Comments Add Comment

चिसो मुस्ताङमा चुनावी गर्मीः मामा–फुपूका छोराहरुबीच रोचक भीडन्त

७५ प्रतिशत जित सुनिश्चित भएको गौचन र तुलाचन दुवैको दाबी


३० कात्तिक, पोखरा । वडा एउटै, गाउँ एउटै । मुश्किलले दुई सय मिटर दूरीको घर । एकजना मामाका छोरा, अर्का फूपूका । मुस्ताङमा चुनावी प्रतिस्पर्धामा होमिएका छन्, रोमी गौचन थकाली र प्रेमबहादुर तुलाचन ।

मर्दा–पर्दा होस् या शुभकार्य, एकै ठाउँ भेला हुन्छन् दुवैका आफन्तजन । तर, दुवैका घरमा फहराइरहेछन्, फरक–फरक पार्टीका झण्डा ।

आफन्तहरु सोचमग्न छन्, यसपटक कसलाई भोट दिने हो । उनीहरुका घरमा पुग्दा पनि उनीहरुकै पार्टीको मान्छेको आरोप लाग्ने डरमा देखिन्छन्, आफन्तजन ।

दुई दाजुभाइको प्रतिस्पर्धाले यतिबेला पूरै जिल्ला तताइरहेको छ । एमाले र माओवादीका साझा उम्मेदवार हुन्, मामाका छोरा तुलाचन र कांंग्रेसका उम्मेदवार हुन्, फूपूका छोरा गौचन ।

पूर्वजिविस सभापति तुलाचन निर्माण व्यवसायी पनि हुन् । र, गौचन पूर्वमन्त्री हुन् । उनीहरुबीचको प्रतिस्पर्धाको चर्चाका कारण हिमाली जिल्ला मुस्ताङको चिसो पनि बिर्साएको छ, मतदातालाई ।

मुस्ताङमा पहिलो चरणमा १० मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ । दुवै यतिबेला मतदाता फकाउन गाउँ–गाउँ पुगेका छन् । कतिपय ठाउँमा हिउँ झरेर बाटो हिँडिनसक्नु भइसकेको छ ।

गौचन र तुलाचनले त्यसको कुनै परवाह गरेका छैनन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनीहरु नै प्रतिस्पर्धी थिए । अहिले पनि आफ्ना पक्षमा मत तान्न एकले अर्कोलाई होच्याउने र गिराउने भाषण पनि गर्न थालेका छन् ।

‘अहिले घरदैलोमै छु । लोमान्थाङ घुमेर चराङमा खाना खाँदै छौं, जनताले उहाँलाई दुई पटक सांसद बनाइसके, अब मलाई जिताउने हो भनेका छन्,’ एमाले उम्मेदवार तुलाचनले अनलाइनखबरसँग भने, ‘चुनावताका मात्रै कोरलाको नारा लिएर आउनेले अब चुनाव जित्दैन । चुनाव जित्न त गाउँको सुख, दुःखमा सँगै बस्नुपर्छ ।’

गौचन भाषण गर्न र मान्छे झुक्याउन सिपालु भएको तुलाचनले आरोप लगाए । ‘उहाँ भाषण गर्न सिपालु, म काम गर्न सिपालु । अब जनताले आफैं छुट्याउँछन्,’ तुलाचनले भने, ‘म निर्माण व्यवसायी पनि हुँ । कहाँ के बनाउनुपर्छ मलाई राम्ररी थाहा छ ।’ उनले ७५ प्रतिशत आफ्नो जित सुनिश्चित रहेको बताए ।

ठेकेदार उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा हुनै नसक्ने पूर्ववाणिज्यमन्त्री गौचनले बताए । ‘उहाँ ठेकदार हो, ठेकेदारी राम्रो गर्नुहुन्छ । राजनीति होइन,’ गौचनले भने, ‘मेरो विषयमा भन्नै पर्दैन । म मुस्ताङमा २५/३० वर्षदेखि राजनीति गरिरहेको छु । मैले कति विकास गरें जनतालाई थाहा छ ।’

उनले जनताको घरदैलोमा पुग्दा उत्साह बढेको बताए । ‘म घरदैलोकै क्रममा अहिले कागबेनीमा छु । म सधैं जनतासँग छु त्यसैले मलाई चुनाव जित्न गाह्रो छैन,’ गौचनले भने । गौचन पनि ७५ प्रतिशत जित सुनिश्चित रहेको बताउँछन् ।

अनुमान गर्न कठिन रोचक प्रतिस्पर्धा

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा गौचनले तुलाचनलाई १३ मतले हराएका थिए । तुलाचन पनि पहिले कांग्रेसमै थिए । तर, दोस्रो संविधानसभामा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । अहिले भने एमाले प्रवेश गरेका छन् ।

दुवै स्थानीयस्तरमा भिजेका र जिल्लालाई माया गर्ने नेता मानिन्छन् । यसपटक कसको पल्ला भारी होला भन्न कठिन छ ।

कांग्रेस उम्मेदवार गौचन ०३६ सालमा इन्जिनियरिङ क्याम्पस पुलचोक अध्ययन गर्दै गर्दा राजनीतिमा प्रवेश गरेका थिए । ०५६ मा प्रतिनिधिसभा र ०७० मा प्रत्यक्षतर्फ संविधानसभामा निर्वाचित भएका थिए । ०६४ को पहिलो संविधानसभामा उनी समानुपातिक कोटाबाट सभासद् बनेका थिए ।

२०४७ सालमा कांग्रेसबाट राजनीति थालेका तुलाचन ०५४ को स्थानीय निकाय निर्वाचनमा सोही पार्टीबाट जिविस सभापति बनेका थिए ।

उनी होटेल र ट्राभल व्यवसायी पनि हुन् । मुस्ताङको यातायात सेवामा सिन्टिकेट हटाउनेदेखि जिल्लामा खेलकुदको विकासमा उनको योगदान उल्लेखनीय मानिन्छ । उनले लगातार १२ वर्ष थाक खेलकुद तथा सांस्कृतिक विकास संघको अध्यक्ष भएर जिल्लाको खेलकुदलाई उचाइमा पु¥याए ।

प्रदेशसभातर्फ ‘क’मा ल्होमान्थाङ–३ का मिक्युर गुरुङ कांग्रेस र ल्होमान्थाङकै इन्द्रधारा बिष्टले वाम गठबन्धनबाट टिकट पाएका छन् । बिष्ट पनि यसअघि कांग्रेसकै समर्थक थिए । दुवैको पृष्ठभूमि कांग्रेस भएकाले पनि गुरुङ र बिष्टको प्रतिस्पर्धा पेचिलो बनेको छ ।

प्रदेश ‘ख’मा कांग्रेसका छिरिङधावा गुरुङ र एमालेका महेन्द्रबहादुर थकाली प्रतिस्पर्धामा छन् । उक्त क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका प्रवीण शेरचन पनि चुनावी मैदानमा छन् ।

कांग्रेस उम्मेदवार गुरुङ मुक्तिनाथ रानीपौवाका बासिन्दा हुन् । एमालेका थकाली जोमसोमका बासिन्दा हुन् । गुरुङ ०३६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

जिल्ला पञ्चायत सदस्य, ०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्य उम्मेदवार र सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन्, गुरुङ । थकाली भने सरकारी सेवाबाट अवकाशप्राप्त हुन् ।

मुस्ताङमा ३७ मतदान केन्द्र र नौ हजार चार सय २७ मतदाता छन् ।

यस्ता छन् एजेन्डा

पर्यटकीय जिल्ला भएकाले मुक्तिनाथको थप संरक्षण र व्यवस्थापन गरेर पर्यटक संख्या बढाउने दुवैका एजेन्डा छन् ।

उनीहरुका अधिकांश एजेन्डा साझा छन् । दुवैका एजेन्डामा कोरला नाका सञ्चालनमा ल्याउने उल्लेख छ ।

‘मुक्तिनाथदेखि दामोदरकुण्ड, मानसरोवर, तिलिचो ताललाई जोडेर धार्मिक पर्यटकीय हब बनाउने मेरो योजना छ,’ गौचनले भने, ‘मुक्तिनाथ आउने धर्मावलम्बीको संख्या बढाएर जिल्लाको आर्थिक समृद्धिका लागि थप व्यवस्थापन गर्नेछु ।’

धुम्बाताल, धौलागिरि आधार शिविर र जिल्लामा भएका गुम्बालाई समेटेर पर्यटनलाई व्यवस्थित गर्ने उनको योजना छ ।

मुस्ताङ आउने पर्यटकका लागि सडकको स्तरोन्नती उनको अर्को एजेन्डा हो । ‘बेनी–जोमसोम–कोरला नाका कच्ची थियो । म सांसद र मन्त्री हुँदा बेनीदेखि कोरलासम्म दुई लेन सडक विस्तारित भएको छ,’ गौचनले भने ‘टेन्डरमा ढिलाइ भएकाले मात्र कालोपत्रे रोकिएको हो ।’

यस्तै, ग्रामीण विद्युतीकरण आयोजना, हरेक स्थानीय तहमा बिजुली पुर्‍याउने तथा थप विद्युतगृहमार्फत् जिल्लालाई आर्थिक विकासतर्फ उन्मुख गराइने उनले बताए ।

तुलाचनका एजेन्डा पनि विकास निर्माणसँगै सम्बन्धित छन् । ‘मुस्ताङ पर्यटकीय जिल्ला पनि हो । मेरो पहिलो प्राथमिकता पनि पर्यटन नै हो,’ उनले भने, ‘त्यसबाहेक पदमार्ग, गुफा, मठमन्दिरसम्म पर्यटकलाई पुर्‍याउने मेरो योजना छ ।’

आन्तरिक/बाह्य पर्यटकको बसाइ लम्व्याउन विभिन्न प्याकेज ल्याइने उनले बताए ।

अहिले मुस्ताङ पुग्ने पर्यटकका लागि होटेलको असुविधा छ । त्यसैले होटेलहरुको क्षमता विस्तारमा लाग्ने उनले बताए ।

धुलाम्य सडकले पर्यावरण बिगारिरहेकाले बेनी–जोमसोम–कोरला सडकमा तत्काल कालोपत्रे बिछ्याउन प्राथमिकता दिने उनको भनाइ छ ।

‘एमाले अध्यक्ष केपी ओली र संसदको विकास समितिको सभापति रवीन्द्र अधिकारीले कोरलासम्म स्थलगत अध्ययन गर्नुभयो । र, उहाँहरु फर्केपछि पोखरादेखि कोरलासम्मको सडकलाई रकम विनियोजन गर्नुभयो र काम पनि शुरु भइसक्यो,’ उनले भने, ‘मेरो उम्मेदवारी जिल्लाको विकासका लागि हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment