२७ असार, बैतडी । बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उक्त रक्तचापको समस्या देखिएको छ ।
स्वास्थ्य कार्यालय बैतडीले गरेको स्वास्थ्य परीक्षण अभियानअन्तर्गत १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा ८ हजार १८४ जना महिला र ५ हजार ३४७ जना पुरुष थिए ।
स्वास्थ्य कार्यालय बैतडीले शनिबार जिल्ला अस्पतालको सभाहलमा गरेको अन्तरक्रिया कार्यक्रममा चालु आवको स्वास्थ्य परीक्षणबाट प्राप्त तथ्यांक सार्वजनिक गरिएको हो ।
ती परीक्षणका क्रममा सबैभन्दा पनि समस्या उच्च रक्तचापकै देखिएको कार्यालयले जनाएको छ । जिल्लाभर एक हजार ४१० जनामा उच्च रक्तचाप पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । जुन कुल परीक्षणको १०.४२ प्रतिशत हो ।
यसैगरी, ८२९ जनामा मोटोपन, ५२७ जनामा मधुमेह र ९७ जनामा मिर्गौला रोग पहिचान भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ भने विभिन्न रोग पहिचान भएका एक हजार २३० जनाले उपचार सेवा प्राप्त गरेको तथ्यांकमा उल्लेख छ ।
यस्तै, स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार गत आर्थिक वर्षमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार १०३ जना बालबालिकामा गरिएको पोषण अवस्थाको परीक्षणमा ११३ जनामा कडा खालको कुपोषण भेटिएको छ । ५१६ जनामा बालबालिकामा मध्यम खालको कुपोषण भेटिएको उनले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जिल्लामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवालासँग सहकार्य र समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए ।
उनले स्वास्थ्यका सूचकाङ्कमा सुधार हुनु मात्र पर्याप्त नभई नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउने सुनिश्चितता गर्नु कार्यालयको मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।
प्रतिक्रिया 4