Comments Add Comment

भूकम्पपछिको पुनर्निर्माणः हराउँदै इपिसेन्टरको मौलिकता

ढुंगाका घरको साटो आरसीसी बिल्डिङ धमाधम

३ मंसिर, बारपाक (गोरखा) । छेवेटार बजार नजिकको दरौंदी पुल तरेर उकालो लाग्दै गर्दा ठाउँ-ठाउँमा सडक विस्तारमा लागेका हेभी उपकरणले बाटो छेक्छन् । उपकरणका साथमा मजदूरहरु दिनरात सक्रिय देखिन्छन् ।

१२ वैशाख ०७२ को विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाक पुग्दा जताततै आरसीसी भवन ठडिने क्रम तीव्र देखिन्छ । ढुंगाको गारो र ढुंगाकै छानोबाट निर्मित एकनासे घर अब बारपाकका लागि इतिहास बन्दैछन् । भूकम्पका कारण घर भत्किएको ढुंगाको थुप्रोमै सीमित देखिन्छ, त्यहाँको मौलिकता ।

मनास्लु फेरो मार्ने विदेशी पर्यटकका लागि पहाडको टुप्पोमा अवस्थित यो बजार थकाइ मार्ने गन्तव्यमा सीमित बन्दैछ । स्थानीय होमस्टेका सञ्चालक मनबहादुर घले लेकाली टिम्मुरको स्वादसहितको गोलभेंडाको अचार पस्किँदै थिए । गोलभेंडा भने स्थानीय जातको नभई हाइबि्रड गरिएको आधुनिक प्रजातिको थियो ।

बजारका रेस्टुराँहरुमा स्थानीय जातको खुर्सानी हालिएको कुखुराको मासुको तिख्खर पिरो झोल आम परिकारझैं बनेको छ । कुखुरा भने स्थानीय जातका नभई ब्रोइलर प्रजातिका हुन् ।

रेस्टुराँहरुका साइनबोर्डमा दुईदिने पैदलयात्रामा पुग्न सकिने हिमाल आसपासका ठाउँका नाम सजाइएका छन् । त्यहाँ पाइने परिकार भने चाउमिन, मःमलगायत शहरी स्वादका हुन्छन् । ढिंडो, गुन्द्रुक, सिस्नोलगायत स्थानीय परिकारका स्वाद विस्तारै दुर्लभ बन्दैछन् ।

भूकम्पले तहसनहस बनाएको बस्तीमा जसले घर ठड्याएका छन्, ती आरसीसी भवन हुन् । र, जसले बनाउन सकेका/पाएका छैनन्, त्रिपाल र जस्तापाताको ओत अनिवार्यझैं बनेको छ ।

‘भूकम्पले बस्ती मात्र तहसनहस बनाएन, हाम्रो संस्कृति र मौलिकतासमेत ढालेको अनुभूति भएको छ,’ स्थानीय जितबहादुर घले भन्छन्, ‘विस्तारै बारपाक शहर बन्दैछ ।’

पुननिर्माणको गति सुस्त

करिब १४ सय घर भत्केका थिए, बारपाकमा । हालसम्म करिब तीन सय घर मात्र पुनर्निर्माण भएका छन् । अधिकांश बारपाकी अस्थायी टहरामै छन् ।

राहतमा पाएको दुई बन्डल जस्तापाता घामपानी छेक्ने ओतको एक मात्र विकल्प बनेको छ ।

पुनर्निर्माणमा प्राविधिक नै बाधक बनेको बारपाकीको गुनासो छ । भूकम्प गएको लामो समयसम्म गाउँमा प्राविधिक नआउँदा पीडितहरु अन्योलमा रहे ।

सरकारी मापदण्डअनुसार घर बनाए मात्र अनुदान रकम पाउने भनिएको छ । तर, प्राविधिक अभावमा स्थानीय बासिन्दाले घर बनाउन सकेनन् । भौगोलिक अवस्थ्ाा बुझेर मापदण्डमा केही लचकता अपनाउनुपर्ने उनीहरुको भनाइ छ ।

‘प्राविधिककै सल्लाहअनुसार घर बनाए पनि पास भएको छैन,’ स्थानीय बासिन्दाको भन्छन् । प्राविधिक बसेर निर्माण गरेको नमूना घरलाई पनि दोस्रो किस्ता दिइएको छैन ।

बारपाक स्नानगाउँका अधिकांश पीडितले बनाएका घर मापदण्डविपरित रहेको बताउँदै प्राविधिकले सिफारिस गरेका छैनन् । लामो समय प्राविधिक गाउँमा नआएपछि स्थानीय बासिन्दा आफैं घर बनाउन बाध्य भए ।

प्राविधिकले अनुदान सिफारिस नगर्दा उनीहरु समस्यामा परेका छन् ।

‘मापदण्डबारे हामीलाइ थाहै थिएन, गाउँमा प्राविधिकको अनुहार कहिल्यै देख्न पाइएन, जसोतसो घर त बनाउनै पर्‍यो,’ स्थानीय यम गुरुङ भन्छन्, ‘तर, अनुदान लिने बेला प्राविधिकले मापदण्ड पुगेन भन्छन् ।’

स्थानीयवासीले तीनदेखि चार लाख खर्चेर घर बनाएका छन् । तर, दोस्रो किस्ताका लागि प्राविधिक नै बाधक बनेको उनीहरुको गुनासो छ ।

अनुदान एकमुष्ठ उपलब्ध गराइदिन माग

सरकारले दिने भनेको तीन लाख रुपैयाँ एकमुष्ठ उपलब्ध गराइदिन बारपाकीको माग छ । ‘एकमुष्ठ अनुदान दिए घर बनाउने आँट आउँथ्यो,’ स्थानीय पि्रतिका घले भन्छिन्, ‘नत्र, टहरामै जीवन बित्ने भयो ।’

स्थानीय कान्छी गुरुङको पनि समस्या उस्तै छ । रकम अभावकै कारण उनले भत्किएको घर बनाउन पाएकी छैनन् । होटेल व्यवसाय गर्दै आएकी गुरुङ चना र चाउमिन बेचेर घर बन्न अझै १० वर्ष लाग्ने बताउँछिन् ।

निर्वाचन प्रचार प्रसारमा गाउँ आइपुग्ने उम्मेदवार र दलका नेताहरुलाई स्थानीय बासिन्दाले सोही माग अगाडि सार्दै आएका छन् । अहिलेसम्म आश्वासनबाहेक ठोस प्रगति भने देख्न पाएका छैनन् ।

धमाधम धर्मान्तरण

गुरुङ र घले जातिको बसोवास छ, बारपाकमा । मारुनी र घाँटु नाच यहाँको मौलिक संस्कृतिका अभिन्न अंग हुन् । रोधी घर त बारपाकीले दुःख बिर्सिने मात्र नभई स्वदेशी/विदेशी पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै आएको थियो ।

अब गाउँघरमा रोधी भेटिनु अनौठो विषय बन्न थालेको छ ।

धामी झाँक्रीप्रतिको विश्वास अझै उस्तै छ, गाउँघरमा । बौद्ध लामाहरुलाई गुरु मान्दै श्रद्धाले शिर निहुर्‍याउन भने छाडेका छै्रनन् ।

लामाको सल्लाहबिना कुनै काम हुँदैनन्, गाउँमा ।

अधिकांश बारपाकी बौद्ध धर्मावलम्बी हुन् । तर, उनीहरु हिन्दु धर्मप्रति उत्तिकै सम्मान छ । खासमा, उनीहरु दुवै धर्म मान्छन् । ‘जन्म संस्कारमा हिन्दु र मृत्युमा बौद्ध रीतिरिवाज अपनाइने गरेको छ,’ स्थानीय जितबहादुर घले भन्छन् ।

तर, वर्षदिनयता बारपाकमा अर्को धर्मले पनि प्रवेश पाएको छ । त्यो हो, इसाइ धर्म ।

भूकम्पको विनासलीलापछि राहत पुर्‍याउने बहानामा इपिसेन्टर छिरेका इसाई मिसनरीले पीडितलाई धमाधम धर्मान्तरण गराइरहेका छन् । स्थानीय बासिन्दाका अनुसार हालसम्म करिब सय परिवारले धर्म परिवर्तन गरिसकेका छन् ।

बौद्ध र हिन्दु धर्मका अनुयायीहरु विस्तारै ‘सुसमाचारका विश्वासी’ बन्दै छन् ।

बाह्य व्यक्तिलाई जग्गा खरिदमा रोक

बारपाकमा बाहिरका बासिन्दाले जग्गा खरिद गर्न पाउँदैछन् । दशकयताको यो नियम भूकम्पपछि अझ कडा बनाइएको छ ।

स्थानीय राजनीतिक संयन्त्रले ०६४ सालमै त्यस्तो निर्णय गरेको थियो ।

घले भन्छन्, ‘बाहिरका मान्छेलाई घडेरी बेच्न थालेपछि जग्गाको भाउ बढ्छ । अनि, आर्थिक अवस्था कमजोर भएका यहींका बासिन्दाले कसरी जग्गा किन्न सक्छन् ?’

भावी सन्ततीका लागि पनि हिमाली बस्तीको जमिन साँचेर राख्ने योजना स्थानीय बासिन्दाको छ ।

पहिले विदेशी सेना, अहिले वैदेशिक रोजगारी

बारपाकको अर्को परिचय हो, भारतीय र बेलायती गोर्खा सेना तथा सिंगापुर प्रहरीमा काम गर्नेहरुको बाहुल्यता ।

अधिकांश परिवारको आम्दानीको स्रोत पनि त्यही हो । कोही विदेशी सेनामै कार्यरत छन्, कोही अवकाश जीवन आफ्नो जन्मथलो हिमाली बस्तीमै गुजारिरहेका छन् ।

एक घर एक लाहुरेको बस्तीकै संज्ञा दिँदा पनि फरक पर्दैन, बारपाकलाई । शुरुवाती चरणमा भारतीय गोर्खा सेनामा काम गर्नेहरु धेरै थिए । त्यसपछि गोर्खा सेना टुक्र्याइँदा तीमध्येका केही बेलायती सेनामा पुगे ।

त्यतिबेलै हो, बारपाकीले हङकङको सेनामा पनि काम गर्ने अवसर पाएको । र, सिंगापुर प्रहरी पनि रोजगारीको आकर्षणको केन्द्र बन्यो ।

नेपाली सेनामा भर्ति हुनेहरुको सानो संख्या पनि नभएको होइन । नेपाल प्रहरीमा भने अहिलेसम्म कुनै बारपाकी प्रवेश गरेका छैनन् ।

सैन्य जीवनको आकर्षण विस्तार हुने क्रममा छ । अहिले त फ्रान्सेली सेनामा सेवारत १७ जना पुगेका छन् । सात जना बहराइन र एक जना अमेरिकी सेनामा पनि छन् ।

जसले सैनिक जीवनमा प्रवेश पाएनन्, वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुक पुगेका छन् ।

‘यहाँका युवाले पहिले सेनामै भर्ति हुने प्रयास गर्छन्, असफल भए मात्र खाडी मुलुक पुग्ने हुन्,’ घले भन्छन् ।

बारपाकका युवाको वैदेशिक रोजगारीको अर्को गन्तव्य बनेको छ, जापान । नेपालीहरुको संख्या अन्य मुलुकको तुलनामा कम रहेको मानिने जापानमा केही बारपाकी पनि पुगेका छन् ।

घले भन्छन्, ‘काम नभएका युवा रक्सी खाएर होहल्ला र झैझगडा गर्थे, सबै बिदेसिएकाले गाउँचाहीं शान्त छ ।’

भूकम्प स्मृति पार्क बन्दै

भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा बारपाकमा भूकम्प स्मृति पार्क निर्माणाधीन छ । तर, त्यसमा उल्लेख्य प्रगति भएको छैन ।

स्थानीयवासी र सरकारी स्वामित्वमा रहेको करिब दुई सय १६ रोपनीमा पार्क बन्न लागेको हो । त्यसका लागि स्वच्छन्द होम निर्माण सेवाले ठेक्का पाएको छ ।

पार्कको लागत करिब १३ करोड सात लाख रुपैयाँ अनुमानित छ ।

शहरी विकास तथा भवन डिभिजन गोरखाका प्रमुख रोशन श्रेष्ठका अनुसार केही दिनमै ठेक्का सम्झौता भएर काम शुरु हुनेछ । ‘अढाइ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ,’ श्रेष्ठ भन्छन् ।

भूकम्पका कारण बारपाकमा मात्रै ७२ जनाको ज्यान गएको थियो । मृतक संख्या जिल्लाभर चार सय ७२ थियो ।

तस्बिरहरुः श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment