनोकुञ्ज क्षेत्रको जैविक विविधताको संरक्षण र पर्यापर्यटनको विकासका लागि चैत ३० गतेदेखि वैशाख २ गतेसम्म मेला आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

वडाको सक्रियतामा सञ्चालन गर्न लागिएको मेलामार्फत राईनोकुञ्जको प्रचार प्रसारलाई जोड दिइने वडाध्यक्ष एवम् राइनोकुञ्ज पर्यटन मेला-२०७५ का संयोजक प्रकाश दवाडीले जानकारी दिए ।

पर्यटकीय नगरी सौराहाको झल्को मेटाउने गरेर भरतपुर महानगरपालिका-१३ मा राइनो कुञ्ज पर्यटकीय क्षेत्रको रुपमा विकास भएकोले यसलाई प्रवर्द्धन गर्न लागिएको अध्यक्ष दवाडीको भनाइ छ ।

चितवन राष्ट्रिय निकुन्जको संगममा रहेको राईनोकुञ्ज क्षेत्रमा छितामाई मन्दिर, बाटुली पोखरी ताल, शहीद पार्क, कमल पोखरी, श्रमिक ताल, गैडा ताल र भ्यु टावर रहेका छन् ।

मेला अवधिभर ऐतिहासिक एवम् धार्मिक स्थलहरुको अवलोकन, जीप सफारी, हात्ती सफारीमार्फत चितवन राष्ट्रिय निकुन्ज भित्रका जंगली जनावर र चराचुरुङ्गीहरुको अवलोकन, राप्ती तथा वाटुलीपोखरी तालमा डुङ्गा सयर, विभिन्न जातिका आ-आफ्नै कला संस्कृति झल्कने झाँकिहरुको प्रर्दशनी र थारु, वोटे, तामाङ, गुरुङलगायतका विभिन्न जनजातिहरुका भेषभुषा तथा कलासंस्कृतिको अवलोकन गर्न पाइने दवाडीले बताए ।

सौराहा क्षेत्रको विपरीत दिशामा रहेकोले पनि यस क्षेत्रलाई हिजोआज ‘मिनी सौराहा’ को रुपमा लिने गरिएको छ ।

मेलामा स्थानीय परिकारहरू चिचर, घोंगी, कुखुरा र हाँसका परिकारका साथैं स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षणका रूपमा रहेका छन् ।

भरतपुर महानगरपालिकाको १३ नम्बर वडा क्षेत्र साबिक गीतानगर र पटिहानी क्षेत्र नै राइनो कुञ्ज क्षेत्रको रूपमा परिचित छ ।

सरकारले यो क्षेत्रलाई पर्यटकीय गन्तब्य घोषणा गरिसकेको छ । सर्वसाधरणका लागि २५ रूपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ प्रवेश शुल्क राखिएको मेलामा १०० वटा स्टल रहने छन् ।

मेला सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । भरतपुर विमानस्थलसम्म हवाई यात्रा र त्यहाँबाट करिब ८ किलोमिटर दूरी पार गरेपछि राईनोकुञ्ज क्षेत्र पुगिन्छ ।

मेला आयोजना हुन लागेको क्षेत्र वरपर दुई वटा ठूला होटल रहेका छन् भने १० बढी साना होटल सञ्चालनमा छन् ।

राइनोकुञ्ज क्षेत्रमा नयाँ बन्ने होटल र रिसोर्टहरु बन्ने क्रममा छन् । अर्को वर्षबाट राइनोकुञ्ज पर्यटन महोत्सव गर्ने वडाध्यक्ष दवाडीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment